+
+
Shares

कांग्रेस नेतृत्वलाई १७ देशका जनसम्पर्क समितिको आग्रह– नियमित महाधिवेशनबाटै पार्टीलाई बलियो बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका १७ देशका जनसम्पर्क समितिले १५औं नियमित महाधिवेशन निरन्तरता दिन आग्रह गरेका छन्।
  • जनसम्पर्क समितिले पार्टीलाई बलियो र एकतावद्ध बनाउन निर्वाचन र महाधिवेशनमा सक्रिय हुन अपिल गरेका छन्।
  • विज्ञप्तिमा नेता, कार्यकर्ता र शुभेच्छुकलाई संयमित भएर जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।

२६ पुस, लन्डन । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जनसम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन् ।

शनिबार १७ देशका जनसम्पर्क समितिका सभापतिहरूले एक संयुक्त अपिल जारी गर्दै विधानअनुसार १५औं नियमित महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला त्यसैलाई निरन्तरता दिनुपर्ने बताएका हुन्।

‘कांग्रेसको आन्तरिक जीवनमा हामी अहिले अप्ठ्यारो परिस्थितिमा छौं। मुलुकमा फागुन २१ गते निर्वाचन घोषणा भइसकेको अवस्था छ । यस्तो बेला तपाईं हाम्रो आन्तरिक बेमेललाई थाँती राखेर मुलुक र पार्टी बलियो बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले यो समय अझ बढी संगठित, एकताबद्ध र आपसी भाइचारा तथा हार्दिकता बढाएर अघि बढ्नुपर्ने भएकाले यस मर्मलाई बुझ्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

‘आम निर्वाचनको प्रक्रिया सुरु भइसकेको वर्तमान अवस्थामा एकढिक्का भएर हामी चुनावी संग्राममा होमिनुपर्दछ । हामी अहिले १५औं महाधिवेशनको प्रक्रियामा जुटेका छौं । आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनले पार्टीलाई नयाँ जीवन र ऊर्जा प्रदान गर्नेछ । यसका लागि हालै मात्र नेपाली जनसम्पर्क समितिका कतिपय देशबाट नयाँ महाधिवेशन प्रतिनिधिहरू समेत चयन भइसक्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीको पौष १८ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धतासमेत उनीहरूले जाहेर गरेका छन्।

‘नेपाली जनसम्पर्क समितिका सबै देशका सदस्य र प्रतिनिधि साथीहरू एकबद्ध भई पार्टी एकतालाई अक्षुण राख्दै आम निर्वाचनमा जुट्ने र आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनलाई सफल बनाउन सक्रियतापूर्वक लागिपर्ने विश्वाससहित पुन: एकपटक पार्टी हितका पक्षमा दृढतापूर्वक उभिन हार्दिक अपील गर्दछौं,’ उनीहरूले भनेका छन् ।

विज्ञप्तिमार्फत नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित भएर जिम्मेवारपूर्वक आफ्नो भूमिका निर्वाह गर्न र एक अर्काबीचको सम्मान भावलाई स्वीकार गरी अघि बढ्नसमेत अनुरोध गरिएको छ ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा युवराज गुरुङ– बेलायत, बालकृष्ण पाण्डे– भारत, आनन्द विष्ट– अमेरिका, रोशन केसी– जापान, सुरेश गुरुङ– अस्ट्रेलिया, चोलाकान्त पंगेनी– मलेसिया छन् ।

यस्तै, भुवानीप्रसाद तिमिल्सिना– दुबई, अर्जुन थापा–साउदी अरब, शेरबहादुर रावत– बहराइन, सुभाष गुरुङ– बेल्जिएम, शालिक गौतम– नेदरल्यान्ड, शिखर खड्का– जर्मनी, यादव बस्नेत– डेनमार्क, नवीन थपलिया– स्वीडेन, दिपिका भुसाल– इजरायल, बुद्धिप्रकाश ओली– क्यानडा, बुद्धिसागर घिमिरे– न्युजिल्यान्डले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?