+
+
Shares

कांग्रेसका तरमाराहरूले सुन्लान् परिवर्तनको आवाज ?

अरु धेरै भन्दिन, देशभरबाट परिवर्तनको झण्डा बोकेर आएका कांग्रेस कार्यकर्ताको आवाज सुनेर सभापति देउवाले गगन–विश्वको काँधमा कांग्रेस र मुलुकको राजनीतिक बागडोर सुम्पिउन् ।

राजन कुइँकेल राजन कुइँकेल
२०८२ पुष २६ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान गरेको छ, जुन पार्टी र मुलुकका लागि महत्वपूर्ण मोड मानिन्छ।
  • महामन्त्री गगन थापाले विधानको बाध्यकारी व्यवस्था पालना गर्दै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।
  • नेतृत्व संघर्ष र नयाँ पुस्ताको आवाज निमोठ्ने विषयमा कांग्रेसभित्र गम्भीर विवाद र द्वन्द्व देखिएको छ।

नेपाली कांग्रेस इतिहासकै गम्भीर मोडमा छ । आठ दशक लामो पार्टी जीवनमा यो विरलै देखापर्ने मध्येको एउटा क्षण हो । पुस २७ र २८ का लागि आह्वान गरिएको विशेष महाधिवेशन कांग्रेस र कांग्रेसीहरूको जीवनका लागि पानी ढलो त बन्ने नै छ । मुलुक र लोकतन्त्रकै लागि पनि एउटा मोड हो ।

पार्टीभित्रकै जडसूत्र र रुढीग्रस्त गणेशप्रवृत्तिहरु यतिबेला गगन–विश्व पुस्तालाई तेजोबध गर्न मात्र तम्सिएको छैन, सके नयाँ पुस्ताको आवाज निमोठ्न र राजनीतिक शिरोच्छेदन गर्न उद्दत छ ।

तीस वर्षयता बिचौलियाहरूको साँठगाँठमा कुनै न कुनै नाममा सत्ता र शक्तिको केन्द्र भागमा रहेर तरमारिरहेकाहरू अहिले समयको प्रवाहमा पौडन खोज्ने पुस्तालाई राजनीतिक बन्ध्याकरण गर्न उद्यत देखिन्छन् ।

कांग्रेसभित्रको यो संघर्ष गगन–विश्व व्यक्तिलाई नेतृत्वमा पुर्‍याउनका लागि होइन । यो त पार्टी, समाज र सोचलाई विकृत बनाएर सडाउने कि कलकल बग्न दिएर राज्य संयन्त्रलाई गतिशील बनाइरहने भन्ने हो । समाजलाई अघि धकेल्ने वा गतिहीन बनाएर सीमित व्यक्ति र वर्गमा लाभ लुँड्याइरहने भन्नेहरुबीचको घर्षण हो ।

पछिल्लो समय नेपाली राजनीतिमा पार्टी र राज्य संयन्त्र कब्जा गरेर केही आसेपासे दलाल, माफिया, तस्कर, भ्रष्ट कर्मचारी, कालाधन थुपार्ने साहूमहाजन र बिचौलियाहरूसँगको मिलिभगतमा मुलुक र नागरिकमाथि दोहन गर्नेहरूको बोलवाला भयो ।

निराश नागरिक ऐंसेलुको काँडाबाट फुत्कन सिस्नाको झ्याल समाउन बाध्य हुँदैछन् । राजनीतिमा अपराधीकरण बढ्दा विभिन्न अपराधमा दण्डित बन्नुपर्नेहरू कूकर्म लुकाएर चोख्खिन राजनीतिको खोल ओढ्दै जनता झुक्याउन आइरहेका छन् ।

दलीय व्यवस्थामा राज्य सञ्चालन पार्टीहरूले गर्ने हो । पार्टी राजनीतिमा शुद्धीकरण नहुँदासम्म राज्य संयन्त्र बदलिँदैन । कांग्रेस–एमाले जस्ता लामो दौडका पार्टीमा नयाँ पुस्ताको आवाज निमोठ्ने सर्वसत्तावादीहरू हावी हुँदा ठूलो युवा पुस्ता भड्काउवादीको शरणमा पुग्न थालेका छन् ।

कांग्रेसभित्रको यो संघर्ष गगन–विश्व व्यक्तिलाई नेतृत्वमा पुर्‍याउनका लागि होइन । यो त पार्टी, समाज र सोचलाई विकृत बनाएर सडाउने कि कलकल बग्न दिएर राज्य संयन्त्रलाई गतिशील बनाइरहने भन्ने हो ।

गत २३ र २४ भदौको युवा विद्रोह त्यसैको परिणाम थियो । तर, यसलाई कांग्रेस एमालेको मूल नेतृत्वले गम्भीरतापूर्वक लिँदै लिएन । बरु ज–जसले युवा विद्रोहको आवाज सुन्न र तिनका आक्रोशलाई अवसरमा बदल्न आग्रह गरे उनीहरूलाई नै अनेकन आरोपमा दपेट्न थालियो । विद्रोहको आवाज ओकल्ने र आक्रोशलाई समयमै सुन्न आह्वान गर्नेहरूलाई नै गलत देखाउन खोजिँदैछ । दुर्भाग्य त सभापतिको कार्यभार नै उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका देउवा पछिल्ला दिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि परिवर्तित भएका छन् । बोल्दैनन्, तर व्यवहार ओलीको बाटोमा हिंडेको देखाउँछ । जुन देउवा र कांग्रेस स्वयंका लागि घातक हुनेछ ।

देउवाले बुझुन्, शुरूमा सुशीला कार्की सरकारलाई सत्तोसराप गर्ने ओली अहिले घण्टौं बालुवाटारे वार्तालापमा कांग्रेस र माओवादीको बद्ख्वाइँ गर्दै बिताइरहेका छन् । शुरूमा चुनाव बहिष्कार गर्छौंसम्म भनेका ओली निर्वाचनको सबैभन्दा बढी तयारी हामी गरिरहेका छौं भन्दै सुशीलासँग सुलह गर्दैछन् ।

भदौरे घटनाको छानबिन गर्न गठित आयोगलाई बयान नै दिन्न भन्ने उनले कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगलाई बयान दिइसकेका छन् । यस्तो दोहोरो मापदण्डको माला लगाइरहेका ओलीलाई त्राणहारण ठान्छन् भने ६ दशकभन्दा लामो समयदेखि लोकतन्त्रको साँवा ब्याज खाइरहेका देउवालाई के संज्ञा दिने ?

अर्कातिर, कांग्रेसका महामन्त्रीद्वय गगन–विश्वले आह्वान गरेको यो विशेष महाधिवेशन आकस्मिक होइन । पदावधि सकिएको केन्द्रदेखि तल्लो तहसम्मको महाधिवेशन गरेर नयाँ नेतृत्व र नीतिसहित निर्वाचनमा जाऔं भन्ने उनीहरूको महिनौ महिनाको प्रयासलाई निरर्थक बनाएपछि विधानको बाध्यकारी व्यवस्थालाई पालना मात्र गरेका हुन् ।

४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गरेमा प्रस्ताव दर्ता गरेको तीन महिनाभित्र बोलाउनै पर्ने भन्ने कांग्रेस विधानको बाध्यकारी व्यवस्था पालना मात्र गराउन खोजेका हुन् ।

प्रतिनिधिको अधिकारलाई कुल्चन उद्दत पार्टी सभापतिसहितका नेताहरूलाई यसो गर्न हुन्न भन्दा भन्दा थाकेर समय नै घर्कन लागेपछि विधानको पक्षमा उभिँदै वैधानिक व्यवस्था कार्यान्वयन गर्न लागेका हुन् । देशभरका प्रतिनिधिको अधिकारलाई निस्तेज बनाउने सभापति, कार्यवाहक सभापतिदेखि केन्द्रीय समितिमा रहेका बहुमत सदस्यहरूले नियमित महाधिवेशन गर्ने भन्दै कार्यतालिकाको नाटक मञ्चन गरिरहे ।

‘म नै राज्य हूँ’ भन्ने अहं भावले ग्रसित नेताहरूको सोच र शैलीले विधानलाई ठाडै लत्याइसकेपछि महामन्त्रीद्वय विधानको व्यवस्था कार्यान्वयन गराउन विशेष महाधिवेशनको पक्षमा उभिएका हुन् ।

तर, ‘ढाँटको निम्तो खाई पत्याउनु’ भने झै गगन–विश्वसहितको पुस्तालाई झेली खेलमा अल्झाउन देउवा कोटरीले रचेको जाल महाधिवशेन नचाहनेहरूले आ–आफ्ना क्षेत्र र जिल्लाका क्रियाशिल सदस्यता नबुझाएर रोकेबाटै प्रमाणित भइहाल्यो ।

‘म नै राज्य हूँ’ भन्ने अहं भावले ग्रसित नेताहरूको सोच र शैलीले विधानलाई ठाडै लत्याइसकेपछि पार्टी महामन्त्रीको कर्तव्य र दायित्व अन्तर्गत महामन्त्रीद्वयले विधानको व्यवस्था कार्यान्वयन गराउन विशेष महाधिवेशनको पक्षमा उभिएका हुन् ।

यदि महामन्त्रीहरूले यो महाधिवेशन नबोलाएको भएपनि कांग्रेसको विधानको छहारीमा रहने चाहने हस्ताक्षरकर्ता बाँकी ५४ प्रतिशतले आफैं विशेष महाधिवेशन गराएर निर्णय लिन कसैले छेक्न सक्दैन । अब जसले विधान कार्यान्वयन र पालना गराउँछ उसैलाई अहिले पार्टी फुटाउन खोजेको आक्षेप लगाइँदैछ ।

जसको मतबाट नेताको पगरी गुथेर पार्टीसत्ताको रजाइँ गरिरहेका छन्, उनै महाधिवेशन प्रतिनिधिहरूलाई नक्कली र समय सकिएका भन्ने जस्ता आक्षेप लगाइरहेका छन् । जसको सोच नै खोटो छ उसले देख्ने नै त्यही हो ।

त्यसैले नेपाली कांग्रेसभित्रको यस संघर्ष र घर्षणमा आलोचनात्मक चेत बोक्ने एक लोकतन्त्रवादी भएका हुँ । २०४६ सालको आन्दोलन देखेको, सरिक भएको, नेपालमा प्रजातन्त्रलाई संस्थागत बनाउनुपर्छ भन्ने मान्यता बोकेको, हिंसाको राजनीति अन्त्य हुनुपर्छ र वंशवाद अबको नेपालमा चल्न सक्दैन भनेर २०६२/०६३ को आन्दोलनमा सक्रिय सहभागी भएको पुस्ता हौं ।

अरु धेरै भन्दिन, देशभरबाट परिवर्तनको झण्डा बोकेर आएका कांग्रेस कार्यकर्ताको आवाज सुनेर सभापति देउवाले गगन–विश्वको काँधमा कांग्रेस र मुलुकको राजनीतिक बागडोर सुम्पिउन् ।

नयाँ सोच, प्रविधि र पुस्तालाई सम्पूर्ण कुरा क्रमशः हस्तान्तरण गर्दै अगाडी बढ्नुपर्छ भन्ने प्रगतिशील मान्यता हामी बोक्दछौं ।

नागरिकलाई हुँडलेर लोकप्रियताको झण्डा उराल्नेहरूको तुलनामा लामो समयदेखि मुलुक र माटो बुझेको राजनीतिकर्मी हुन्, गगन–विश्वको पुस्ता । यो पुस्तालाई असान्दर्भिक बनाउन खोज्नेहरू देशभित्र र बाहिर सबैतिरबाट प्रहार भएको छ । संक्रमणको राजनीतिमा खेल्नेहरू परिपक्व व्यक्ति र विचारलाई दुत्कार्न उद्दत हुन्छन् ।

महत्त्वाकांक्षी पक्कै होलान्, तर यो देशमा गणतन्त्र स्थापना र समाजका सबै वर्ग समुदायलाई राजनीतिको लाभ पुग्नुपर्दछ भन्ने आवाज पनि हुन् गगन । अरु धेरै भन्दिन, देशभरबाट परिवर्तनको झण्डा बोकेर आएका कांग्रेस कार्यकर्ताको आवाज सुनेर सभापति देउवाले गगन–विश्वको काँधमा कांग्रेस र मुलुकको राजनीतिक बागडोर सुम्पिउन् ।

कांग्रेस इतिहासदेखि परिवर्तनको वाहक हो । प्रगतिको सारथि हो । नागरिकको पक्षधरता हो । नेपाली राजनीतिको वामपन्थ हो । कांग्रेस प्रश्न हो । बीपी, सुवर्ण, गणेशमानहरूले गरेको प्रश्नले राणातन्त्रको अवसान भयो । रैतीलाई नागरिकको यात्रामा डोहोर्‍यायो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद, महेन्द्रनारायण निधि, शैलजा आचार्यहरूका प्रश्नले ३० वर्षे पञ्चायत र राजाहरूको मनमौजी सत्ता ढल्यो । गगन–गुरु–विश्व–प्रदीपहरूको प्रश्नले रोपिएको गणतन्त्र मुर्झाउने होइन फक्रन पर्दछ । त्यसैले प्रश्न मरेको समाज र कांग्रेस दुवै ज्यूँदो मूर्दा हो । मूर्दा बन्ने कि मानिस ? कांग्रेसी नेता–कार्यकर्ताले रोजुन् !

लेखक
राजन कुइँकेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?