१९ कात्तिक, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ ।
नेपाल मेडिकल काउन्सिल ऐन र नियमावलीबमोजिम हुने यो निर्वाचनका लागि काउन्सिलले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
समितिको प्रमुख निर्वाचन अधिकृतमा प्रा. डा. रविन्द्रमान श्रेष्ठ, निर्वाचन अधिकृतमा प्रा.डा. ज्योतितारा मानन्धर र डा. विदुर अधिकारी छन् ।
काउन्सिलले नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २१क र २१ख बमोजिम यो समिति गठन गरेको जनाएको छ ।
उपाध्यक्ष पदका लागि उम्मेदवार बन्न कम्तीमा १५ वर्षको चिकित्सकीय अनुभव भएको दर्तावाला चिकित्सक हुनुपर्नेछ । त्यस्तै, सदस्य पदका लागि कम्तीमा ५ वर्षको अनुभव भएको दर्तावाला चिकित्सकले मात्र उम्मेदवारी दिन पाउनेछन् ।
काउन्सिलमा विधिपूर्वक दर्ता भएका सम्पूर्ण चिकित्सकले मतदान गर्न पाउनेछन् । हाल कायम निर्वाचित पदाधिकारीहरूको पदावधि १ पुस २०८२ सम्म छ ।
प्रतिक्रिया 4