२२ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काठमाडौंको मित्रपार्कमा रहेको हुवाई इन्टरनेशनल अस्पतालमाथि कारबाही गर्ने भएको छ । काउन्सिलको टोलीले सोमबार अस्पतालको स्थलगत अनुगमन गरेको रजिस्ट्रार डा. सतीस देवले जानकारी दिए ।
डा. देवका अनुसार संस्थाको दर्ता स्थिति, सेवा सञ्चालनको दायरा तथा उपचार सेवाको गुणस्तर मूल्यांकन गर्ने उद्देश्यले अनुगमन गरिएको थियो । उक्त संस्था आयुर्वेदिक क्लिनिक तथा एक्युपंक्चर केन्द्रका रूपमा दर्ता भएको पाइएको उनले जानकारी दिए । तर सो दर्ता म्याद समाप्त भइसकेको देखियो ।
संस्थामा कुनै पनि योग्य आयुर्वेदिक चिकित्सक वा तालिमप्राप्त एक्युपंक्चर विशेषज्ञ कार्यरत नरहेको डा.देवले बताए । उनका अनुसार अस्पतालले एलोप्याथिक उपचार तथा शल्यक्रियासमेत सञ्चालन गरिरहेको पाइएको छ । यस खालको उपचार मेडिकल अफिसरबाट हुँदै आएको थियो ।
एकै दिनमा उपचार हुने, शतप्रतिशत निको हुने जस्ता अतिरञ्जित दाबीहरू गरिएको, तथा प्रयोगशाला सेवा न्यूनस्तरको रहेको पाइएको छ।
दर्ता प्रक्रिया तथा यसले दिएको सेवाको आधारमा अवैध तरिकाले सञ्चालन भइरहेको देखिएको रजिस्ट्रार डा. देवले बताए । मेडिकल काउन्सिलले यसलाई गम्भीरतापूर्वक लिएको प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।
प्रतिक्रिया 4