+
+

अछामका शाह मृत्यु प्रकरण : सरकारी वकिलको निर्णयपछि हत्या आरोपी छुटे

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १६:२२

२३ असार, धनगढी । भारतबाट फर्किने क्रममा कैलालीमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका-१ का ३२ वर्षीय धनबहादुर शाह मृत्यु प्रकरणमा हत्या आरोपीहरु छुटेका छन् ।

जिल्ला सरकारी वकिल राजेन्द्र भण्डारीले प्रहरीले पेश गरेको प्रतिवेदनका आधारमा मुद्दा चलाउन नसकिने निष्कर्ष निकाल्दै थप अनुसन्धान गर्न प्रहरीलाई मिसिल फिर्ता पठाउँदै जमानीमा आरोपितलाई छोड्ने निर्णय गरेपछि उनीहरु छुटेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सरकारी वकिलको आदेशपछि चौरपाटी गाउँपालिका-१ का ५४ वर्षीय खडक शाह, ४५ वर्षीय कृष्णबहादुर शाह र सोही ठाउँका ३८ वर्षीय पदमबहादुर साउदलाई छाडिएको बताए ।

‘सरकारी वकिलले हामीलाई तत्काल थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भएकाले जिम्मा जमानी राखेर छोड्नू भन्ने आदेश गरेपछि हामीले हत्या आरोप लागेका तीनै जनालाई छोडेका छौं,’ डीएसपी जोशीले अनलाइनखबरसँग भने । यसअघि पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा खडक, कृष्णबहादुर र पदमबहादुर पक्राउ परेका थिए ।

कैलाली प्रहरी प्रवक्ता जोशीका अनुसार शव परीक्षण रिपोर्टमा शाहको मृत्युको कारण खुल्न नसकेपछि भिसेरा परीक्षणका लागि पठाइएको छ । तर रिपोर्ट प्राप्त भएको छैन ।

जिल्ला सरकारी वकिल भण्डारीले शाह मृत्यु सम्बन्धी मुद्दामा प्रहरीले पेश गरेको फाइल थप अनुसन्धान गर्न भन्दै फिर्ता गरेकाले आरोपीलाई २५ दिन भन्दा बढी हिरासतमा राख्न नमिल्ने भएकाले मुक्त गरिदिन प्रहरीलाई निर्देशन गरिएको बताए ।

भण्डारीले मुलुकी कार्यविधी फौजदारी संहिताको १०(३) बमोजिम उक्त निर्णय लिएको बताउदै मुद्दाको अनुसन्धान भने नटुङ्गिएकाले सबुत प्रमाण जुटे प्रहरीले जुनसुकै बेला पक्राउ गरेर अदालत पेश गर्न सक्ने बताए ।

तर मृतकका आफन्तले भने सरकारी वकिलले गरेको उक्त निर्णयमा असहमति जनाउदै आफूहरुलाई थाहै नदिएर हत्या आरोपीलाई रिहा गरेको जनाएका छन् । मृतककी श्रीमती धनादेवी शाहले सरकारी वकिल र प्रहरी प्रशासनले कुन आधारमा उनीहरुलाई थुनामुक्त गरेको हो ? भन्ने जानकारी समेत नदिइएको बताइन् । ‘हिरासतबाट उनीहरुलाई सरकारी वकिल वा प्रहरी जसले निकालेको भए पनि हामी पीडित पक्षलाई बोलाउनु पर्दैन ? जानकारीसम्म त दिइनुपर्थ्यो त्यो पनि भएन,’ धनादेवीले अनलाइनखबरसँग भनिन्, ‘यो कुरा उहाँहरुले प्रष्ट पार्नुपर्छ ।’

गत २६ जेठमा भारतको मुम्बईबाट हत्या आरोप लागेका तीन जना व्यक्तिहरुसँगै फर्किएका शाह धनगढी बसपार्कस्थित एक होटलमा बसेका थिए । सोही दिन धनबहादुर बिरामी भएपछि माया मेट्रो अस्पतालबाट औषधि किनेर खुवाएका थिए तर स्वस्थ नभएपछि २७ गते पुनः सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । ठीक भएपछि अछामतिर लागेका उनीहरुले पछि फेरि धनबहादुर बेहोस भएको भन्दै सोही दिन खानीडाँडाबाट फर्किएर माया मेट्रो अस्पतालमा लगेका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

घटनाबारे मृतकका परिवारलाई ढिलो खबर गर्नुले हत्याको आशंकामा परिवारले किटानी जाहेरी दिएको थियो । खासगरी भारतको मुम्बईबाट उनीहरुले ठूलो मात्रामा नगद र गरगहना चोरी गरेर ल्याएको हुन सक्ने भन्दै लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको हुनसक्ने आशंका पीडित पक्षले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?