२३ असार, काठमाडौं । नेपालमा राष्ट्रिय गौरवका रुपमा घोषित दुई दर्जन आयोजनाले आगामी तीन आर्थिक वर्षका लागि पौने ४ खर्ब रुपैयाँ बजेट पाउने भएका छन् । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचना प्रतिवेदन अनुसार राष्ट्रिय गौरवका यी आयोजनाले ३ खर्ब ८३ अर्ब ४ करोड ६२ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछन् ।
आयोगका अनुसार राष्ट्रिय गौरवका आयोजनालाई आगामी आर्थिक वर्ष २०७९/८० मा ९८ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो अर्को आवमा २०८०/८१ मा १ खर्ब ३५ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ । त्यसपछिको आवमा राष्ट्रिय गौरवका आयोजनाले १ खर्ब ४८ अर्ब २४ करोड रुपैयाँ बजेट पाउने अनुमान आयोगको छ ।
आर्थिक वर्ष २०७७/७८ मा मात्र ५५ अर्ब २५ करोड रुपैयाँ खर्च गरेका यी २२ आयोजनाले चालु आर्थिक वर्ष २०७८/७९ मा भने ५८ अर्ब १८ करोड रुपैयाँ खर्च गर्ने संशोधित अनुमान सरकारले गरेको छ ।
एक आयोजना निर्माण सम्पन्न, दुई अन्तिम चरणमा
राष्ट्रिय गौरवका २२ वटा आयोजना मध्ये माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । सोही कारण यो आयोजनाले चालु आवबाटै राज्यकोषबाट बजेट पाउन छाडिसकेको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले भने आगामी आवका लागि समेत बजेट प्राप्त गर्नेछन् । यी दुवै आयोजनाको काम आगामी आवमा सम्पन्न गर्ने लक्ष्य छ । त्यसपछि भने यी दुवै गौरवका आयोजनाले बजेट पाउने छैनन् । यी तीन वटा आयोजनाबाहेक अन्य आयोजनाले भने लगातार बजेट पाउने छन् ।
मोडालिटी तय नभएका कारण निजगढमा न्यून अनुमान
मध्यमकालीन खर्च संरचना प्रतिवेदन अनुसार बाराको निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलका लागि आगामी वर्ष मात्र २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो अर्को वर्ष ४५ करोड र त्यसपछिको आवमा ६० करोड पुग्ने अनुमान छ ।
यो आयोजनाको निर्माणपूर्वको तयारीका कामहरु सर्वोच्च अदालतको आदेशपछि पुनः गर्नुपर्ने भएको छ । अर्कोतर्फ आयोजना निर्माणको मोडालिटी समेत तय भएको छैन । जसले गर्दा निजगढका लागि तुलनात्मक रुपमा कम बजेट राखिएको छ ।
द्रुतमार्ग, एमसीसी र बबई सिंचाइलाई ठूलो बजेट
आगामी तीन वर्षमा सबैभन्दा धेरै बजेट काठमाडौं–तराई मधेश फास्ट ट्रयाकले पाउने छ । चालु आवमा ६ अर्ब ४४ करोड खर्च गर्ने अनुमान गरिएको यस आयोजनालाई आगामी आवमा भने ३० अर्ब ७ करोड ८६ लाख रुपैयाँ विनियोजन भएको छ ।
आव २०८०/८१ मा ३३ अर्ब ८१ करोड रुपैयाँ बजेट अनुमान गरिएको यो आयोजनालाई त्यसपछिको आवमा भने ३४ अर्ब ४६ करोड विनियोजन गरिने छ ।
चालु आवमा १ अर्ब २ करोड मात्र खर्च गर्ने अनुमान गरिएको बबई सिंचाइ आयोजनाले आगामी आवमा १ अर्ब ५२ करोड रुपैयाँ बजेट पाउने छ । त्यसपछिको दुई आवका लागि भने २८ अर्ब ५४ करोड विनियोजन गरिने अनुमान प्रतिवेदनको छ ।
मिलिनियम च्यालेन्ज एकाउन्ट नेपालले चालु आवमा ४ अर्ब २९ करोड खर्च गर्ने अनुमान छ । आगामी आवका लागि ९ अर्ब ९३ करोड रुपैयाँ विनियोजन भएको यस आयोजनामा अर्को आवका लागि ११ अर्ब ३० करोड र त्यसपछिको आवमा १४ अर्ब ८० करोड बजेट विनियोजन हुने भएको छ ।
आगामी आवमा कुन आयोजनालाई कति बजेट ?
- बबई सिंचाइ आयोजना : १ अर्ब ५२ करोड
 - महाकाली सिंचाइ आयोजना : १ अर्ब २६ करोड
 - सिक्टा सिंचाइ आयोजना : १ अर्ब ८८ करोड
 - रानी जमरा कुलरिया सिंचाइ आयोजना : २ अर्ब ९० करोड
 - भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना : २ अर्ब २७ करोड
 - सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना : २ अर्ब ७१ करोड
 - मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल : ९ अर्ब २७ करोड
 - बूढीगण्डकी जलविद्युत् आयोजना : ७ अर्ब ९३ करोड
 - मेलम्ची खानेपानी आयोजना : ८० करोड
 - काठमाडौं उपत्यका थोक खानेपानी प्रशारण आयोजना : १ अर्ब ६९ करोड
 - पशुपति क्षेत्र विकास कोष : २४ करोड
 - लुम्बिनी विकास कोष : १ अर्ब ५५ करोड
 - दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना : २ अर्ब २० करोड
 - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : ४ अर्ब ४० करोड
 - निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : २६ करोड
 - राष्ट्रपति चुरे संरक्षण कार्यक्रम : २ अर्ब १७ करोड
 - काठमाडौं–तराई मधेश फाष्ट ट्र्याक : ३० अर्ब ७ करोड
 - पुष्पलाल राजमार्ग (मध्यपहाडी) : ९ अर्ब ३३ करोड
 - उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालिगण्डकी र कोशी) : ४ अर्ब ६० करोड
 - हुलाकी राजमार्ग : ६ अर्ब ७ करोड
 - रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना : ५ अर्ब ५२ करोड
 
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4