+
+

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १३:३४

२४ असार, पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले बजेट त्रुटिपूर्ण रहेको बताउँदै अवरोध गरेको हो ।

प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा काननुविपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिन माग गर्दै संसद अवरुद्ध गरेको हो ।

गण्डकीका नेकपा एमालेका सांसद तथा पूर्वभौतिक विकासमन्त्री रानमशरण बस्नेतले अर्थमन्त्री रामजी बरालले आगामी आर्थिक वर्षको कानुन विपरीत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको आन्तरिक ऋणको सीमा उल्लंघन गरेको बताए । यसबारे आयोगले असार १३ गते प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र पठाइसकेको छ ।

अर्थमन्त्री बरालले बजेट व्यवस्थापनका लागि ९ अर्ब २३ करोड रुपैयाँ प्रदेश सरकारबाट संघ सरकारबाट र ५ अर्ब ९ करोड प्रदेशबाट राजश्व उठाउने बताएका थिए । त्यस्तै, बजेटमा बरालले २ अर्ब (१ अर्ब आन्तरिक र १ अर्ब नेपाल सरकारबाट) ऋण लिने उल्लखे गरेका थिए । तर, आयोगको नियमअनुसार राजश्व बाँडफाँड र आन्तरिक राजश्वबाट प्राप्त हुने रकमको १२ प्रतिशतसम्ममात्रै ऋण लिन पाइन्छ ।

तर, गण्डकी प्रदेशले तोकिएको भन्दा २८ करोड ऋण लिने उल्लेख गरेपछि आयोगको पत्रानुसार प्रतिपक्षी दल एमालेले संसदमा जवाफ मागेको हो । ‘सत्तारुढ दलले तोकिएकोभन्दा बढी ऋण लिने बताएर संविधानविपरीत काम गरेको छ,’ सांसद बस्नेतले भने, ‘यो कानुनमात्रै नभएर, मूल्य र मान्यता विपरीत छ । संवैधानिक आयोगको निर्देशन कार्यान्वयन गरेको छैन । त्यो कहाँबाट उठाउने ?’

त्यस्तै, संसदमा एमालेले मध्यकालीन खर्च संरचना पुस्तिका नल्याएकोबारे पनि प्रश्न उठाएको छ । ‘मध्यकालीन खर्च संरचनाले सरकारको भिजन देखाउँछ । त्यो पुस्तिका आउनुपर्छ कि पर्दैन ?’ नेकपा एमालेका सचेतक मायानाथ अधिकारीले भने, ‘सरकारको ३ वर्षे प्रक्षेपण के हो ? स्पष्ट हुनु पर्दैन ?’

सबैभन्दा बढी विवादित बनेको पूर्वाधार विकास बजेटबारे पनि नेकपा एमालेले अर्थमन्त्रीसँग जवाफ मागेको छ । नीति तथा कार्यक्रम तथा वार्षिक बजेट पुस्तिकामा पनि समावेश नभएको तर, सम्बोधन गरिने सूचना पाएकाले त्यसबारे यथार्थ बाहिर ल्याउन उनीहरुको माग छ ।

‘हामीले बाहिरबाहिर सुनेका छौं–नीति कार्यक्रममा नभए पनि सम्बोधन गर्ने सहमति भयो रे,’ सचेतक अधिकारीले भने, ‘के हो यसको खास कुरा ? सम्बोधन हुने हो भने कसरी हुने नहुने भए किन नहुने ? अर्थमन्त्रीज्यूले जवाफ नदिएर हुँदैन ।’ ११ बजेबाट सुरु भएको बजेट छलफल १ घन्टाका लागि स्थगित भए पनि दलहरुबीच सहमति जुट्न नसक्दा सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?