+
+
औद्योगिक सर्वेक्षण :

क्षमता अनुसार चल्दैनन् नेपालका दुई तिहाइ उद्योग

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ११औं औद्योगिक सर्वेक्षण अनुसार बजार र मागको अभावका कारण नेपालमा खुलेका उद्योगमध्ये दुई तिहाइ उद्योगले क्षमता अनुसार उत्पादन गर्दैनन् ।

अच्युत पुरी अच्युत पुरी
२०७९ असार २४ गते १९:१०
फाइल तस्वीर

२४ असार, काठमाडौं । बजार र मागको अभावका कारण नेपालमा खुलेका उद्योगमध्ये दुई तिहाइ उद्योगले क्षमता अनुसार उत्पादन नगर्ने पाइएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ११औं औद्योगिक सर्वेक्षणमा यस्तो पाइएको हो ।

सार्वजनिक नतिजा अनुसार नेपालमा ६० हजार १८५ वटा उद्योग/प्रतिष्ठान रहेका छन् । यसमध्ये ३९.९ प्रतिशत उद्योग/प्रतिष्ठान मात्र पूर्ण क्षमतामा चल्ने गरेको पाइएको छ । १८.७ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ७५/९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग–प्रतिष्ठानले उत्पादन क्षमताको ५०–७४ प्रतिशत र १०.३ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको २५–४९ प्रतिशत मात्र उत्पादन गर्ने गरेको पाइएको छ । बाँकी उद्योगले क्षमताको २५ प्रतिशत भन्दा पनि कम उपयोग गरिरहेका छन् ।

यसरी उद्योगहरु जडित क्षमता भन्दा कम क्षमतामा चल्नुमा बजार र माग कम हुनु मुख्य कारण रहेको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए । उनका अनुसार कच्चा पदार्थको अपर्याप्तता, स्रोतको कमी र सीपमुलक कामदारको अभावले समेत उद्याग/प्रतिष्ठानले पूर्ण क्षमतामा चल्न नसकेको पाइएको छ ।

औद्योगिक उत्पादन भित्र नेपालका सबै ठूला उद्योग तथा कारखानालाई सर्वेक्षणले समेटेको छ । सञ्चालनमा रहेका उद्योगमध्ये ७६ प्रतिशत उद्योग प्रतिष्ठान वार्षिक २७० वा सो भन्दा बढी दिन चल्ने गरेका छन् ।

५ लाखलाई रोजगारी, अर्थतन्त्रमा वार्षिक साढे ३ खर्ब योगदान

सर्वेक्षण अनुसार नेपालमा कुनै न कुनै सरकारी निकायमा दर्ता भएका उद्योग–प्रतिष्ठानको संख्या ६० हजार पुगेको छ । ६० हजार १८५ वटा उद्योग प्रतिष्ठान अस्तित्वमा रहेको देखिएको हो ।

विभागले अर्थतन्त्रको संरचनामा योगदान गर्ने १७ वटा क्षेत्रमध्ये औद्योगिक क्षेत्र भित्र पर्ने चार वटा क्षेत्रको सर्वेक्षण गरेको हो । जस अनुसार खानी तथा उत्खनन क्षेत्रमा ३५६, औद्योगिक उत्पादनको क्षेत्रमा ५६ हजार ६११, विद्युत्, ग्याँस, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४ र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा २ हजार २२४ वटा उद्योग–प्रतिष्ठान रहेको पाइएको छ ।

औद्योगिक क्षेत्रले नेपालको अर्थतन्त्रमा वार्षिक ३ खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गर्ने गरेको पाइएको छ ।

नेपालका औद्योगिक प्रतिष्ठानले ८ खर्ब ४६ अर्ब ६६ करोड रुपैयाँ लागत लगानी गर्छन् । यसबाट १२ खर्ब १ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा उत्पादन हुँदा साढे ३ खर्ब रुपैयाँ बराबर जीडीपीमा योगदान मिल्ने गरेको तथ्यांकले देखाएको छ ।

उद्योगमा १ लाख ९ हजार सञ्चालक, ३ लाख ८१ हजार कामदार

सर्वेक्षणको तथ्यांक अनुसार नेपालमा स्वरोजगारमुलुक उद्योग र साना उद्योगको बाहुल्य छ । जसले गर्दा कामदार र सञ्चालकको संख्यामा समेत ठूलो अन्तर छैन ।

सर्वेक्षण अनुसार नेपालमा उद्योग/प्रतिष्ठानले कुल ४ लाख ९१ हजार २२७ जनालाई रोजिरोटीको अवसर दिएको छ । जसमध्ये ३ लाख ८१ हजार ६८७ जना तलवी कामदार हुन् । १ लाख ९ हजार ५४० जना भने कामदार हुन् ।

कस्तो क्षेत्रमा कति जनशक्ति ?

  • खानी तथा उत्खनन : ६४८५ (५७१९ जना कामदार)
  • औद्योगिक उत्पादन क्षेत्र : ४४४९६४ (३४६१४३ जना कामदार)
  • विद्युत, ग्याँस, बाफ तथा वातानुकूलित सेवा : २१५९३ (१७२३८ जना कामदार)
  • पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलाप : १८१८५ (१२५८७ जना कामदार)

कामदारले बुझ्छन् वार्षिक १ खर्ब ७ अर्ब

सर्वेक्षणले देखाएअनुसार नेपालमा उद्योग/प्रतिष्ठानमा काम गर्ने कामदारका लागि वार्षिक १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ खर्च हुने गरेको छ ।

यो रकम तलव/ज्याला र सुविधामा खर्च भएको हो । यसमध्ये औद्योगिक उत्पादनमा मात्र ९५ अर्ब ७७ करोड रुपैयाँ खर्च हुने गरेको छ ।

उद्योगसँग ६ खर्ब १९ अर्ब बराबरको सम्पत्ति

सर्वेक्षण अनुसार नेपालमा रहेका उद्योग/प्रतिष्ठानसँग ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ मूल्य बराबरको सम्पत्ति रहेको छ । यो चार वटै क्षेत्रका औद्योगिक प्रतिष्ठानको सम्पत्तिको संयुक्त योग हो ।

विभागले आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्ष मानेर सर्वेक्षण गरेको हो । त्यसयता मूल्यमा भएको ‘भ्यालूएड’ यहाँ जोडिएको छैन ।

लकडाउनको असर कति ?

सर्वेक्षण लकडाउन लगत्तै फिल्डमा पुगेर गरिएको थियो । सोहीकारण उद्योग/प्रतिष्ठानमा लकडाउनले गरेको प्रभावबारे समेत अध्ययन गरिएको थियो ।

कोरोनाकालमा सरकारले गरेको ४ महिना लामो लकडाउनका कारण ६३ प्रतिशत उद्योग/प्रतिष्ठान पूर्ण रुपमा बन्द भएका थिए । २४ प्रतिशत उद्योग आंशिक र १३ प्रतिशत उद्योग/प्रतिष्ठान मात्र पूर्ण रुपमा चलेको पाइएको छ ।

यस अवधिमा १७ प्रतिशत कामदारले पूर्ण रुपमा रोजगारी गुमाएका छन् । ६० प्रतिशत कामदारले अस्थायी रुपमा सेवा सुविधाबाट बञ्चित हुनु परेको थियो ।

बढ्दैछन् ठूला औद्योगिक प्रतिष्ठान

सरकारले १० वा सो भन्दा बढी जनालाई रोजगारी दिने उद्योग/प्रतिष्ठानलाई ठूला औद्योगिक प्रतिष्ठान मानेको छ । यस्तो उद्योग २०६९ सालमा ४ हजार ७६ वटा रहेकोमा अहिले २३ प्रतिशतले बढेर ५०१७ वटा पुगेको सर्वेक्षणले देखाएको छ ।

यस्ता उद्योगमा २०६९ सालमा २ लाख ४ हजार ३६० जनाले रोजिरोटी पाएका थिए । अहिले यो संख्या बढेर २ लाख ८८ हजार १७० पुगेको छ । यसमध्ये तलवी कामदार २ लाख ७४ हजार ३२४ रहेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?