+
+

मानवीय क्रूरताले नाङ्गिएको वन र बस्ती (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते २०:१०

२५ असार, काठमाडौं । प्रकृतिमाथि जति आक्रमण गर्‍यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ । हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरुप प्राकृतिक विपद्का घटनाहरु बढ्दै जान्छन् । अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ ।

प्राकृतिक स्रोतमाथिका दोहनले प्रकृति त कुरुप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका प्राणीहरूको पनि अस्तित्व सकिन्छ । किनभने प्रकृति नै नरहे मानिस र मानवताको अर्थ रहँदैन ।

मानिसले आफ्नो शारीरिक लाज छोप्न कपडा त लगाएका छन् तर प्रकृतिको अलौकिक गहना उतारेर प्रकृतिलाई नङ्गाइरहेका छन् ।

प्रकृतिमा रहेका मानिसले नै प्रकृतिलाई नष्ट गरिरहेका छन् । चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ ।

देशका मुख्य सहरको त कुरै छोडौं गाउँका वन, जंगलहरू पनि उजाड छन् । प्राकृतिक स्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ ।

ललितपुरको देवीचौर ।

समग्रमा भन्दा प्राकृतिक स्रोतहरू मासिंदै छन् । काठमाडौं उपत्यकाको त कुरा नै गर्नु पर्दैन । हराभरा त छैन नै टाढा डाँडाकाँडा र वनजंगलहरुको समेत दोहन भइरहेको छ ।

ललितपुरको टीकाभैरव,नल्लु, देवीचौर र लेले क्षेत्रलाई यसको नमूनाका रुपमा लिन सकिन्छ । यहाँस्थित वनजंगलभित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझैं विरक्त देखिन्छन् । बस्ती बाढीले बगाएको बगरजस्तो छ ।

नल्लु खोला : खानीका कारण धमिलो बनेको पानी ।

वर्षौं अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो । निजी जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन् ।

ढुंगा खानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ । खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ । तर पनि स्थानीय सरकार भने मौन छ ।

सरकारको मौनताले नै बुझ्न सकिन्छ, कि देशका विभिन्न स्थानमा प्रकृतिमाथि कस्तो हस्तक्षेप भइरहेको होला ? सरकार, समाज र सरोकारवाला निकाय सबै मिलेर प्रकृतिको संरक्षण नगर्ने हो भने भावी दिनमा हराभरा भूमि बाँझो र कंक्रिट बन्ने अवस्था सिर्जना नहोला भन्न सकिंदैन । त्यसैले प्रकृति केवल मानव जातिको लागि बनेको हो भन्ने भ्रम छोडेर जगतका सबै प्राणीको लागि यसको संरक्षण गर्नेतर्फ लाग्नुपर्छ ।

तस्वीर सौजन्य : न्यूज एजेन्सी नेपाल

टीकाभैरवको खानी ।
टीकाभैरवको खानीमाथि रहेको बस्ती ।

टीकाभैरवमा सञ्चालित क्रसरले उडाएको धुलो र बस्ती ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?