+
+

चुनावमा पैसाको खोलो बग्छ, इमानदारले लड्न गाह्रो छ : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते १४:१७

२५ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि युवाहरुले अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको भन्दै उनले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् ।

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उनले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमानदार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुने बताए ।

‘यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा त्यो भनिसाध्य छैन । असल, इमानदार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ । तर, अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेड्न सक्यौ भने, राम्रोसँग हामीले जनतामा गएर चाहिं यी विकृति र विसंगतिका विरुद्धमा अभियान चलाउन सक्यौं भने वास्तवमा फेरि धेरै पैसा खर्च नगरिकन जित्ने पनि छन्’ उनले भने ।

सभामुख सापकोटाले धेरै पैसा खर्च नगरिकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरान लगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गरे । हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको पनि सभामुख सापकोटाको भनाइ छ ।

‘काठमाडौंको चुनाव र त्यसपछि अन्यत्रको चुनावले के देखाएको छ त भन्दाखेरि विद्यमान परिस्थितिबाट तपाई, हामी र सबै जनता सन्तुष्ट छैनन् । यो सन्तुष्ट छैनन् भन्ने कुरा बडो भद्र, शालीन र चुनावको माध्यमबाट जनताले अभिव्यक्त गरेका छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?