+
+

संसदीय समितिसँग सरोकारवालाले भने : गेटालाई विश्वविद्यालय बनाउनुपर्छ

जनक विष्ट जनक विष्ट
२०७९ असार २६ गते १९:३६

२६ असार, धनगढी । कैलालीका स्थानीय वासिन्दाले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन् । स्थलगत अध्ययनका लागि पुगेको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरुसँग उनीहरुले गेटालाई विश्वविद्यालय बनाउन सहयोग गरिदिन माग गरेका हुन् ।

कैलाली पुगेको संसदीय टोलीले मेडिकल कलेजको निरीक्षणपछि अत्तरियामा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । चिकित्सा विश्वविद्यालय सञ्चालनका लागि दबाव दिन गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालन गर्ने बाहेक अन्य कुरा स्वीकार्य नहुने बताए ।

देशभरि ४२ वटा मेडिकल कलेज र ७ वटा विभिन्न प्रतिष्ठान सञ्चालन भइरहेका बेला सुदूरपश्चिमका २८ लाख नागरिकलाई अहिलेसम्म उपेक्षा गरिएको बताउदै उनले अब भने गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा सञ्चालन नगरेमा जुनसुकै कदम उठाउन पनि प्रदेशबासी तयार भएको चेतावनी दिए ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटा मेडिकल कलेजलाई संघ र प्रतिनिधिसभाको चुनावअघि सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् । प्रदेशबासीलाई सधै अल्मल्याउने र अल्झाउने काम गरिएको बताउँदै उनले मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने कुरा चुनावी फण्डा मात्र हुनसक्ने भन्दै छिटो सञ्चालन गरिनुपर्ने बताएका छन् ।

मेडिकल कलेजको स्थलगत निरीक्षणपछि प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले समेत राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालन गरिनुपर्ने सुदूरपश्चिमबासीको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण भइसकेकाले शीघ्र सञ्चालन गर्न भूमिका खेलिदिन समेत संसदीय समितिलाई आग्रह गरिएको छ ।

प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले पनि विगत दुई/तीन वर्षदेखि प्रदेशबासीले गेटालाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रुपमा सञ्चालन गर्नुपर्ने माग राख्दै आएको स्मरण गर्दै त्यसका लागि आवश्यक पर्ने कानून तत्काल निर्माण गरिनुपर्ने बताएका छन् । विश्वविद्यालय स्थापना भए स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको नेतृत्व गर्दै कैलाली आइपुगेका पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अन्तर्क्रिया कार्यक्रममा उठेका सवालको विषयमा सरकारको ध्यानाकर्षण गराइने बताएका छन् । काठमाडौँ फर्किएपछि संसदीय समितिले गेटा मेडिकल कलेजबारे सुझाव प्रतिवेदन बनाएर सरकारलाई पेश गर्ने उनले बताए ।

संसदीय समितिमा प्रतिनिधिसभा सदस्य चित्रलेखा यादव, नविना लामा, मानबहादुर विश्वकर्मा, अञ्जना यादव लगायतका ६ जना सांसदहरु सहभागी थिए । भौतिक संरचना तयार भइसक्दा पनि सञ्चालन मोडालिटी टुङ्गो नलाग्दा अहिलेसम्म गेटा मेडिकल कलेज सञ्चालन अन्योलमै छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?