+
+

एलन मस्कले ट्वीटर नकिन्ने, ट्वीटरले मुद्दा हाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १०:२४

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटर कम्पनी खरिद नगर्ने घोषणा गरेका छन् ।

मस्कले ट्वीटरलाई एक पत्र पठाउँदै ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झौता भंग गरेको घोषणा गरेका हुन् । उक्त पत्रमा खरिद सम्झौताका विभिन्न प्रावधानहरू उल्लंघन भएको पनि दाबी गरिएको छ ।

शुक्रबार मस्कको टिमले ट्वीटरलाई लेखेको पत्रमा ट्वीटरले सम्झौता विभिन्न प्रावधानहरूको भौतिक उल्लंघन गरेको हुँदा खरिद सम्झौताबाट पछि हट्ने निर्णय गरिएको दाबी गरिएको छ ।

मस्कले ट्वीटरमा रहेका फेक अकाउन्टहरूको बारेमा प्रष्ट जानकारी माग गरेको तर ट्वीटरले त्यो उपलब्ध नगराएको विषयलाई सम्झौता भंग गर्ने प्रमुख आधार मानिएको छ ।

केही समयअघि एलन मस्कले ट्वीटरमा २० प्रतिशत फेक तथा स्पाम अकाउन्ट भएको दाबी गरेका थिए । जबकि यो संख्या ट्वीटरले दाबी गरेको ५ प्रतिशतभन्दा ४ गुणा धेरै हो ।

ट्वीटरले फेक तथा स्पाम अकाउन्टको यथार्थ विवरण नदिएमा कम्पनी खरिद नगर्ने मस्कले लामो समयदेखि बताउँदै आएका थिए ।

ट्वीटर अदालत जाने

उता एलन मस्कले एकतर्फी रुपमा सम्झौता भंग गर्ने निर्णय गरेको विरुद्धमा ट्वीटर कम्पनीले भने अदालतको ढोका ढक्ढकाउने भएको छ । ट्वीटर कम्पनीका बोर्ड अध्यक्ष ब्रेट टेलरका एक ट्वीटमा भनेका छन्- एलन मस्कसँग भएको सहमति अनुसारको मूल्य तथा शर्तमा खरिद बिक्री कार्यलाई टुंग्याउन ट्वीटर प्रतिबद्ध छ । खरिद सम्झौता लागू गराउनका लागि कानुनी कार्बाहीको योजना बनाइरहेको पनि उनले बताएका छन् ।

उनले डेलावेर अदालतमा मुद्दा हालिने जानकारी दिंदै अदालतमा ट्वीटरको विजय हुने पनि अपेक्षा गरेका छन् ।

वास्तवमा टेस्लाका सीईओ एलन मस्क आफैंले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने प्रस्ताव गरेका थिए । तर पछि खरिद सम्झौताबाट पछि हट्ने संकेत गर्दै उनले ट्वीटरका फेक तथा स्पाम अकाउन्टको संख्या पाँच प्रतिशतभन्दा कम भएको प्रमाणित गर्नुपर्ने शर्त अगाडि सारेका थिए । ट्वीटरमा यस्ता अकाउन्टको संख्या २० प्रतिशतभन्दा धेरै रहेको उनको दाबी छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?