+
+

बुद्धिचाल संघको अध्यक्षमा गौतम निर्विरोध, उपाध्यक्ष र खुला सदस्यका लागि चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १७:२५

२७ असार, काठमाडौं । नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्विरोध निर्वाचित भएका छन् । उनी संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल, महासचिवमा धरमबहादुर लामा, सचिवमा मोनालिशा खम्बो, भुपेन्द्र निरौला र उमेश केसी निर्विरोध चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन र सहकोषाध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध भएका छन् ।

प्रदेशगत सदस्यहरुमा प्रदेश १ बाट दिपेन राई, मधेशबाट सुरेन्द्रकुमार शाह, बागमतीबाट निरञ्जन प्रजापति, गण्डकीबाट महेश्वर अधिकारी, लुम्बिनीबाट चन्द्रमणि घिमिरे, कर्णालीबाट शक्तिराम बुढा र सुदूरपश्चिमबाट गोपालप्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

संघको आगामी चार वर्षे कार्यसमितिका लागि उपाध्यक्ष र खुला सदस्यबाहेक अन्य सबै पदमा निर्विरोध पदाधिकारी चयन भएका हुन् ।

तीन उपाध्यक्ष र तीन खुला सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । उपाध्यक्षमा पाँचजना र सदस्यमा आठ जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा उम्मेदवारी दिनेहरुमा धनबहादुर बोगटी, ओमप्रसाद उपाध्याय, माधवप्रसाद प्रधान, नारायणदास गमाल र शुबोधराज सेर्पाली छन् ।

सदस्यमा उम्मेदवारी दिनेहरुमा राजीव कार्की, मनोज घिमिरे, कृष्णप्रसाद सिग्देल, याइसाप यासिर खम्बो, प्रविणकुमार भडेल, रामकिशोर सिंह पराग, विकास कार्की र पार्वती श्रेष्ठ छन् ।

बुद्धिचाल संघको केन्द्रीय कार्यसमिति ३१ सदस्यीय रहने प्रावधान छ । तीमध्ये २१ जना निर्वाचन प्रक्रियाबाट आउँछन् भने बाँकी मनोनयन हुनेछ ।

बुद्धिचाल संघले असार २४ र २५ गते साधारणसभा गरेको थियो । विधान संशोधन गरी पदाधिकारीको संख्या थपिएपछि राखेपमा विधान स्वीकृत गर्नुपर्ने भएकाले निर्वाचन प्रक्रिया दुई दिन सारिएको थियो । संघले विधान संशोधन गरी सचिव पद संख्या एकबाट तीन पुर्‍याउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?