+
+

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते ५:१२

२९ असार, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए ।

रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले राष्ट्रपति राजपाक्षेले देश छाडेको खबर लेखेको छ ।

द गार्जियनका अनुसार उनले मंगलबार कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीलंकाको सैन्य विमान एन्टोनोभ-३२ मार्फत देश छाडेका हुन् । विमानमा ७३ वर्षीय राजापाक्षे, उनकी श्रीमती र एक अंगरक्षकसहित चार यात्रु रहेका छन् ।

कतिपय सञ्चार माध्यमले उनी माल्दिभ्स पुगेको उल्लेख गरे पनि यसको पुष्टि हुन नसकेको द गार्जियनले लेखेको छ ।

माल्दिभ्समा अवतरणको अनुमति नहुँदा अन्योलमा परेपछि विमान एक घण्टाभन्दा बढी टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति राजापाक्षेलाई पदच्यूत गर्न प्रदर्शनकारीले महिनौंदेखि प्रदर्शन जारी राखेपछि बुधबार उनले आधिकारिक रूपमा राजीनामा दिएका थिए । यसअघि सोमबार राति उनले दुबई भाग्ने असफल प्रयास गरेका थिए ।

सोमबार राति अध्यागमनका अधिकारीहरूले उनलाई राहदानीमा छाप लगाउन विमानस्थलको भीआईपी कक्षमा जानबाट रोकेका थिए । नागरिकहरूले प्रयोग गर्ने सामान्य लाइनमा बस्न उनी डराएका थिए । नतिजास्वरुप उनले संयुक्त अरब इमिरेट्सका चार उडानहरू गुमाएका थिए ।

विमानस्थलबाट फर्किएका राजापाक्षेले श्रीमती र एक दर्जन परिवारका अन्य सदस्यसहित सैन्य शिविरमा रात बिताएका थिए ।

यसअघि पनि देश छाड्न प्रयास गरेका उनलाई भारतले श्रीलंकाको सैन्य विमान अवतरण गर्न अनुमति दिएको थिएन भने अमेरिकी दूताबासले उनलाई भ्रमण भिसा दिन अस्वीकार गरेको थियो ।

उनी राष्ट्रपतिको उम्मेदवार बन्नुअघि वर्षौंदेखि अमेरिका बस्दै आएका थिए । त्यहाँ उनका एक छोरा र नातिनातिना रहेका छन् । राष्ट्रपतिको उम्मेदवार बन्न उनले अमेरिकी नागरिकता त्यागेका थिए । सोही कारण अमेरिकाले उनलाई आगन्तुक भिसा दिन अस्वीकार गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?