+
+

‘कबड्डी ४’ माथिको रोक अस्थायी मात्र : सिक्किम फिल्म बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १४:२६

काठमाडौं । सिक्किम सरकारले अहिले नेपाली फिल्म कबड्डी ४ को सार्वजनिक प्रदर्शनमा रोक लगाइरहेको अवस्था छ ।

जेठ ३१ गते मुख्यमन्त्री प्रेम तामाङ गोलेले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न फिल्मलाई प्रतिबन्ध लगाइएको बताएका थिए । प्रदर्शनमा रोक लगाइएको आगामी शुक्रबार एक महिना पुग्दैछ । यस्तोमा सिक्किम फिल्म प्रबर्द्धन बोर्डले ‘कबड्डी ४’लाई लगाइएको रोक ‘अस्थायी’ मात्र भएको जनाएको छ ।

बोर्ड अध्यक्ष पूजा शर्माले फिल्मलाई लिएर नेपालको निर्माता पक्षबाट उचित जवाफको आफूहरुले प्रतीक्षा गरिरहेको बताएकी छन् ।

‘हामीले नेपाली साइडबाटै यसबारे जवाफ कुरिरहेका छौं । त्यताबाट रेस्पोन्स आएपछि सिक्किममा विरोध गरिरहेकालाई वार्तामा बोलाउँछौं,’ शर्माले अनलाइनखबरसँग भनिन् ।

‘कबड्डी ४ लाई लगाइएको रोक अस्थायी मात्र हो । यसलाई लम्ब्याउने पक्षमा हामी छैनौं,’ उनले भनिन्, ‘सम्बन्धित पक्षको संवेदनशीलतालाई ख्याल राख्दै फिल्म बजारलाई पनि चलायमान बनाउने हाम्रो उद्देश्य हो ।’

सिक्किममा फुर्वा तामाङ र मिरुना मगरबीचको विवाद मात्र जोडिएको छैन । स्थानीय लामाहरुले फिल्ममा लामालाई गलत रुपमा चित्रण गरिएको आरोप पनि लगाएका छन् । यस्तोमा विवादित दृश्य हटाएर र समाधान जुटाएर रिलिज गर्न दिने मनस्थितिमा पनि बोर्ड छ । फिल्मकी निर्मात्री सुष्मा गुरुङ पनि सिक्किमकै स्थानीय भएकाले पनि माग सुन्नुपर्ने दबाबमा बोर्ड छ ।

तर सिक्किममा ‘कबड्डी ४’ रिलिज नहुँदैमा फिल्मलाई व्यावसायिक घाटा पनि छैन । फिल्मले दुई दिनमै भारतभर १ करोड ९२ लाख नेरुको ओपनिङ गरिसकेको छ । त्यसपछि मात्र फिल्मले राम्रै कमाइ गरेको अनुमान गरिएको छ ।

नेपालमा भने कबड्डी ४ ले ४२ दिनमा २२ करोड ७३ लाख कमाइसकेको छ । फिल्म हलमा चलिरहँदा निर्देशक रामबाबु गुरुङ नयाँ फिल्मको निर्माणमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?