+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

उपसभामुख निर्वाचनमा लुकेको सत्ता स्वार्थ

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ असार २९ गते २०:४७

२९ असार, काठमाडौं । झण्डै तीन वर्षदेखि रिक्त उपसभामुख चयनका लागि बुधबार एकाएक निर्वाचन कार्यक्रम आयो । सभामुख अग्निप्रसाद सापकोटाले ३१ असार ३ बजेका लागि निर्वाचन तोकेपछि संसद सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रम अनुसार भोलि बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ भने पर्सि ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुनेछ ।

संसदमा प्रष्ट बहुमत भएकाले सत्तारुढ पाँचदलीय गठबन्धनले जसलाई चाहन्छ, उही उपसभामुख हुने पक्का छ । गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार बन्ने तय भएको छ ।

प्रतिनिधिसभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।

उपसभामुख हुँदाको स्वार्थ

संविधानको धारा २८४ मा संवैधानिक परिषद्को व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू नियुक्तिको सिफारिस गर्न ६ सदस्यीय संवैधानिक परिषद् रहेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । तर उपसभामुख पद माघ २०७६ देखि रिक्त छ ।

संवैधानिक परिषद् ऐनअनुसार बैठक बस्न अध्यक्ष र चार सदस्य उपस्थित भएमा मात्र गणपूरक संख्या पुग्छ भने बहुमतबाट निर्णय गर्न पनि कम्तीमा चार जना चाहिन्छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादका कारण सभामुखले सहयोग नगरेको भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षसहित तीन जनाकै उपस्थितिमा बैठक बस्न र आवश्यक निर्णय गर्नसक्ने गरी ३० मंसिर २०७७ मा अध्यादेश ल्याएका थिए । त्यसअनुसार ओलीले एकै पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा ५२ जनालाई नियुक्त गरे ।

अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति खारेजको माग गर्दै परेको रिट सर्वोच्चमा विचाराधीन छ, जसको पेशी ११ साउनमा तोकिएको छ । यदि अदालतले अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति खारेज गरे पदपूर्तिका लागि सहज होस भनेर सरकारले राष्ट्रियसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक दर्ता गरेको छ ।

यो संशोधन विधेयकमा प्रधानमन्त्री र हाल कायम रहेका सदस्य (४) को ५० प्रतिशत तर्थात २ जना उपस्थित भए बैठक बस्न सक्ने र निर्णय गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । ओली सरकारले ल्याएको अध्यादेश जस्तै विधेयक ल्याएको भन्दै चौतर्फी आलोचना मात्रै भएन, सत्तारुढ दलकै नेताहरुले पनि विरोध गरेका छन् । त्यसक्रममा उनीहरुले संविधानको उल्लंघन गर्ने बाटो रोज्नुको साटो उपसभामुख चुन्न र संवैधानिक परिषद् ऐन–२०६५ अनुसार पनि नियुक्त गर्न सकिने सुझाएका थिए ।

त्यहीअनुसार उपसभामुख निर्वाचन गर्न लागिएको कांग्रेसका एक पदाधिकारीले बताए । भन्छन्, ‘तीन वर्षदेखि रिक्त रहेको उपसभामुख, संसदको कार्यकाल सकिने बेला नियुक्त गर्न खोज्नु संवैधानिक परिषदकै लागि हो । संवैधानिक परिषद्लाई भत्काउने गरी गैरसंवैधानिक बाटो हिँड्नुभन्दा उपसभामुख चयन गर्न हामीले नै सुझाएका हौं ।’

उपसभामुखमा कांग्रेसले सचेतक पुष्पा भुसाललाई अघि सार्न खोजेको छ, जसमा सत्तारुढ गठबन्धनको सहमति छ । भुसाल, मन्त्री पदको आकांक्षी थिइन । तर, पार्टीभित्र भागवण्डा मिलाउने क्रममा देउवाले आफ्नो समूहमा रहेकी भुसाललाई मन्त्री बनाएनन् ।

बालकृष्ण खाँण गृहमन्त्री भएपछि कांग्रेसमा प्रमुख सचेतक पद पनि रिक्त छ । भुसालले प्रमुख सचेतक बन्ने चाहना देखाएकी थिइन् । तर, देउवाले संवैधानिक परिषद्मा महत्वपूर्ण भूमिका हुने भन्दै उनलाई उपसभामुख बन्न सहमत गराएको कांग्रेस स्रोतको भनाइ छ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?