+
+

‘प्रसाद २’को सुटिङ छाडेकोबारे विपिन भन्छन्- पारिश्रमिकको सुनिश्चितता नभएपछि फर्किएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १७:२६
अभिनेता विपिन कार्की । फाइल तस्वीर

काठमाडौं । अभिनेता विपिन कार्कीले फिल्म ‘प्रसाद २’ को सुटिङ सेट छाडेको विषयमा प्रष्टीकरण दिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले पारिश्रमिकको सुनिश्चितता नभएकाले आफू छायांकन स्थलबाट फर्किएको बताए ।

साथै, उनले निर्माण कम्पनी सुवास थापा प्रोडक्सनसँग पारिश्रमिकको सुनिश्चितता नहुँदासम्म सम्भवतः काम नगर्ने समेत बताएका छन् । स्क्रिप्टमा भएका कतिपय कुरालाई लिएर रचनात्मक असमझदारी भएको पनि उनले बताए । आफू अहिले कास्कीमै रहेको र शुक्रबार काठमाडौं फर्किने विपिनले बताए ।

विपिनको भनाइ जस्ताको तस्तै :

कहिले को निर्देशक चेन्ज छ, कहिले को । आज १७ दिन भइसक्यो प्रोड्युसर चेन्ज छ । निर्माण कम्पनी फेरि चेन्ज हुने कुरा छ । हामी त कामै नभएको मान्छे यहाँनेर त्यत्तिकै बस्ने जस्तो भयो ।

त्यसकारण पहिलेको सुवास थापा प्रोडक्सन कम्पनीसँग अब विश्वास नै रहेन । हाम्रो पारिश्रमिकको कुरा हुन् मुख्य रुपमा । आजसम्म सुरु नहुनु र ढिलो हुनुको कारण पनि उहाँले समयमा पैसा नदिएर हो । मूल कुरा सुवास थापाले पैसा दिनुहुन्छ भन्ने विश्वास नलागेर ।

फेरि अर्को कम्पनीमा काम गर्ने भन्ने कुरा भयो । ल ठीक छ त्यसैमा भए पनि गरुम् न त भन्ने कुरा हुँदाहुँदै पनि । यत्ति कुराले सबैलाई सेक्योर पनि भएन । सुरु नै भएको छैन अनि कसरी सेट छोडिन्छ र ? सुरु नै भएको छैन, मुहूर्त नै भएको छैन अनि कसरी सेट छाडिन्छ ?

मुख्यः कुरा पारिश्रमिकको हो । सुरुदेखि काम गर्दै आउँदा त्यो लेभलको ट्रस्ट पनि भएन कहिल्यै पनि । बोलेको कुरा पूरा हुनुपर्छ । पैसाकै लागि भन्दा पनि काम गर्नुको औचित्य कारण त्यो पनि हो । किनभने घरपरिवार छाडेर यहाँ आएर दिनरात बस्नुपर्छ ।

मुख्य कुरा त्यसको सुनिश्चितता नभएपछि यहाँ बसिरहनु र कुदिरहनुको औचित्य पनि हुँदैन जस्तो लाग्यो । फेरि पनि प्रोडक्सन हाउस फेरिने कुरा आएको छ । उहाँहरुले पोखराबाट वकिल ल्याएर अर्को प्रोडक्सन हाउसलाई हस्तान्तरण गर्न खोज्नुभएको थियो ।

अहिले नै त १७ दिन खेर गयो । अर्को ४५ दिन समय दिएर काम गर्दा त मेरो पछाडिको सबै फिल्मलाई असर पर्ने भयो । यो कारणले पनि मैले काम गरिनँ ।

अब सुवास थापा प्रोडक्सन कम्पनी नै हुँदा त सायद गरिन्न होला । किन परिश्रम मात्रै खेर फाल्ने । हामीले दैनिक स्क्रिप्ट हेरिरहेका छौं । कलाकारले मानसिक रुपमा तयार हुनुपर्ने हुन्छ । पुरानो क्यारेक्टरको लागि यति धेरै समय दिंदा अन्य फिल्मलाई पनि प्रभाव पर्छ । किनभने मैले समय हेरेर सम्झौता गरेको हुन्छु ।

यसपछि मैले रामबाबु गुरुङलाई दिएको समय आइसक्यो । यसरी हल्लियो भने त अबको एक सातापछि पनि सुटिङ हुन्छ भन्ने के ग्यारेन्टी ? त्यसपछि पनि उहाँहरुले पैसा उपलब्ध गराउनुहुन्छ भन्ने ग्यारेन्टी भएन नि त ।

जहाँसम्म भिजुअल ल्यांग्वेजको कुरा छ, मैले खेल्न लागेको छु र के बन्दैछ भन्ने कुरा मैले थाहा पाउनु जरुरी छ । स्क्रिप्टमा डिस्क्रिप्सन पनि पूर्ण छैन, दिन रात शुद्ध छैन । पन्नामा भएको कुरा दृश्यमा त त्यत्तिकै आउँदैन नि त । मैले यिनै प्रश्न गरेको र आफू स्पष्ट हुन चाहेको मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?