+
+

दमक भ्यूटावरको लागत र निर्माण अवधि बढ्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १९:२८
फाइल तस्वीर

३० असार, काठमाडौं । झापाको दमकस्थित दापगाछीमा निर्माणाधीन दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको लागत र समयावधि लम्बिएको छ । सयममै निर्माण नभएपछि १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँमा निर्माण हुने भनिएको भ्यूटावरको लागत बढेर १ अर्ब ५८ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले टावर निर्माण कार्यको सुरुमा तोकिएको म्याद समाप्त भइसक्दा १२ तलासम्मको संरचना मात्र तयार भएको जनाएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका एक अधिकारीका अनुसार २७ असार २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको भ्यूटावर पुस २०७८ अन्तिम सातासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।

गत वर्ष पनि महालेखाले भ्यूटावरको ठेक्का विदेशी कम्पनीसँगको जोइन्ट भेन्चर कम्पनीले लिए पनि स्थानीय कम्पनीले नै काम गरिरहेको भन्दै प्रश्न उठाएको थियो ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले दमकमा १८ तलाको भ्यूटावर बनाउन चिनियाँ कम्पनी जेडसीजीआईईसीसहित आशिष ओम साइराम निर्माण कम्पनी जेभीसँग सम्झौता गरेको थियो ।

यो कम्पनीको संयुक्त उपक्रम रहेको स्वामित्वमा विदेशी व्यवसायीको २० र नेपाली व्यवसायीको ८० प्रतिशत छ । तर, निर्माण कार्यमा विदेशी निर्माण व्यवसायीको संलग्नता नदेखिएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो

सरकारको प्राथमिकता प्राप्त आयोजना रहेको ‘दमक भ्यूटावर’ १०० मिटर अग्लो (१८ तलाको) हुनेछ । टुप्पोतिरको २८ मिटर भाग भने मेटल फ्रेमको हुनेछ ।

बाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्यका राखेर दमक नगरपालिका– ३ दापगाँछीमा यो टावर बनाइएको हो । यसका लागि स्थानीयवासीले ५ बिगाहा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

टावरको तल पार्किङस्थल हुनेछ भने सोभेनियर पसलसहित ‘ओपन एयर थिएटर’, उद्यान र फाउन्टेन पार्क, बाल उद्यान आदि लगायतका संरचना पनि बन्ने छ ।

भ्यूटावरजस्तो अनुत्पादक क्षेत्रमा सरकारले ठलो लगानी गरेको भन्दै विगतबाटै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ । ओलीकै जोडबल मदनभण्डारी राजमार्ग पनि भ्यूटावर नजिकै हुँदै लैजान रेखाङ्कन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?