+
+

सरकारले ल्याएको नागरिकता विधेयकप्रति पुष्पा भुसाल असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १४:०६

३१ असार, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले आमाको नाममा पनि नागरिकता दिने संवैधानिक व्यवस्थालाई नसमेटी ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९’ ल्याएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सचेतक भुसालले बुबाको पहिचान नभएका बालबालिकालाई पनि आमाको नामबाट वंशजको नागरिकता दिने संविधानमा उल्लेख गरिएको विषयलाई पनि सरकारले सो संशोधन विधेयकमा स्पष्टसँग समेटन नसकेको गुनासो गरिन् ।

उनले तेस्रो लिंगीले पनि नागरिकता पाउने अधिकारलाई सो संशोधन विधेयकले बेवास्ता गरेको उल्लेख गर्दै त्यसको स्पष्ट व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सचेतक भुसालले भनिन्, ‘नेपालको संविधानले आमा र बुबाको नाममा नागरिकता पाउने व्यवस्था गरेको छ । तर त्यो कुरालाई अहिलेको ऐनले स्पष्ट रुपमा समेटेको हामीले देखेनौं । त्यस्तै किसिमबाट हामीले अहिलेको संविधानमा बाबुको पहिचान नभएमा आमाको नामबाट बंशजको नागरिकता दिने भनेर स्पष्ट रुपबाट व्यवस्था गरेको छ । तर अहिलेको संशोधनमा आउँदै जाँदाखेरी बच्चा र आमाको अधिकारमाथि ठूलो प्रश्न चिन्ह खडा गरिएको छ । कम्तीमा आमा र बालबालिकाको अधिकारलाई त्यो स्वाभिमानलाई बचाउनका लागि त्यो आवश्यक छ । तेस्रो लिंगीले नागरिकता पाउन कुरालाई पनि यो संशोधन विधेयकले समेटन सकेको छैन । म यस सम्बन्धमा नेपाल सरकार गृहमन्त्रीजीको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सचेतक भुसालले तेस्रो लिंगीको नागरिकता पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने दायित्वबाट सरकार पछि हटन नमिल्ने पनि पटकपटक दोहोर्‍याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?