+
+

हेटौंडामा नेपाल भारत जनसम्बन्धको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १२:३१

३२ असार, हेटौंडा । मकवानपुरको हेटौंडामा नेपाल भारतको जनसम्बन्धको चर्चा भएको छ । कोरोना कहरका कारण जनस्तर सम्बन्धमा नकारात्मक प्रभाव पारेको सहभागीले जनाएका छन् ।

नेपाल भारत मैत्री संघ, जिल्ला शाखा, मकवानपुरले हेटौंडामा आयोजना गरेको बधाई, शुभकामना तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले कोरोना कहरका कारण बढेको दुरी घटाउन अन्तर्क्रिया, छलफल, भ्रमणहरू हुनुपर्नेमा जोड दिए ।

हेटौंडाबाट धेरै मानिसहरू लत्ता कपडालगायत घरायसी सामग्री खरिद गर्न भारत बिहार राज्यको रक्सौल, औषधी उपचार र कामको खोजीमा विभिन्न भारतीय सहरमा जाने गरेका छन् ।

भारतीय नागरिक पनि किनमेल, भ्रमण तथा अन्य कामका लागि हेटौंडा आउँछन् । रक्सौलमा आगो लाग्दा वीरगञ्जको र वीरगञ्जमा आवश्यक पर्दा  रक्सौलबाट दमकल आउँछ ।

वरिष्ठ पत्रकार चन्द्रकिशोरले खुल्ला सीमाले गर्दा नेपाल भारतबीचको जनस्तरको सम्बन्ध उच्च बनेको बताए । ‘भारतको स्वतंत्रताको अमृत महोत्सव मनाउँदैछ त्यसमा नेपालीको योगदान छ । दुवै देशमा आन्दोलन हुँदा एक अर्कालाई साथ र सहयोग गर्दै आएका छन् ,’ उनले भने ।

काठमाडौं र दिल्लीको सम्बन्धलाई हेरेर जनस्तरको सम्बन्धलाई बुझ्न नसकिने बताउँदै उनले जनस्तरका सम्बन्ध बेग्लै रहेको बताए ।

‘हेटौंडाको मान्छे भारत हैन, रक्सौल जान्छ । क्सौलकालाई हेटौंडा आउँदा उसलाई अर्को देश आएको जस्तो लाग्दैन । स्थानीय तह छुट्टै राज्य छ,’ उनले भने ‘कोरोना कालमा भोका मानिसरू कसरी सीमा आरपार गरे काठमाण्डु र दिल्लीलाई थाहा छैन, सीमावर्ती क्षेत्रका मानिसले देखेका छन् ।’

उनले नेपाल र भारतबीच जनस्तरको सम्बन्ध कुनै क्षेत्र, समुदाय विशेषको सम्बन्ध नभएर हिमालदेखि तराईसँग जोडिएको सम्बन्ध भएको बताए ।

वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत शैलेन्द्र कुमारले नेपाल भारतको सम्बन्ध रोटीबेटीको भन्दा माथि रहेको बताए । ‘ राजनीतिक उतारचढाव आफ्नो ठाउँमा रहन्छ । जनस्तर सम्बन्ध कसैले भड्काउँदैमा भड्किदैनन् ‘ उनले भने, ‘तर कोरोनाले दूरी बढाएको छ । त्यसलाई पुरानै अवस्थामा फर्काउनुपर्छ । त्यसका लागि विभिन्न मुद्दामा छलफल हुनुपर्छ ।’

उनले विकास निर्माणका काममा सहयोग गर्न सकिने बताउँदै स्कुल सडक बनाउने जस्ता स्थानीय प्रोजेक्ट छ भने दिन आग्रह गरे । ‘त्यसका लागि योजनाको डिपिआर बनाउनुपर्छ । प्रक्रियामा आउनुपर्छ र  तीन तहको सरकार मध्ये एक तहले २० प्रतिशत बजेट छुट्याउनुपर्छ,’  उनले भने ।

संस्थाको पूर्वअध्यक्ष नेपाल भारत विश्व मैत्री संघका केन्द्रीय कोषाध्यक्ष प्रविण मैनालीले सामाजिक संघ संस्थामा दोस्रो संस्था संघको ७४ जिल्लामा शाखा रहेको र १५ हजार सदस्य रहेको बताए ।

नेपाल भारतको जनस्तरमा भावानात्मक सम्बन्ध, कला, भाषाको सम्बन्ध उनको भनाइ छ । ‘भारत ठूलो देश हो, त्यसबाट कसरी बढी भन्दा लाभ लिन सकिन्छ’ उनले भने, ‘एम्बुलेन्स, बस, विकासका काम गर्छ सकारात्मक काम के गर्न सकिन्छ ? त्यसमा ध्यान दिनुपर्छ ।’

हेटौंडा उपमहानगरपालिका वडा नं १ अध्यक्ष सविन न्यौपानेले नेपालको पर्यटकीय क्षेत्रको बारेमा भारतमा प्रचार प्रसार गर्न सके ठूलो लाभ लिन सकिने धारणा राखे ।

वडा नं ४ का वडा सदस्य जनरल श्रेष्ठले जुन उद्देश्यले संस्था खोलेका हौ त्यसको कति प्रतिशत पूरा भयो भनी समिक्षा गर्नुपर्ने बताए ।

कार्यक्रममा संघको आजीवन सदस्य र पूर्व अध्यक्ष रही स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।

हेटौंडा १ का वडा अध्यक्षमा निर्वाचित आजीवन सदस्य सविन न्यौपाने, वडा नं ९ का वडा अध्यक्ष सुकराम के.सी, वडा नं १० का अध्यक्ष फुर्वा दोर्जे लामा, वडा नं ४ का वडा सदस्य जनरल श्रेष्ठ,पूर्व अध्यक्ष एवं वडा नं १० का सदस्य ईश्वर प्रसाद मैनालीलाई सम्मान गरिएको संघका अध्यक्ष राजकुमार जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?