+
+

पूँजीगत खर्च ५७.२३ प्रतिशत मात्र, लक्ष्यभन्दा १६२ अर्ब कम

हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्दै शतप्रतिशत लक्ष्य भेट्याउने उद्घोष गरेको वर्तमान सरकारले आर्थिक वर्ष सकिंदा मात्र ५७.२३ प्रतिशत पूँजीगत खर्च गर्न सकेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०७९ साउन १ गते १९:५२

१ साउन, काठमाडौं । हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्दै शतप्रतिशत लक्ष्य भेट्याउने उद्घोष गरेको वर्तमान सरकारले आर्थिक वर्ष सकिंदा मात्र ५७.२३ प्रतिशत पुँजीगत खर्च गर्न सकेको छ ।

महालेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३२ असारसम्म २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । यस आवका सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो ।

तथ्यांकअनुसार यस आवमा सरकारले १ खर्ब ६२ अर्ब रुपैयाँ कम पुँजीगत बजेट खर्च गरेको छ । आर्थिक वर्षको प्रारम्भमा बजेट प्रतिस्थापन विधेयक ल्याउनु पर्ने बाध्यता, निर्वाचनका कारण विकास निर्माणले प्राथमिकता नपाउनु र विकास खर्चका परम्परागत समस्या सल्ट्याउन नसक्दा पूँजीगत खर्चको खराब प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको हो ।

तथ्यांक अनुसार पछिल्लो ६ वर्षयता आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा कम विकास खर्च भएको छ । यसो हुनुमा कोरोना महामारी र त्यसले आर्थिक गतिविधिहरु ठप्प हुनु थियो । किनकी सो आवको चैतदेखि असारसम्म मुलुकले लकडाउन भोगेको थियो । नेपालमा पूँजीगत खर्च हुने मुख्य समय नै तेस्रो चौमासिक हो ।

असारमा मात्र ७९ अर्ब विकास खर्च

सरकारले असार एक महिनाको अवधिमा मात्र ७९ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । ३१ जेठ २०७९ मा १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको पूँजीगत खर्च ३२ असार २०७९ मा आइपुग्दा २ खर्ब १६ अर्ब पुगेको छ । खासगरी आर्थिक वर्षको प्रारम्भिक दिनमा खर्चलाई गति दिन नसक्दा अन्ततः आर्थिक वर्षको अन्त्यमा खर्चमा चाप परेको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिम साता हुने खर्चमा केही कडाई गरेको थियो । यसले अन्तिम सातामा हुने भुक्तानी यस आवमा केही कमी आएको छ ।

असारमा मात्र २ खर्ब ६० अर्ब ६४ लाख बजेट खर्च

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार आव २०७८/७९ मा सरकारले १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ बजेट खर्च गर्न सकेको छ । यो चालु, पूँजीगत र वित्तीय व्यवस्थासमेतको कुल खर्च हो । यो बजेट खर्च कुल लक्ष्यको ७९.३९ मात्र प्रगति हो । यस्तो खर्चमध्ये असारमा मात्र २६० अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

३१ जेठ २०७९ मा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको कुल बजेट खर्च ३२ असार २०७९ मा पुग्दा १२ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको हो । यस आवमा सरकारले कुल १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको थियो । यसआवमा सरकारले ९ खर्ब ६१ अर्ब ४७ करोड रुपैयाँ चालु खर्च गर्न सकेको छ । यो लक्ष्यको ९०.२५ प्रतिशत हो । यस आवमा सरकारले १० खर्ब ६५ अर्ब २९ रकोड रुपैयाँ चालु खर्चको लक्ष्य लिएको थियो ।

आर्थिक वर्षको प्रारम्भिक दिनमा वित्तीय व्यवस्थामा उच्च प्रगति देखिए पनि अन्तिम तिर त्यसले गति लिन सकेन । जसले गर्दा वित्तीय व्यवस्थामा विनियोजित बजेटमा पनि मात्र ६२.५ प्रतिशत प्रगति भएको छ ।

तथ्यांक अनुसार यस आवमा सरकारले १ खर्ब १८ अर्ब ३९ करोड रुपैयाँ वित्तीय व्यवस्थामा खर्च गरेको छ । वित्तीय व्यवस्थामा यस वर्ष १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य सरकारको थियो ।

बजेट खर्च विस्तृतमा

बजेट शीर्षक विनियोजित खर्च खर्च प्रतिशत
चालु १० खर्ब ६५ अर्ब २९ करोड ९ खर्ब ६१ अर्ब ४७ करोड ९०.२५
पूँजीगत ३ खर्ब ७८ अर्ब ९ करोड २ खर्ब १६ अर्ब ३७ करोड ५७.२३
वित्तीय व्यवस्था १ खर्ब ८९ अर्ब ४३ करोड १ खर्ब १८ अर्ब ३९ करोड ६२.५
कुल १६ खर्ब ३२ अर्ब ८२ करोड १२ खर्ब ९२ अर्ब २४ करोड ७९.३९

राजस्व संकलन लक्ष्यभन्दा ९.५४ प्रतिशत कम

अघिल्लो आवमा सरकारले राजस्व संकलन समेत लक्ष्य अनुसार गर्न सकेन । खासगरी आयात प्रतिस्थापन गर्न सरकारले आर्थिक वर्षको अन्तिम चौमासमा कडाई गरेको थियो । यसको प्रभाव राजस्व संकलनमा परेको छ ।

तथ्यांक अनुसार सरकारले ३२ असारसम्म १० खर्ब ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो कुल लक्ष्यको ९.४६ प्रतिशत हो । यस आवमा सरकारले ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यस आवमा सरकारले ५९ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्तीको लक्ष्य राखेकोमा मात्र १८ अर्ब २९ करोड रुपैयाँ प्राप्त भयो । यो लक्ष्यको ३०.५३ प्रतिशत मात्र हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?