+
+

महालेखाले पनि औंल्यायो फेवा ड्यामको अनियमितता

२८ करोडको ड्याम भत्किएपछि फेरि ५४ करोडको इस्टिमेट

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले भत्किएका दुई वटा अँधेरी र हर्पन सिल्ट्रेसन ड्यामको मर्मत गर्न मात्रै १ करोड १९ लाखभन्दा बढी लाग्ने औंल्याएको छ ।

विकास रोकामगर विकास रोकामगर
२०७९ साउन १ गते ११:३०

१ साउन, पोखरा । पोखराको फेवातालको मुहानमा बनाइएका सिल्ट्रेसन ड्याम गुणस्तरहीन रहेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखाको हालै सार्वजनिक ५९ औं वार्षिक प्रतिवेदनमा ड्याम निर्माणका क्रममा गुणस्तरमा ध्यान नदिएको उल्लेख गरेको हो ।

‘…अँधेरी खोला र हर्पन सिल्ट्रेसन ड्यामको स्थलगत अवलोकन गर्दा ड्यामको तल्लो भागमा ढुंगाको गारो भत्किएको र लन्चिङतर्फको मर्मत कार्य भएको देखिएन’, महालेखाले भनेको छ, ‘गुणस्तरीय निर्माणमा महानगरपालिकाले ध्यान पुर्‍याएको देखिएन ।’

फेवातालमा बर्सेनी जम्मा हुने ठूलो मात्राका गेग्य्रान रोक्ने र ताल संरक्षण गर्ने भन्दै महानगरले प्रदेश सरकारको सहकार्यमा सिल्ट्रेसन ड्याम बनाएको थियो । प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले संयुक्त रुपमा ०७६ पुस ११ गते ड्यामको शिलान्यास गरेका थिए ।

फेवामा मिसिने खोलाहरु हर्पन, अँधेरी, बेत्यानी र लौरुक गरी ५ ठाउँमा बनाइएका ती ड्याममा पोखरा महानगर र प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा २८ करोड १६ लाख रुपैयाँ लगानी गरेका थिए ।

मुहानबाट फेवातालमा ढुंगा, गिटी र बालुवाजन्य गेग्य्रान सिधै मिसिन पुग्दा तालको आकार साँघुरिँदै गएको र बर्सेनी १ लाख ४२ हजार मेट्रिक टन गेग्य्रान जम्मा हुने तत्कालीन समयमा तथ्यांक निकालिएको थियो । जसमध्ये हर्पन र खहरे खोलाबाट मात्रै १ लाखभन्दा बढी गेग्य्रान जम्मा हुने पत्ता लागेको थियो ।

बेत्यानीमा दुई, अँधेरी, घाँटीछिना र लौरुकमा एकएक वटा ड्याम गरी पाँचवटा ड्याम बनाइएको थियो । जसमध्ये बेत्यानी खोलाका दुई ड्याम श्री गीता र जयनेपाल ईश्वर जेभी र लौरुक, अँधेरी खोला तथा हर्पन खोलाको ड्याम बनाउने जिम्मा खड्का कृष्ण, पिके जेभीले पाएका थिए ।

ड्याम बनेपछि ती गेग्य्रान मुहानमै थिग्रिने र तालको संरक्षण हुने महानगरको विश्वास थियो । त्यहाँ थुप्रिएका गिटी, बालुवा बेचेर महानगर र प्रदेशले वार्षिक २३ करोड रुपैयाँ आम्दानी गर्ने योजना बनाएका थिए ।

तर, महानगर र प्रदेशको उक्त योजना लामो समयसम्म टिक्न पाएन । ड्याम बनिनसक्दै भत्किन सुरु गरेको अँधेरी खोलाको ड्याम ७७ को साउनमा कामै नलाग्ने गरी भत्कायो भने बाँकी बचेका ड्यामलाई पनि ठूलो क्षति पुर्‍यायो ।

निर्माण गुणस्तरमा त्यतिबेलै उठेको थियो प्रश्न

ड्याम भने बनाउन सुरु गरेको दुई महिनामै भत्किएपछि त्यतिबेलै स्थानीय वासिन्दाले गुणस्तरमा प्रश्न उठाएका थिए ।

ड्याम बनिनसक्दै भत्किन सुरु गरेको भन्दै चर्को आलोचना र विवाद उत्पन्न भएपछि ०७६ फागुन २ गते प्रदेश सांसद राजीव पहारीसहितको टोली स्थलगत अध्ययनमा पुगेको थियो । त्यतिबेला ड्यामको प्लास्टर सामान्य हातले छुँदा पनि भत्किएको थियो ।

त्यतिबेला निर्माण ठेक्का पाएको ठेकेदार कम्पनीले आफूहरुले सम्झौता अनुसार नै गुणस्तरीय सामग्री प्रयोग गरेको दाबी गरेको थियो ।

ड्यामको गुणस्तरबारे प्रदेशसभामै सांसदहरुले प्रश्न उठाएका थिए । तर सरोकारवाला निकायले चासो नदिँदा ठेकेदार कम्पनीले आफ्नै तरिकाले ड्याम निर्माण अघि बढाए ।

फलस्वरुप ७७ साउनमा आएको बाढीले अँधेरी खोलाको ड्याम पूरै भत्काइदियो भने खण्डहर बनाइदियो भने २ वर्ष नबित्दै हर्पन खोलामा बनेको ड्याम लगायत बाँकी खोलाका ड्याममा पनि क्षति पुग्यो ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले भत्किएका अँधेरी र हर्पन सिल्ट्रेसन ड्यामका ती २ वटा ड्यामको मर्मत गर्नमात्रै १ करोड १९ लाखभन्दा बढी लाग्ने औंल्याएको छ ।

सुरुवातबाटै आलोचित र विवादित बनेको सिल्ट्रेसन ड््याम निर्माणबारे छानबिन गर्न प्रदेश सरकारले समिति नै बनाएको थियो । उक्त छानबिन समितिले पेश गरेको ‘फेवा सिल्ट्रेसन ड्याम समस्या र न्यूनीकरण’ नामक प्रतिवेदनमा पनि ड्याम निर्माण प्रक्रियामै लापरवाही भएको र ड्यामको डिजाइन नै गलत रहेको बताएको थियो ।

फेरि बनाउन ५४ करोड

ड्याम निर्माण प्रक्रियाबारे विवाद र आलोचना भइरहेकै बेला पोखरा महानगरले भने सार्वजनिक निजी साझेदारी योजनाअन्तर्गत फेवा सिल्ट्रेसन प्रालि नामक निजी कम्पनीलाई ड्यामको बालुवा बेच्न २४ वर्षका लागि ठेक्का दिएको थियो ।

तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वमा ०७८ जेठ ३ गते बसेको ४९ औं कार्यपालिका बैठकले ड्यामको मर्मतसँगै बालुवा तथा गिटीजन्य गेग्य्रान बेच्न पाउने गरी फेवा सिल्ट्रेसन प्रालिलाई ड्यामको जिम्मा लगाउने निर्णय गरेको थियो । महानगर स्रोतका अनुसार उक्त कम्पनी अनुभवी नभए पनि ठेक्का हात पार्न मात्रै स्थापना भएको कम्पनी हो ।

कार्यपालिका पारित गरेको सम्झौताअनुसार २४ वर्षका लागि ठेक्कामा पाएको फेवा सिल्ट्रेसनले महानगरलाई वार्षिक २ करोड ६० लाख रुपैयाँ रोयल्टी बुझाउने छ । तर, त्यसमध्ये पनि पहिलो दुई वर्षसम्म रोयल्टीमा ५० प्रतिशत छुट दिने महानगरले निर्णय गरेको छ ।

अर्थात् सम्झौता भएको दुई वर्षसम्म प्रालिले केवल एक् करोड ३० लाखमात्रै रोयल्टी महानगरलाई बुझाउने छ । जबकी महानगरले सिल्ट्रेसन ड्याम निर्माण गर्दा वार्षिक २३ करोड रुपैयाँ बढी आम्दानी हुने तथ्यांक निकालेको थियो ।

सम्झौता भत्किएको ड्यामको सामान्य मर्मत तीन महिनाभित्र गर्ने, भत्किएका हर्पन खोला र खहरे खोलाको ड्याम २ वर्षभित्र बनाउने, लौरुक र बेत्यानी ड्यामको मर्मत चार वर्षभित्र गर्ने उल्लेख गरिएको थियो ।

सम्झौताअनुसार फेवा सिल्ट्रेसन प्रालिले भत्किएका ती ड्याम पुनर्निर्माण गर्न फेरि ५४ करोड रुपैयाँ नयाँ स्टिमेट तयार पारेर महानगरलाई बुझाइसकेको छ । तर, हालसम्म सम्झौताअनुसार कुनै काम भएको देखिँदैन ।

महानगरका सूचना अधिकारी भरतराज पौडेलले चैत महिनामात्रै नयाँ सिल्ट्रेसन ड्यामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको र अहिले सामान्य मर्मतमात्रै गरिएको जानकारी दिए ।

‘बल्ल हाम्रो डीपीआर चैतमा सकिएको छ । अहिले ड्यामको सामान्य मर्मत गरेर कामचलाउ बनाएका (ठेकेदार कम्पनीले) छन्’, उनले भने, ‘अब मंसिर पछिमात्रै काम होला । यो बर्खामा हुने कुरा भएन ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?