+
+
साउने सोमबार :

कुन अवस्थामा हानिकारक हुन्छ उपवास ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ साउन २ गते ७:००

काठमाडौं । साउनलाई शिवको प्रिय महिना मानिन्छ । विशेषगरी महिलाहरुले साउने सोमबार व्रत बसी शिवको पूजाआराधना गर्छन् । साउनको सोमबार व्रत बसे आफू, श्रीमान्, सन्तान र परिवारका सदस्यको कल्याण हुने धार्मिक विश्वास छ ।

साउनमा धेरै वर्षा हुने हुँदा पानीमा विकारका पदार्थ मिसिएका हुन्छन् । जसकारण व्रत बस्दा पेट सफा हुने र पाचन प्रणाली सन्तुलित भई जीवनशैली स्वस्थकर हुने संस्कृतिविद् डा. गुरुप्रसाद सुवेदी बताउँछन् ।

‘कुनै पनि धार्मिक कृत्य आत्मा मनसँग सम्बन्धित हुने भएकाले मनको स्वच्छता निर्मलताको लागि व्रत बस्दा हाम्रो आहारविहार पनि स्वच्छ हुनुपर्छ,’ उनी भन्छन् ।

पूजन विधि

साउनको सोमबार व्रत बस्दा बिहान चाँडै उठेर स्नान गर्ने गरिन्छ । त्यसपछि साधारण भेषभूषा लगाउने र भगवान् शिवको मन्दिरमा गएर वा बालुवाको शिव मूर्ति बनाएर पूजा गर्ने प्रचलन छ । पृथ्वी, जल, तेज, वायु, आकाश, सूर्य, चन्द्रमा र आत्मा शिवजीको अष्टमूर्तिको स्वरूप हो । त्यसैले शिव मूर्तिको पूजा गर्दा एउटा मूर्ति मात्र नभएर शिवजीको आठवटै स्वरूपको पूजा गर्ने गरिन्छ ।

व्रत बस्नुको फाइदा मात्र हैन बेफाइदा पनि छ । दीर्घरोगी र औषधि सेवन गरिरहेकाहरुका लागि व्रत बस्नु उचित नहुने आचार्य सुझाउँछिन् । ‘जसलाई ग्यास्ट्रिकको समस्या छ, खालीपेट धेरैबेर बस्नुहुँदैन, उनीहरुले व्रत नबस्नु नै उचित हुन्छ,’ पोषणविद् अनुश्री आचार्य भन्छिन् ।

शिवको पूजा गर्दा पूजा सामग्रीको रूपमा चन्दन, फूल, अक्षता, धूप, बत्ती र नैवेद्य अर्पण गरिन्छ । साथै शिवजीलाई बेलपत्र र गंगाजल पनि प्रिय हुने भएकाले यी दुईलाई पनि छुटाउन नहुने डा. मैनाली बताउँछन् ।

शिवको पूजा गर्दा भावनात्मक रूपमा शिवको समीपमा रहने भन्ने नियम हुन्छ, जसलाई उपवास भनिन्छ । उप भनेको नजिक र वास भनेको बस्नु अर्थात् शिवको नजिक बस्नु । तर हिजोआज भोकै बस्नुलाई उपवास भन्ने चलन छ । मैनाली भन्छन्, ‘यो उपवास शब्दको अर्थ होइन । भोकै बस्नुलाई अनसन भन्न सकिन्छ, तर उपवास भन्न मिल्दैन ।’

हुन त उपवास बस्दा भोजन छुट्छ, खानपानमा रमाइँदैन । स्वास्थ्य अवस्थाको आधारमा फलाहार गर्न सकिन्छ । तर अरू दिनमा जस्तो जुठो बिटुलो, माछा मासु नखानु भन्ने हाम्रो परम्परा र शास्त्रीय मर्यादामा उल्लेख गरिएको छ । शिवजीको व्रत बस्ने प्रक्रिया यही नै हो ।

साउन शिवको प्रिय महिना !

ब्रह्माण्डमा रहेका सूर्य, चन्द्रमा जस्ता ग्रहको हाम्रो शरीरसँग सम्बन्ध हुन्छ । मनको सम्बन्ध चन्द्रमासँग हुन्छ । ज्योतिष अनुसार साउन महिनामा चन्द्रमा राशिको मालिक हुन्छ । मेष, वृष, मिथुन, कर्कट राशिमा सूर्य हुन्छ । कर्कट राशिको स्वामी चन्द्रमा हुन् । त्यसैले साउनमा राशि स्वामीको रूपमा चन्द्रमा छन् र चन्द्रमा हाम्रो मनसँग पनि सम्बन्धित रहन्छ । यो महिनामा विभिन्न भावना आउने, मनमा आरोह–अवरोह आउने आदि आउने मैनाली बताउँछन् । ‘चन्द्रमालाई शिवजीले शिरमा राख्ने भएकाले साउन महिनामा पुज्नु भनेको मनलाई शान्त, एकाग्र, चिन्तनशील र विचारशील बनाउनका लागि यसको महत्व छ ।’

स्वास्थ्य अवस्था विचार गरेर व्रत 

फाइल तस्वीर

निर्जला, जलाहार र फलाहार गरी व्रतलाई तीन प्रकारमा विभाजन गर्ने गरिएको छ । यीमध्ये आफूलाई जुन सहज हुन्छ सोहप् प्रकारको व्रत बस्नु राम्रो हुने मैनाली सुझाउँछन् ।

साउनको व्रतमा सामान्यतया अन्न भोजन नगर्नु उपयुक्त हुन्छ । तर विभिन्न रोगको औषधि सेवन गरिरहेको व्यक्तिले फलाहार गरेर व्रत बस्न सक्ने उनी बताउँछन् । ‘समय–समयमा पानी, दूध र फलफूल खाइरहनु पनि उचित हुन्छ  । शरीरको अवस्था सामान्य भएकाहरूको फल नखाई पानी र दूध दही खाएर जलाहार व्रत बस्न सक्छन् । निराहार व्रत बस्नु चाहिं स्वास्थ्य दृष्टिकोणले पनि त्यति उचित हुँदैन,’ मैनालीको सुझाव छ ।

यदि स्वास्थ्य अवस्था ठीक छैन भने बिहानी पख फल सेवन गरेर बेलुकी एकपटक चोखो खाना खान सकिने मैनाली सुझाउँछन् ।

व्रत बस्नु स्वास्थ्यका लागि लाभदायक

साउन महिनालाई चोखो खाना खाने महिना भनिन्छ । यो महिनामा माछामासु नखाने, लसुन प्याज नखाने चलन छ । साउनमा सबै खेतबारीमा धान, मकै रोपिने भएकाले हरियो सागसब्जी र फलफूल कम मात्रामा मात्र पाइन्छ ।

पानी धेरै पर्ने भएकाले खोलानालामा बाढी आएको हुन्छ । जसले गर्दा पानीको स्रोतहरू पनि फोहोर हुन्छन् ।  बाढी पहिरोले बगाएर ल्याएको त्यो फोहोर जनावरहरूले खान्छन् । त्यो फोहोर पानी खाएको माछामासु स्वस्थकर हुँदैन । त्यस्ता जनावरको मासु खाँदा बिरामी हुने जोखिम भएकाले साउनमा माछा, मासु र अण्डा नखानु राम्रो हुन्छ भन्ने वैज्ञानिक आधार रहेको पोषणविद् अनुश्री आचार्य बताउँछिन् ।

साउन महिनामा मानिसको शरीर कमजोर पनि हुन्छ । त्यसैले यो महिना शरीरले सजिलै पचाउन सक्ने हल्का खाना खानुपर्छ । हप्तामा एक दिन सोमबार व्रत बस्दा शरीरले ६ दिन खाएको खानालाई पचाउन सहयोग गर्छ ।

‘व्रतको दिन नुनको सेवन गरिंदैन, प्रशोधित चिनीको प्रयोग पनि गरिंदैन र प्रोसेस खाना पनि खाइँदैन, जसले गर्दा अन्य दिनमा नुन र चिनीको मात्रा बढी भएको छ भने एक दिन चिनी, नुन र जंकफुड नखाँदा त्यसले सन्तुलन ल्याउँछ,’ आचार्य भन्छिन् ।

व्रत बस्दा बेफाइदा पनि

व्रत बस्नुको फाइदा मात्र हैन बेफाइदा पनि छ । दीर्घरोगी र औषधि सेवन गरिरहेकाहरुका लागि व्रत बस्नु उचित नहुने आचार्य सुझाउँछिन् । ‘जसलाई ग्यास्ट्रिकको समस्या छ, खालीपेट धेरैबेर बस्नुहुँदैन, उनीहरुले व्रत नबस्नु नै उचित हुन्छ,’ उनी भन्छिन् ।

दीर्घरोगीहरुले व्रत बस्नै परे पनि बेलाबेलामा पानी, दूध, दही र फलफूल सेवन गरिरहनुपर्छ । शारीरिक अवस्था अनुसार व्रतमा खाने फलफूल र दूध दहीले पनि कतिलाई सञ्चो नहुने आचार्य बताउँछिन् । कसैलाई खाली पेटमा दूध खाँदा पेट खराब हुन सक्छ । त्यस्तो व्यक्तिले दूधको सट्टा दही सेवन गर्नुपर्छ ।

‘दूध दहीको एलर्जी हुन्छ भने त्यो नखाएर त्यसको सट्टामा फलफूल खानुपर्छ,’ आचार्य भन्छिन्, ‘खाली पेटमा दूध र फलफूल दुवैले आफूलाई सञ्चो गर्दैन भने सादा चोखो खाना खाएर पनि व्रत बस्न सकिन्छ । व्रत बस्दा समय-समयमा पानी पिइरहनुपर्छ ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?