+
+

नेपाल टी-२० लिग खेल्ने चार टिमको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १६:२४

२ साउन, काठमाडौं । पहिलो पटक आयोजना हुने लागेको नेपाल टी-२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हायत प्यालेसमा एक कार्यक्रम गर्दै लिग खेल्ने ४ टिमको नाम मात्र सार्वजनिक गरेको हो ।

नेपाल टी-२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा भएको हो । जसमा कान्तिपुर क्यापिटल्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र लुम्बिनी अल स्टार्स छन् ।

कान्तिपुर क्यापिटल्सको फ्रेञ्चाइज मालिक कान्तिपुर मिडिया ग्रुप छ भने नेपाली अल स्टार्स अमेरिकाले लुम्बिनी अल स्टार्स टिम खरिद गरेको छ ।

बाँकी दुई टिममा भारतीय व्यवस्थापन रहने छ ।  विराटनगर सुपर किंग्सलाई डायमण्ड डिजीक्याप प्रालिले र जनकपुर रोयल्सलाई गोल्डस्पोर्टस प्रालिले सञ्चालन गर्ने छन् ।

बाँकी दुई टिमको घोषणा छिट्टै हुने क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लले बताए । टिम मालिक उपस्थित नभएका कारण दुई टिमको घोषणा प्रक्रिया लम्बिएको हो । क्यानले गत जेठमा लिग खेल्ने ६ शहरको नाम सार्वजनिक गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र सुदूरपश्चिम थियो ।

ती टिमको स्वामित्व लिनका लागि क्यानले टेण्डर आह्वान गरेको थियो । त्यसै अनुसार फ्रेन्चाइज टिम नाम टुङ्गो लागेको हो । क्यानले नेपाल टी २० लाई नै नेपालको आधिकारिक फ्रेन्चाइज लिग भनेको छ । जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पनि स्वीकृति दिइसकेको छ ।

कार्यवाहक सचिव मल्लले नेपाल टी–२० लिगको फ्रेन्चाइज टिममा विदेशी व्यवस्थापन हुनु सर्वव्यापी अभ्यास रहेको बताए । यो प्रतियोगितामा नेपाल भित्रबाटै फ्रेन्चाइज टोली नपाएर विदेशी ल्याइएको अर्थ नलगाउन पनि उनले आग्रह गरे ।

‘संसारको हरेक फ्रेन्चाइजमा विदेशी मालिक हुने व्यवस्था सामान्य हो । जसले उचित प्रस्ताव ल्याउँछ र जसलाई हामीले विश्वास गछौं त्यही टिमले मान्यता पाउने हो,’ टिम घोषणा कार्यक्रममा मल्लले भने, ‘क्रिकेटको विकासका लागि नेपालको मात्र लगानी हुनुपर्छ भन्ने मान्यता छैन । यसलाई आईसीसीले पनि रोक्दैन ।’

क्यानले नेपाल टी-२० लिगलाई आफ्नो ड्रिम भेन्चर मानेको छ । यसले नेपाली क्रिकेटलाई नै परिवर्तन गर्ने क्यानको दावी छ । क्यानले गत जेठमा नेपाल टि-२० लिगको आधिकारिक घोषणा गरेको थियो । जसअनुसार पहिलो संस्करण आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

तोकिएकै समयमा लिग गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए । लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई स्ट्राटेजिक एण्ड कमर्सियल पार्टनरको अधिकार दिएपछि नेपाल टी-२० लिग यसअघि नै आलोचित बनेको थियो ।

नेपाल टी-२० लिगमा खेल्ने क्याटेगोरी एका खेलाडीको प्रारम्भिक मूल्य नै १५ लाख हुने भएकोले खेलाडीहरु भने उत्साहित छन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?