+
+

माफीमा अल्झेको वाम तालमेल

प्रचण्ड र माधव नेपाल सहित उनी पक्षधर नेताहरुले ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा माफी मागेमा वाम तालमेल सम्भव हुने तर्क गर्छन् । ओली पक्षधर भने १९ बुँदे आरोपपत्र लगाएकोमा प्रचण्डले माफी माग्नुपर्ने र एमाले विभाजनको गल्ती माधव नेपालले स्वीकार्नुपर्ने अडानमा छन् । वामपन्थी दलहरुले कसले माफी माग्ने भनेर झगडा गरिरहँदा लाभ भने निरन्तर कांग्रेसले उठाउँदै आएको छ ।

सइन्द्र राई सइन्द्र राई
२०७९ साउन ३ गते २०:००

२ साउन, काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै तिक्ततापूर्ण सम्बन्धमा रहेका कम्युनिष्ट पार्टीहरुबीच स्थानीय निर्वाचनमा एकाध ठाउँमा चुनावी तालेमल भयो । पाँचदलीय सत्तारुढ गठबन्धनमा अरु दलसँग तालमेल नगर्ने सहमति भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादी दुबैले स्थानीय स्तरमा एमालेसँग तालमेल गरे । स्थानीय चुनावमा यदाकदा भएको तालमेललाई अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा रुपान्तरण गर्नुपर्ने मत तीन वटै वाम घटक (एमाले, माओवादी र एकीकृत समाजवादीमा छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल वाम तालमेलको पक्षमा वकालत गर्ने शीर्ष नेता हुन् । एकीकृत समाजवादीका शीर्ष नेता समेत रहेका खनालले गृहजिल्ला इलाममा एमालेसँग तालमेलको अभ्यास नै गरिसके । सत्ता गठबन्धनप्रति नेपाली कांग्रेस इमान्दार नबनेको निष्कर्ष निकालेका खनालले इलाम जिल्ला समन्वय समितिको चुनावमा एमालेसँग तालमेल गराएका थिए ।

११ महिना अगाडि एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीभित्र खनालकै कारण वाम गठबन्धन गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ । तर अहिलेसम्म आफ्नो दलको प्राथमिकतामा वर्तमान गठबन्धन नै रहेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा बताउँछन् । भन्छन्, ‘नेगेटिभ–नेगेटिभको योगफल पोजेटिभ हुने रहेछ । नेपाली कांग्रेसले नै यो गठबन्धन जोगाउन चाहेन भने वाम गठबन्धन विकल्प हुने भयो ।’

वाम तालमेल र एकताको पक्षमा खुलेर लागेका अर्का नेता हुन्, वामेदव गौतम । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा कुनै समूहमा नलागेका गौतमले गएको १५ असारमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर वाम गठबन्धनको पक्षमा उभिन आग्रह गरेका थिए । भलै, वाम एकताको नाममा १४ असारमा छुट्टै दल गठन गरेर गौतमले पनि कम्युनिष्ट पार्टीको संख्या बढाएका छन् । तर यसलाई गौतम कम्युनिष्ट आन्दोलन जोगाउने प्रयोजनकै निम्ति भएको तर्क गर्छन् ।

नेकपाको एकता नजोगिनुमा आफू समेत दोषी रहेकाले आत्मालोचना गर्न समेत गौतम तयार छन् । ‘मबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु’, गौतमले भन्ने गरेका छन् ।

कम्युनिष्ट एकताका लागि गल्ती स्वीकार्नेमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाल पनि छन् । शनिबार, ३२ साउनमा राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठले वाम तालमेल र एकता आजको आवश्यकता भएकाले विगतको गल्तीप्रति आत्मलोचना गर्न तयार रहेको बताए । ‘गल्ती कमजोरी भएको छ भन्ने लाग्छ भने आत्मालोचना गरौं । म आत्मालोचना गर्छु, पार्टी एकता जोगाउन सकिएन, मेरो पनि भूमिका थियो’, उनको भनाइ छ ।

घनश्याम भूसालले त एक वर्ष अघिबाटै विगतका गल्तीमा कारवाही भोग्न तयार रहेको बताइरहेका छन् । विशेषगरी एमालेको एकता नजोगिएकोमा आफ्नो भागमा पर्ने गल्तीको सजाय खेप्न तयार रहेको भूसालले बताउने गरेका छन् । ‘प्रतिनिधिसभा जोगााउने क्रममा संसदीय मर्यादा र पार्टी ह्वीपको पालना नगरेकाले एक घण्टा भएपनि मलाई निलम्बन गरियोस्’, उनको माग छ ।

वामपन्थी दलहरुले कसले माफी माग्ने भनेर झगडा गरिरहँदा लाभ भने निरन्तर कांग्रेसले उठाउँदै आएको छ ।

सँगै, अध्यक्ष ओली पनि आफूले गरेको गल्तीको सजाय भोग्न तयार हुनुपर्ने भूसालको माग छ । ओली भने आफूबाट नभएर प्रचण्ड र माधव नेपालले माफी माग्नुपर्ने अडान लिंदै आएका छन् ।

गएको १२ फागुनमा आफूलाई भेट्न आएका प्रचण्डसहित माओवादी नेताहरुसँग ओलीले नेकपाकालीन तिक्तता सम्झिएका थिए । सहकार्यबारे माओवादी नेताहरुले राखेको प्रस्तावमा ओलीको जवाफ थियो– ममाथि लगाइएका १९ बुँदे आरोपपत्र फिर्ता लिएर सार्वजनिक माफी माग्ने काम भए बाँकी कुरा सोंचौला । अमेरिकी सहयोग परियोजना एमसीसीबारे समान मत निर्माण गर्ने प्रयत्न स्वरुप प्रचण्ड, पार्टीका नेताहरुलाई लिएर ओलीलाई भेट्न संसद भवन पसिरसमा रहेको उनकै कार्यकक्ष पुगेका थिए । तर एमाले अध्यक्ष ओलीले माफीको कुरा उठाएपछि थप वार्ता हुन सकेको छैन ।

‘माफी त केपी ओलीले माग्नुपर्छ । प्रतिगामी निर्णय नगरेको भए अहिलेको गठबन्धन नै बनाउनु पर्थेन’, माओवादी केन्द्रका नेता हरिबोल गजुरेल भन्छन् । प्रतिनिधिसभा विघटनको निर्णय गलत थियो भन्ने पुष्टि भइसकेकाले ओलीले गल्ती स्वीकार्नासाथ वाम तालमेलको आधार तयार हुने गजुरेल बताउँछन् ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ भने माफी माग्ने र दिने सर्तले वाम एकता सम्भव नहुने बताउँछन् । ‘सम्झौता पुराना कुराको आधारमा होइन, अबको आवश्यकताको आधारमा हुने हो । अवको आवश्यकता भनेको वाम एकता हो’ उनी भन्छन् ।

नेकपाकै एकता जोगाउनुपर्ने पक्षमा उभिएका उपमहासचिव गुरूङ अहिले पनि वाम तालमेलका निम्ति सक्रिय छन् । उनी जस्तै वर्षमान पुन सहित माओवादी केन्द्रका केही नेताहरु पनि आगामी संघ र प्रदेशको चुनावमा वाम तालमेल गर्नुपर्ने पहलकदमीमा छन् । तर शीर्ष नेताहरुमा देखिएको इगोकै कारण वाम गठबन्धन वा एकताको पहलले ठोस् रुप लिन नसकेको नेताहरु बताउँछन् । ‘स–साना कुरामा अल्झिने काम भएको छ । फलानाले फलानासँग माफी माग्नुपर्ने भन्ने आग्रह र पूर्वाग्रहको आधारमा कुरा गर्दा कांग्रेसले लाभ उठाइरहेको छ’, एमाले उपमहासचिव गुरुङ भन्छन् ।

इगोको समस्या

नेपाली राजनीतिक इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन हुँदा पुगेको क्षतिप्रति वाम एकताको पक्षमा नबोल्ने नेताहरु समेत चिन्तित देखिन्छन् । तर त्यसको दोष खेप्न भने उनीहरू तयार छैनन् । ओली निकटकाले प्रचण्ड र माधवलाई दोषी देख्छन् भने प्रचण्ड र माधव निकटकाले ओलीलाई दोषी ठान्छन् ।

प्रचण्ड र माधव नेपाल सहित उनी पक्षधर नेताहरुले ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा माफी मागेमा वाम तालमेल सम्भव हुने तर्क गर्छन् । ओली पक्षधर भने १९ बुँदे आरोपपत्र लगाएकोमा प्रचण्डले माफी माग्नुपर्ने र एमाले विभाजनको गल्ती माधव नेपालले स्वीकार्नुपर्ने अडानमा छन् । वामपन्थी दलहरुले कसले माफी माग्ने भनेर झगडा गरिरहँदा लाभ भने निरन्तर कांग्रेसले उठाउँदै आएको छ ।

गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावबाट ३२९ पालिका प्रमुख जित्दै कांग्रेस पहिलो शक्ति बनेको छ । ०७४ मा २९४ सिट जितेर पहिलो शक्ति बनेको एमाले २०६ स्थानमा खुम्चिएको छ । १२१ सिट जितेको माओवादी केन्द्र र २० सिट जितेको एकीकृत समाजवादीका नेताहरु एमाले हराउनुलाई सफलता सम्झिरहेका छन् ।

कम्युनिष्ट विभाजनको लाभ भने गएको वर्ष (२०७८ जेठ) बाटै कांग्रेसले उठाउन थालेको हो । नेकपा विभाजनकै कारण रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट कांग्रेस उम्मेदवार दृगनारायण पाण्डेले जितेका थिए । त्यसपछि कांग्रेसको जित रोकिएको छैन ।

दोस्रोपटक प्रतिनिधिसभा विघटनको निर्णयले २९ असार २०७८ मा देउवा प्रधानमन्त्री बने । जबकी ०७४ को चुनावमा कांग्रेसले २५ प्रतिशत (६३ सांसद पनि जित्न नसक्दा नेकपालाई भने झण्डै दुई तिहाइ बहुमत प्राप्त भएको थियो । तर कम्युनिष्ट फुटको लाभ उठाउँदै देउवा पाँचौं पटक प्रधानमन्त्री बने । अब पनि सत्तारुढ गठबन्धनमा रहेका कम्युनिस्ट दलहरुको सहयोग लिएर कांग्रेसलाई पहिलो पार्टी बनाउने र सरकारको नेतृत्व गर्न चाहेका छन् ।

नेकपा विभाजनको असर कतिसम्म देखियो भने ४० सदस्यीय कर्णाली प्रदेशसभामा ६ जना मात्रै सांसद रहेको कांग्रेसले सरकार चलाइरहेको छ । माओवादी र एकीकृत समाजवादीको समर्थन पाएर कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बनेका छन् । सबभन्दा ठूलो दल एमाले विपक्षमा छ ।

गण्डकी प्रदेशमा पनि कम्युनिष्ट फुटकै कारण कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन् । बाँकी प्रदेश सरकारमा पनि कांग्रेस सहभागी छ ।

फेरिएको राजनीतिक समीकरणकै कारण स्थानीय, प्रदेश र संघको नेतृत्व गर्न पुगेको कांग्रेसले राष्ट्रियसभामा पनि आकार बढाइरहेको छ । कुनैबेला ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेससँग ६ सांसद मात्रै थिए भने नेकपासँग ५० सांसद थिए । अहिले कांग्रेसको सिट संख्या १० पुगेको छ । ‘देशको भविष्य सुनिश्चित गर्न सक्दैन भनेको कांग्रेसले सत्तामा कब्जा जमाइरहँदा कम्युनिष्टहरु भने कसले माफी माग्ने भन्नेमा अल्मलिरहनु राम्रो होइन । कम्युनिष्ट आन्दोलन र देशबारे चिन्तित हुनुपर्छ’, एमाले उपमहासचिव गुरुङ भन्छन् ।

माओवादी नेता गजुरेल भने भविष्य उन्मुख भएर अग्रगामी एजेण्डाका आधारमा वाम गठबन्धन बनाउनुपर्ने बताउँछन् । तर केपी ओली, प्रचण्ड र माधव नेपाल अझैपनि एकअर्कालाई नेकपा विभाजनको दोषी प्रमाणित गर्नमै जोड दिइरहेका छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?