+
+
Shares
अमेरिका सपना :

४५ लाख असुलेपछि ९ देश घुमाएर लाओसमा अलपत्र, साढे ७ महिनापछि नेपाल फिर्ता

नेपाल फर्किएपछि ती युवतीले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिइन् । जाहेरीको आधारमा ब्युरोले दाङको घोराही उपमहानगरपालिका–१२ घर भएका २९ वर्षीय सविन भनिने सौजन्य खनाललाई पक्राउ गर्‍यो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ कात्तिक १८ गते २१:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव तस्कर समूहले ३२ वर्षीया युवतीलाई अमेरिका पठाउने भन्दै ४५ लाख रुपैयाँ असुलेर लाओसमा अलपत्र पारेको पाइएको छ।
  • मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ भने अर्का व्यक्ति फरार छन्।
  • युवतीलाई मुम्बई, गाम्बिया, दुबई, सेनेगल हुँदै लाओस पुर्‍याएर अलपत्र पारिएको र उनी आफैंले खर्च जुटाएर नेपाल फर्किएकी छिन्।

१८ कात्तिक, काठमाडौं । मानव तस्करको समूहले एकजना युवतीलाई अमेरिका पठाउने भन्दै ४५ लाख असुलेर लाओस पुर्‍याइ अलपत्र छाडेको पाइएको छ ।

रुकुम घर भएकी ३२ वर्षीय सपना (नाम परिवर्तन) लाई मानव तस्कर गिरोहले अमेरिका पठाउने भन्दै ९ महिनासम्म ९ वटा देश घुमाएर लाओसमा अलपत्र पारेको हो ।

ती युवतीले फर्केर नेपाल आएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएकी थिइन् । युवतीको जाहेरीको आधारमा मानव बेचबिखन ब्युरोले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१२ घर भएका २९ वर्षीय सविन भनिने सौजन्य खनाल छन् ।

उनलाई ललितपुरको ग्वार्कोबाट सोमबार पक्राउ गरिएको ब्युरोका प्रमुख तथा एसएसपी कृष्ण पंगेनीले जानकारी दिए । ‘हामीले हिजो पक्राउ गरी अनुसन्धान अघि बढाएका छौं । यो प्रकरणमा अर्का एक जना फरार छन् । कानुनबमोजिम कारबाही गर्छौं,’ एसएसपी पंगेनीले अनलाइनखबरसँग भने ।

पक्राउ परेका खनालविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यही प्रकरणमा फरार हुने अर्का व्यक्ति घोराही–१८ कै ४२ वर्षीय धर्मबहादुर ज्ञवाली हुन् । उनीहरू दुई जना मिलेर सपनालाई अमेरिका पठाउने भन्दै लाओस पुर्‍याएर अपलत्र पारेका हुन् ।

रेष्टुरेन्टको भेटबाट सुरु भयो तस्करीको योजना

रुकुमकी सपना गाउँका अन्य व्यक्तिहरू अमेरिका गएको देखेर जसरी भए पनि अमेरिका जाने सोचमा थिइन् । अमेरिकाको सपना देखेकी उनी खनाल र ज्ञवालीको सम्पर्कमा पुगिन् ।

पीडित युवतीका अनुसार उनको पहिलो पटक ६ वैशाख २०८१ मा घोराहीस्थित तुल्सीपुर चोकमा रहेको दाजुभाइ रेष्टुरेन्टमा दिउँसो ३ बजे खनालसँग भयो । अरू थुप्रै व्यक्तिलाई आफूले अमेरिका पठाएको भन्दै खनालले सपनालाई विश्वास दिलाए । उनले पनि पत्याइन् ।

अमेरिकामा मासिक ५/६ लाख रुपैयाँसम्म कमाइ हुने बताइयो । लागत तोकियो ७० लाख । उनलाई जसरी पनि अमेरिका पुग्नु थियो । ७० लाखमा अमेरिका जान उनी तयार भइन् । ‘गाउँतिरका अरू थुप्रै मान्छे अमेरिका गएका थिए । मैले पनि विश्वास गरेर रकम बुझाएँ । त्यसपछि विदेश लगेर अलपत्र पारियो,’ पीडित युवतीले अनलाइनखबरसँग भनिन् ।

भेट भएकै दिन टोकन मनी भन्दै नगद २ लाख रुपैयाँ उनीहरूले असुलेका थिए । रकम बुझाएको एक महिनामै अमेरिका पठाउने आश्वासन देखाएपछि रकम दिन सुरु गरेको पीडित युवतीको भनाइ छ ।

काठमाडौंबाट मुम्बई हुँदै लाओस पुर्‍याएर अलपत्र

भेट भएको तीन महिनापछि १५ साउन २०८१ मा सपनालाई अमेरिका पठाउने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई लगियो । त्यसै दिन अर्थात् ३० जुलाई २०२४ मा मुम्बईबाट अफ्रिकी मुलुक गाम्बिया पुर्‍याइयो ।

तस्करको समूहले गाम्बियामा तीन महिनासम्म सपनालाई राख्यो । तीन महिना गाम्बिया बसेपछि ११ सेप्टेम्बर २०२४ मा दुबई हुँदै अमेरिका पठाउने भनेर दुबई लगियो । दुबईमा दुई महिनासम्म राखियो ।

२१ नोभेम्बर २०२४ मा दुबईबाट फेरि अर्को अफ्रिकी देश सेनेगल लगियो । सेनेगलको डकार भन्ने ठाउँमा सपनालाई राखियो । बीच–बीचमा मानव तस्करको समूहले उनीबाट पैसा पनि असुल्दै गयो । यो रुटबाट जान नसकिने भन्दै फेरि ४५ दिनपछि पहिलेकै ठाउँ गाम्बिया लगियो ।

गाम्बियामा ४५ दिनसम्म राखेको सपना बताउँछिन् । त्यसपछि भने उनलाई फेरि मुम्बई ल्याइयो । अमेरिका जान भनेर हिँडेकी उनी फेरि छिमेकी देश भारत आइपुगिन् । त्यसपछि भने उनलाई कता–कता ठगिएछ भन्ने महसुस भइसकेको थियो ।

तर, खनाल र ज्ञवालीले उनलाईं विश्वास दिलाउन भने छाडेनन् । जसरी भए पनि अमेरिका पठाउने बताउँदै ढुक्क भएर बस्न आग्रह गरिरहे । ४५ लाख खर्च लागिसकेकाले आफूले पनि यसको विकल्प नदेखको भन्दै उनी आश्वस्त हुन खोजिन् ।

एक महिना मुम्बई राखेपछि अब अर्को रुटबाट अमेरिका लैजाने भन्दै ३ मार्च २०२५ मा लाओस लगियो । लाओसमा २ महिना राखेपछि भने खनाल र ज्ञवाली सम्पर्कविहीन भए । अब कता जाने, के गर्ने सपनालाई केही अत्तोपत्ता भएन । त्यसपछि उनले नेपाल फर्कने निर्णय गरिन् । आफैंले खर्च जुटाएर उनी लाओसबाट थाइल्यान्डको बैंकक आइन् ।

दुई दिन बैंकक बसेपछि उनी १६ मार्च २०२५ मा काठमाडौं फर्किइन् । तस्करको समूहले फोन जफत गर्ने, कयौं ठाउँहरूमा पैदल हिँडाउने, खान-बस्ने समेत व्यवस्था नगरिदिने, खुला अकाशमा सुत्नुपर्ने अवस्था समेत रहेको उनको भनाइ छ ।

बाटोमा पुर्‍याएपछि रकम असुली

सुरुमा अमेरिका जाने बेलामा २ लाख मात्रै बुझाए पुग्ने बताएपछि अमेरिका हिँडेकी सपनालाई बीच बाटोमा पुर्‍याएर रकम असुल्न थालेको पाइएको छ । सुरुमा उनले नगद २ लाख बुझाएकी थिइन् ।

त्यसपछि भने खनालको ज्योति विकास बैंकको खाता र ज्ञवालीको मुक्तिनाथ विकास बैंकको खातामा रकम हालेको विवरणसमेत उनले ब्युरोमा बुझाएकी छिन् ।

विवरणअनुसार अमेरिका लैजाने भनेर काठमाडौंबाट हिँडाएपछि रकम असुल्न थालेको देखिएको छ । १८ जुलाइ २०२४ मा १ लाख ८५ हजार, २३ जुन २०२४ मा २ लाख, ३० अगस्टमा २ लाख, २८ अगस्टमा १ लाख ३, सेप्टेम्बरमा १ लाख रकम हाल्न लगाएको देखिन्छ ।

११ अगस्टमा ५ लाख, ७ अगष्टमा ८ लाख ६१ हजार, ९ जुनमा २ लाख, २४ मे मा १ लाख ५० हजार रकम हालेको देखिन्छ ।

२५ जनवरी २०२५ मा ५ लाख ७५ हजार, १६ अप्रिल २०२५ मा १० हजार, ३ अप्रिलमा १ लाख, १४ अप्रिलमा १७ हजार ४००, २ मार्च २०२५ मा ५० हजार रकम जम्मा गर्न लगाएको भेटिएको छ ।

बीच बाटोमा पुर्‍याएपछि रकम नदिए अलपत्र छाड्ने धम्की दिँदा परिवारका सदस्यले रकम हाल्ने भएकाले तस्करहरूले यस्तो तरिका अपनाउने अनुसन्धान अधिकृतहरू बताउँछन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?