+
+

‘टेष्ट होइन ओडीआईको भविष्य संकटमा छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते ११:३५

३ साउन, काठमाडौं । इंग्लिस अलराउण्डर बेन स्टोक्सले ३१ वर्षको उमेरमै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटबाट सन्यास लिने घोषणा गरेपछि अहिले यो फर्म्याटको क्रिकेटको भविष्यबारे बहस सुरु भएको छ ।

यसै सन्दर्भमा भारतका पूर्व स्पीनर प्रज्ञान ओझाले टेष्ट क्रिकेट नभएर ओडीआई क्रिकेटको भविष्य अनिश्चित भएको प्रतिक्रिया दिए । स्टोक्सले दक्षिण अफ्रिका विरुद्धको पहिलो ओडीआई खेल नै आफ्नो अन्तिम ओडीआई हुने बताइसकेका छन् ।

इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको श्रृङ्खला मंगलबारदेखि सुरु हुँदैछ । ‘हामी टेष्ट क्रिकेटको भविष्यको बारेमा चिन्तित छौँ तर ओडीआईको भविष्य अनिश्चित देखिएको छ । भविष्यमा हामी क्रिकेट खेलाडीहरु यस फर्म्याटबाट पर गएको देख्नेछौँ, अब केही सोच्नुपर्छ’, ओझाले ट्वीटरमा लेखेका छन् ।

सन् २०१९ को एकदिवसीय विश्वकप फाइनलमा स्टोक्सले उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । लर्ड्समा भएको न्युजिल्याण्ड विरुद्धको फाइनलमा स्टोकसले  अविजित ८४ रन बनाएपछि इंग्ल्याण्डले खेल सुपर ओभरमा पुर्‍याएको थियो ।

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) का अनुसार स्टोक्सले १०४ ओडीआई खेल खेलेका छन् र डर्हामस्थित होम ग्राउण्ड चेस्टर ले स्ट्रिटमा यो फर्म्याटको अन्तिम खेल खेल्दैछन् ।

स्टोक्सले सन् २०११ मा आयरल्याण्ड विरुद्ध ओडीआईमा डेब्यु गरेका थिए । उनले ओडीआईमा तीन शतकसहित दुई हजार ९१९ रन बनाएका छन् भने ७४ विकेट लिएका छन् । ‘तीन फर्म्याट मेरो लागि अब असम्भव जस्तै छ’ स्टोक्सले सन्यास घोषणा गर्दै भनेका छन् ।

उनले व्यस्त खेल तालिकाले गर्दा आफ्नो शरीरले साथ नदिने मात्र नभएर अर्को खेलाडीका लागि पनि अवसर दिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?