+
+

प्राधिकरण र केयूकेएललाई बालेनको प्रश्न : भत्केको सडक कहिले बन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १७:३७

३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बिजुलीको तार भूमिगत गर्न र खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको सडकको संरचना कहिलेसम्म बन्छ भनेर सरोकारवालासँग प्रश्न गरेका छन् ।

मंगलबारको पूर्वाधार विकास समन्वय बैठकमा मेयर साहले नेपाल विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अधिकारीहरूसँग यस्तो प्रश्न गरेका हुन् ।

मेयर साहले रानीबारी, बालुवाटार, विशालनगर, धुम्बाराही, हाँडीगाउँ, माली गाउँ, कालो पुल, नयाँ बसपार्क लगायत क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि अलपत्र अवस्थामा छोडिएको सडक बनाउने कामबारे प्राधिकरणका अधिकारीहरुसँग प्रश्न गरेका हुन् । बिजुलीको तार भूमिगत गरिएपछि पैदल मार्गमा समेत क्षति पुगेको भन्दै उनले महानगरले गर्नुपर्ने काम भने तदारुकताका साथ गरिने बताए ।

बैठकमा मेयर साहले खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको वडा नम्बर १३, १४, १५ र २६ का सडक कहिलेसम्म कालोपत्रे हुन्छ भन्नेबारे केयूकेएलका अधिकारीहरुसँग पनि प्रश्न गरेका छन् । खानेपानीको पाइप बिच्छ्याउनका लागि सहमति भएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछ भन्ने बारे पनि उनले जानकारी लिएका थिए ।

सेवा प्रदायक (सार्वजनिक सेवा क्षेत्रका कर्मचारीहरु) तथा लाभग्राही (सेवा लिने व्यक्तिहरु) को व्यवहारमा परिवर्तन ल्याउन सके ठूलो परिवर्तन आउन सक्ने उनको भनाइ थियो । फ्लाइ ओभर ब्रिज, अण्डर पासजस्ता भौतिक संरचना भोलिका लागि आवश्यक रहेको भन्दै उनले आजका लागि भएको अवस्थालाई सुधार गर्न व्यवहार परिवर्तनको खाँचो रहेको उनले बताए ।

मेयर साहले भने, ‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गरौं । त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ ।’

उपप्रमुख सुनिता डंगोलले सहरी विकासका काममा अन्यौल होइन समन्वय होस् भन्ने उद्देश्यले बैठक आयोजना गरिएको जानकारी दिइन् । महानगरले आफ्नो दायित्वमा नपर्ने विषयमा सेवाग्राहीका अपेक्षा सुन्नुपरेको भन्दै उनले कुन काम कसको क्षेत्राधिकारभित्र पर्छ भन्नेबारे स्पष्ट हुँदै गएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?