
३ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड र भारतीय पूँजी बजारको नियामक निकाय सेक्युरिटी एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी) का पदाधिकारीबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेको बोर्डका अध्यक्ष रमेश हमालसहितको टोलीले सेबीकी अध्यक्ष माधवी पुरी बुचसँग भेटवार्ता गरेको हो ।
भेटवार्ताको क्रममा नेपालको पूँजी बजार विकासका लागि भारतीय पूँजी बजारको राम्रो अभ्यासहरु संस्थागत क्षमता अभिवृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाइन सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिवृद्धिका लागि गर्नुपर्ने कार्यमा आपसी सहयोग गर्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।
भ्रमणको क्रममा टोलीले भारतीय बजारको नियमन व्यवस्था, कानुनी व्यवस्था, नियमाकीय प्रविधिको विकास साथै नियमन निकायले बजारको विश्वसनीयता अभिवृद्धि गर्न खेल्नु पर्ने भूमिका लगायतका बारेमा अध्ययन गरेको थियो ।
भ्रमणबाट दुई देशका नियामक निकायबीच दीर्घकालीन समन्वय तथा सम्बन्ध स्थापित भई नेपालको धितोपत्र बजारमा आधुनिक सूचना प्रविधिको विकास तथा विस्तार भई बजारको उचित विकास र सन्तुलनमा सघाउ पुग्ने अपेक्षा गरिएको बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
बोर्डका पदाधिकारीहरुले सेबी लगायत बम्बई स्टक एक्सचेञ्ज(बीएसई), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केटस (एनआईएसएम) र मल्टि कमोडिटी एक्सचेज अफ इन्डिया (एमसीएक्स) का उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल गरेका थिए ।
प्रतिक्रिया 4