+
+

नारायणी किनारका बासिन्दाका पीडा : राति निद्रा नै लाग्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १३:१२

५ साउन, नवलपुर । बर्खा लागेसँगै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–३ नन्दपुरका जितबहादुर महतोको निद्रा हराउन थालेको छ ।

कतिबेला नारायणी बढेर आउँछ र आफूहरुको उठीबास लाग्ने हो भन्ने चिन्ताले उनीसँगै गाउँका धेरैजसो वासिन्दा रातमा समेत निदाउन सकेका छैनन् । ‘हिउँदभरि त हामीलाई खासै दुःख हुँदैन’, उनी भन्छन्, ‘बर्खा सुरु हुन्छ अनि हाम्रो पीडाका दिनहरु सुरू हुन्छन् ।’

नवलपुर हुँदै बग्ने गरेको नारायणी नदी तथा यहाँ खहरे खोलाबाट बर्सेनि स्थानीय वासिन्दा पीडित हुने गरेका छन् ।

 हरेक वर्ष बाढी र पहिराका कारण यहाँका नदी तथा खोलाले वितण्डा नै मच्चाउने गर्छन् ।

 मनसुन सुरु भएदेखि मनसुन नसकिने बेलासम्म आफूहरु ढुक्कसँग निदाउनसमेत नसक्ने गरेको गैँडाकोट–२ का जीवन बोटे बताउँछन् ।

‘बेलुका सुत्दा त ठीकै सुतेका हुन्छौँ तर, रातिमा नदी बढेर घरभित्रै आयो कि भन्ने पीडाले निन्द्रा नै लाग्दैन’, बोटेले भने, ‘राति उठ्दा खाटमुनि पानी पसेको पो छ कि, कतै घर पो डुब्यो कि भन्ने पीडाले सताउने गरेको छ ।’

नवलपुर तथा चितवनमा पानी पर्दाभन्दा पनि पहाडतिर पानी परेको सुन्दा र आकाशमा कालो बादल मडारिँदा आफूहरुको मनमासमेत पीडाका भावहरु मडारिने गरेको बोटे बताउँछन् । नारायणी नदीको दीर्घकालीन व्यवस्थापन गर्नका लागि राज्यका तीनवटै तहका सरकारले काम गर्नुपर्ने बाटेको भनाइ छ ।

मनसुनका कारण नवलपुरमा सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यबिन्दु, गैँडाकोट, देवचुली र कावासोती नगरपालिका हुन् । त्यस्तै विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढी र पहिराको उच्च जोखिममा छन् । बाढी र पहिराका कारण यहाँ बर्सेनि ठूलो धनजनतको क्षति हुने गरेको छ ।

जिल्लामा मनसुनजन्य प्रकोपबाट करिब ८० हजार परिवार प्रभावित हुने प्रक्षेपण गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

स्थानीय प्रशासनले विपद्जन्य जोखिम न्यूनीकरण तथा राहत र उद्धारका लागि पूर्वतयारीका सबै काम गरेको घिमिरेको भनाइ छ ।

पहिरा, बाढी, डुबान तथा कटानमा परेका नागरिकको उद्धार र राहतको लागि पूर्वतयारीका काम गरेको उनले बताए ।

बाढी पहिरा प्रभावित घरपरिवारको विवरण सङ्कलन गर्ने तथा उनीहरुको व्यवस्थापनमा के कस्ता काम गर्नुपर्छ भन्नेबारेमा पूर्वतयारीका सबै काम गरिएको प्रजिअ घिमिरेले बताए । ‘नदीलाई मूल प्रवाहमा बगाउने, खोलानाला थुनिएको ठाउँमा सफा गर्ने, कटानको जोखिम भएको ठाउँमा तारजाली लगाउने कामहरु गरेका छौँ’, प्रजिअ घिमिरेले भने, ‘विपद् व्यवस्थापनका लागि सबै पालिकासँग समन्वय गरिएको छ, पूर्वसूचना प्रवाह प्रणालीसमेत सञ्चालनमा ल्याएका छौँ ।’

विपद् व्यवस्थापनका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय, रेडक्रस तथा विषयगत सङ्घसंस्थालाई तालिमसहित तयारी अवस्थामा राखिएको घिमिरेले बताए ।

नदी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा दीर्घकालीन काम भने भएको छैन ।

गाउँ डुबानमा परेपछि उद्धारका लागि सुरक्षाकर्मी पठाउनुभन्दा नदी नियन्त्रणका लागि ठोस काम गर्नुपर्ने जिल्लावासीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?