+
+

६ वर्षको बाँकी कैद भुक्तानीका लागि इरानी फिल्म निर्देशक कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १५:४०

काठमाडौं । अन्तर्राष्ट्रिय फिल्म निर्देशक जफर पनाहीलाई बाँकी कैद भुक्तानीका लागि कारागार चलाना गरिएको छ । इरानको एक अदालतले सन् २०१० मा ६ वर्षको जेल सजाय सुनाएको थियो । तर उनी दुई महिना जेलमा बसेपछि सर्तसहित रिहा भएका थिए । देश छाड्न पनि नपाउने र फिल्म पनि बनाउन नपाउने सर्तमा उनलाई छाडिएको थियो ।

इरानमा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका पनाहीलाई इरान सरकारले तारो बनाउँदै आएको छ । अदालतका प्रवक्ता मसुद सेतायसीले अलजजिरालाई बताएअनुसार जुलाई ११ मा पुनः पक्राउ परेका पनाहीले अब बाँकी समयको कैद भुक्तान गर्नुपर्नेछ ।

आफू पक्राउ पर्नु एक दिनअघि समातिएका दुई फिल्म निर्मातालाई रिहा गर्नुपर्ने माग गरिरहेका उनी पक्राउ परेका हुन् । गत मे महिनामा सरकारविरुद्ध सामाजिक सञ्जालमार्फत आलोचना गरेका दुई फिल्ममेकर मोहम्मद रसुल्फ र मुस्तफा अल–अहमद समातिएका थिए । यी दुई निर्देशकले ‘पुट योर गन्स डाउन’ ह्यासट्याग प्रयोग गर्दै सरकारी भ्रष्टाचारको आलोचना गरेका थिए ।

पनाहीलाई मान्छे भेला गरेर उक्साएवापत पाँच वर्ष र सरकारविरुद्ध प्रपोगान्डा चलाएको अभियोगमा एक वर्ष गरी ६ वर्ष जेल सजाय तोकिएको छ । तर उनले पक्राउ परेका अन्य फिल्ममेकरबारे बोलेनन् ।

पनाहीले सन् २०१८ मा ‘देयर इज नो एभिल’बाट कान्स फिल्म फेस्टिभल र सन् २०१५ मा फिल्म ‘ट्याक्सी’बाट गोल्डेन बियर अवार्ड जितेका थिए ।

मुलुक छाड्न र व्यावसायिक गतिविधि गर्न रोक लगाइए पनि उनले फिल्म निर्माणलाई भने निरन्तरता दिएका छन् । पनाहीको पक्राउको विरोधमा विश्वका चर्चित फिल्म फेस्टिभल बर्लिन, कान्स, भेनिस र लोकार्नोले आपत्ति व्यक्त गरेका छन् ।

गत साता फ्रान्सको विदेश मन्त्रालयले पनि इरानमा कलाकारको स्थिति नाजुक रहेको भन्दै विरोध व्यक्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?