+
+

एक वर्षमा उद्योगमा ३ खर्ब ४३ अर्बको लगानी प्रतिबद्धता

विदेशी लगानी प्रतिबद्धता ५४ अर्ब १५ करोड

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन ८ गते २०:१५

८ साउन, काठमाडौं । एक वर्षमा मुलुकभर ३०९ वटा उद्योगहरु दर्ता भएका छन् । उद्योग विभागकाअनुसार यी उद्योगमा कुल ३ खर्ब ४३ अर्ब लगानी गर्ने उद्योगीहरुले प्रतिबद्धता जनाएका छन् । जसमध्ये ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी रहेको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । यससँगै मुलुकभर दर्ता भएका उद्योगको कुल संख्या ८ हजार ७६४ पुगेको पनि विभागले जनाएको छ ।

‘आव ०७८/७९ मा २९५ वटा विदेशी उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता स्वीकृत गराएका छन्,’ महानिर्देशक तिवारीले भने, ‘दर्ता भएका मध्ये ९१ वटा उद्योग ठूला, १०८ वटा उद्योग मझौला र ११० वटा उद्योग साना छन् ।’

अघिल्लो आव २०७७/७८ मा कुल २०३ उद्योग विभागमा दर्ता भएका थिए । जसमा ४२ वटा ठूला, ४९ वटा मझौला र ११२ वटा साना उद्योग थिए ।

कोभिड–१९ महामारीका कारण अवरुद्ध भएको लगानीको महोल फर्किएको संकेत यस वर्षको तथ्यांकले देखाएको विभागकी सूचना अधिकारी पूर्णिमा उपाध्याय बताउँछिन् ।

‘आव ०७७/७८ को तुलनामा उद्योग दर्ता र लगानी प्रतिद्धता झण्डै दोब्बरले बढेको छ,’ निर्देशक उपाध्याय भन्छिन्, ‘मुलुकमा लगानी आकर्षित हुनुमा औद्योगिक वातावरणमा भएको सुधार पनि मुख्य कारण हो ।’

नेपालमा लगानी गर्न कोभिड-१९ महामारीको त्रास हटेको र लगानी भित्र्याउने मुलुकहरुमा पनि कोभिड समस्या हट्दा थप लगानीको माहोल बनेको उनको दाबी छ ।

वैदेशिक लगानी कुन क्षेत्रमा कति ?

चालु आवमा सबै भन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा देखिएको विभागले जनाएको छ ।
कुल २९५ मध्ये पर्यटनमा १२६ वटा परियोजनाका लागि १९ अर्ब ५५ करोड लगानी प्रतिबद्धता भएको छ । दोस्रो धेरै विदेशी लगानी प्रतिबद्धता सेवा क्षेत्रमा छन् ।

गत आवमा यस क्षेत्रमा ९९ वटा उद्योगका लागि २३ अर्ब ८४ करोड लगानी प्रस्ताव गरिएको छ । उत्पादन क्षेत्रमा ५१ वटा परियोजनाका लागि ७ अर्ब ९१ करोड र र पूर्वाधार क्षेत्रमा क्षेत्रमा ८ वटा परियोजनाका १ अर्ब ७२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

यस्तै उर्जा क्षेत्रमा एक, सूचना प्रविधिमा ६ र कृषि तथा वनसँग सम्बन्धित ४ परियोजनमा लगानी प्रतिबद्धता आएको छ । यी उद्योगले १६ हजार ७४३ जनालाई रोजगारी प्रदान गर्ने विभागले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?