+
+

पाइलट अध्ययनका लागि नेपालमै स्कुल खोल्ने तयारी

अच्युत पुरी अच्युत पुरी
२०७९ साउन ८ गते १६:५४
तस्वीर सौजन्य : बुद्ध एयर

८ साउन, काठमाडौं । नेपालबाट विमान चालक र अन्य जनशक्ति बन्न आवश्यक अध्ययनका लागि अहिले विदेश जानु पर्ने बाध्यता छ । यस्तो बाध्यतालाई न्यूनीकरण गर्न सरकारले नेपालमै ‘फ्लाइङ स्कुल’ खोल्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको छ । जसमा आगामी ६ महिना भित्र फ्लाइङ स्कुल सञ्चालनको प्रक्रिया अगाडि बढाउने घोषणा गरिएको छ ।

मन्त्रालयकाअनुसार नेपालको पर्यटन क्षेत्रमा चाहिने आवश्यक जनशक्ति उतपादन गर्न अन्तर्राष्ट्रिय स्तरको ‘फ्लाइङ स्कुल’ खोलिने छ । कार्ययोजनामा सरकारले अन्तर प्रादेशिक हवाई सेवा विस्तार गर्ने र प्रमुख स्रोत बजारबाट हवाई उडान सञ्चालन गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग समन्वय गर्ने कार्यक्रम समेत सरकारले सञ्चालन गर्ने घोषणा गरेको छ ।

अहिले नेपालमा दुई दर्जन हाराहारी साना विमानस्थलहरु प्रयोगमा छैनन् । यी विमानस्थलहरुलाई वैकल्पिक प्रयोगमा ल्याउने घोषणा गरेको सरकारले यसमध्ये केही विमानस्थलमा फ्लाइङ तालिम समेत गर्न सकिने सम्भावना रहेको बारे लामो समयदेखि बताउँदै आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको पुनरुत्थान गर्न कार्ययोजना महत्वपूर्ण सावित हुने बताए ।

गौतमबुद्ध र पोखरामा ट्रान्जिट कार्गो उडान गर्न कानुनी व्यवस्था गरिने

सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्यान्डिङ, पार्किङ र नेभिगेसनको सेवा शुल्कमा शतप्रतिशत छुटको घोषणा गरेको छ । यसलाई निरन्तरता दिने मन्त्रालयले बताएको छ ।

यी विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङ चार्जमा छुट दिने र चार्टर्ड उडानलाई प्रोत्साहन गर्ने सरकारको भनाइ छ । यी दुई विमानस्थलमा ट्रान्जिट कार्गो उडानका लागि कानुनी प्रक्रिया अगाडि बढाउने समेत मन्त्रालयको घोषणामा उल्लेख छ । यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय प्रचार प्रसारका लागि पर्यटनसँग सम्बन्धित संघ, संस्था, राष्ट्रिय वायुसेवा कम्पनी सञ्चालक र विदेशस्थित कुटनीतिक नियोगसँग मिलेर प्रवर्द्धनात्मक कार्यक्रम चलाउने मन्त्रालयले बताएको छ ।

त्रिभुवन विमानस्थलबाट विद्युतीय सटल बस चल्ने

पर्यटन मन्त्रालयले आगामी तीन महिना भित्र त्रिभुवन विमानस्थलबाट काठमाडौं उपत्यका भित्र विद्युतीय सटल बस चलाउने घोषणा समेत गरेको छ । अहिले साझा बसले विभिन्न रुटबाट त्रिभुवन विमानस्थललाई जोडिरहेको छ ।

दुर्गममा उडाउने जहाज किन्दा कर छुट

वायुसेवा कम्पनीहरु अहिले सुगम क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् । दुर्गममा आकर्षण नहुँदा यात्रुले माग अनुसारको सेवा पाएका छैनन् । यसलाई आगामी तीन महिना भित्र सरकारले आकर्षक प्याकेजले सम्बोधन गर्ने तयारी गरेको छ । जसमा दुर्गम क्षेत्रमा हवाई सेवा विस्तार गर्ने उद्देश्यले खरिद गर्ने हवाई सेवा कम्पनीलाई निश्चित समयका लागि कर छुटसहितका सुविधा दिने समेत मन्त्रालयको भनाइ छ ।

यस अवधिभित्र दुर्गम हवाई सेवा विकास कोष कार्यान्वयनमा ल्याउने घोषणा मन्त्रालयले गरेको छ । यस्तो कोष कार्यान्वयनमा आएपछि सुगममा मात्र उडाउने कम्पनीले कोषमा केही रकम योगदान गर्नुपर्छ । जसलाई दुर्गगमा सेवा बिस्तार गन उपयोग गरिने छ ।

धेरै विदेशी यात्रु ल्याउने वायुसेवा कम्पनी, ट्राभल एजेन्सीलाई छुट र राहत

सरकारले धेरै विदेशी यात्रु नेपालमा ल्याउने वायुसेवा कम्पनी र ट्राभल एजेन्सी तथा संघसंस्थालाई समेत कर छुट तथा राहतको प्याकेज ल्याउने भएको छ । यस्तो काम निरन्तर गरिने मन्त्रालयको भनाइ छ । यस प्याकेजमा निरन्तर नेपालमा आइरहने पर्यटकलाई समेत छनोट गरी छुट, राहत तथा सम्मान गरिने भएको छ ।

विमानस्थलमा रहेको नेपाल पर्यटन बोर्डको सूचना कक्षमा धेरै पर्यटक आउने प्रमुख मुलुकका नागरिकले बोल्ने भाषाका सहयोगी र डिजिटल सूचना बोर्ड राख्ने मन्त्रालयको योजना छ ।

विमानस्थलहरुको सौन्दर्यीकरण, स्तरोन्नती र सेवालाई प्रभावकारी बनाउने काम १ महिना भित्र सुरु गरी निरन्तरता दिइने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?