+
+

वैदेशिक व्यापार २१ खर्ब २० अर्ब, बजेटकै हाराहारी व्यापार घाटा

अच्युत पुरी अच्युत पुरी
२०७९ साउन ९ गते १६:३०
चोभारस्थित सुख्खा बन्दरगाह ।

९ साउन, काठमाडौं । नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान राखेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वाषिर्क तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको छ । यो गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा २६.१५ प्रतिशत धेरै हो । सो आवमा वैदेशिक व्यापारको आकार १६ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बराबरको भएको थियो ।

वैदेशिक व्यापारमा ९.४३ प्रतिशत निर्यातको हिस्सा रहँदा आयातको हिस्सा ९०.५७ प्रतिशत रहेको छ । फलस्वरुप व्यापार घाटा समेत उच्च रहेको छ ।

बजेटकै हाराहारी व्यापार घाटा

तथ्यांक अनुसार नेपालले आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । २ खर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ । यसले व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ बराबरको भएको छ । यो नेपालको वाषिर्क बजेटकै हाराहारी हो ।

चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब रुपैयाँको व्यापार घाटा थियो । सो आवमा आयात १५ खर्ब ३९ अर्बको हुँदा निर्यात १ खर्ब ४१ अर्ब रुपैयाँको भएको थियो ।

निर्यात व्यापारमा नयाँ कीर्तिमान

नेपालले यस वर्ष निर्यातमा नयाँ कीर्तिमान राखेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरी कीर्तिमान राखेको नेपालले आर्थिक वर्ष २०७८/७९ मा भने ४१.७४ प्रतिशत बढी निर्यात गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । यस वर्ष निर्यात २ खर्ब ३ करोड रुपैयाँको निर्यात भएको छ । यसले व्यापारको हिस्सामध्ये निर्यातको ‘भ्यालू’ १२.३६ प्रतिशतले वृद्धि भएको छ । तर, आयातमा समेत गत आवको तुलनामा २४.७२ प्रतिशतको वृद्धि हुँदा व्यापार घाटामा सुधार हुन सकेन ।

यस आवमा नेपालले कुल १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । अघिल्लो आव २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

यस्तो रह्यो आर्थिक वर्ष २०७८/७९ को वैदेशिक व्यापार

· आयात : १९ खर्ब २० अर्ब ४४ करोड (२४.७२ प्रतिशत बढेको)
· निर्यात : २ खर्ब ३ करोड (४१.७४ प्रतिशत बढेको)
· व्यापार घाटा : १७ खर्ब २० अर्ब ४१ करोड (२३ प्रतिशत बढेको)
· कूल वैदेशिक व्यापार : २१ खर्ब २० अर्ब ४७ करोड (२६.१५ प्रतिशत बढेको)
· वैदेशिक व्यापारमा निर्यातको हिस्सा : ९.४३ प्रतिशत (१२.३६ प्रतिशत बढेको)
· वैदेशिक व्यापारमा आयातको हिस्सा : ९०.५७ प्रतिशत (१.१३ प्रतिशत घटेको)

पेट्रोलियम पदार्थ आयातमा ३ खर्ब ८३ अर्ब खर्च

आर्थिक वर्ष २०७८/७९ मा पेट्रोलियम पदार्थहरुको आयातमा मात्र पौने ४ खर्ब रुपैयाँ विदेशिएको छ । भन्सार विभागको तथ्यांक अनुसार ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । नेपालले सबैभन्दा ठूलो व्यापार घाटा समेत यसमै व्यहोर्छ ।

नेपालबाट सबैभन्दा बढी निर्यात भएको वनस्पति तेल हो । यस्तो वस्तुको निर्यात ९३ अर्ब ७४ करोड रुपैयाँको हुँदा आयात भने १ खर्ब २० अर्ब रुपैयाँ बराबरको भएको छ ।
एक वर्षको अवधिमा १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको आइरन तथा स्टील आयात हुँदा ३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । एक वर्षमा सवारी साधन र यसको पार्टपूर्जा आयातमा ९९ अर्ब ४२ करोड रुपैयाँ विदेशिएको छ ।

भारतबाट १२ खर्बको आयात, डेढ खर्बको निर्यात

नेपालको सबैभन्दा ठूलो व्यापार छिमेकी मुलुक भारतसँग रहेको छ । नेपालले भारतबाट १२ खर्ब १५ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यसमा पेट्रोलियम पदार्थको मुख्य हो ।

एक वर्षमा नेपालबाट भारतमा १ खर्ब ५५ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । यस अनुसार भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुकका रुपमा निरन्तर रहन सफल भएको छ ।

चीनबाट २ खर्ब ६४ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ८० करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ ।

अमेरिकाबाट ५० अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने १७ अर्ब ९९ करोड रुपैयाँको निर्यात भएको छ ।

२६ भन्सार विन्दुमध्ये वीरगञ्जबाट हुन्छ धेरै आयात-निर्यात

नेपालले एक वर्षको अवधिमा कूल २६ वटा भन्सार विन्दुबाट आयात-निर्यात गरेको छ । जसमा सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट भएको छ । कूल ७ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँको आयात यस नाकाबाट भएको छ । यो कूल वैदेशिक व्यापारको ३६.७८ प्रतिशत हो ।

निर्यात समेत यस नाकाबाट ८० अर्ब ४९ करोड रुपैयाँ बराबरको भएको छ । यो ४०.२४ प्रतिशत हिस्सा हो ।

विराटनगरबाट २ खर्ब १२ अर्बको वस्तु आयात हुँदा ५६ अर्ब ८८ करोडको निर्यात भएको छ ।

त्रिभुवन विमानस्थलबाट ३२ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा २ खर्ब १० अर्ब रुपैयाँको आयात भएको छ । चोभारस्थित सुख्खा बन्दरगाहबाट ९ करोड ८८ लाख रुपैयाँको सामान आयात हुँदा निर्यात शून्य रह्यो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?