+
+

एक वर्षमा ४१ अर्बको मोबाइल आयात, गत वर्षभन्दा ४ अर्ब बढी बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १५:५१

९ साउन, काठमाडौं । नेपालमा एक वर्षमा करिब ४१ अर्बको मोबाइल आयात भएको छ । एक वर्षको अवधिमा ४० अर्ब ८९ करोड ३६ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो ।

नेपालमा पछिल्लो समयमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति चुलिंदो छ । तर, उच्च दरमा माग बढेपछि सरकारले अहिले ३०० डलरभन्दा बढी मूल्यका स्मार्ट फोनको आयातमै रोक लगाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा ५७ लाख ६३ हजार वटा फोन नेपाल भित्रिएको छ । त्यसमध्ये १ लाख ७६ वटा सेट महँगा स्मार्ट फोन हुन् । २ अर्ब ८२ करोड मूल्यमा महँगा समार्ट फोन नेपाल भित्रएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । १२ महिनामा भन्सार विभागले मोबइल फोनबाट ६ अर्ब ५४ करोड भन्सार राजस्व पनि असुल गरेको छ ।

२०७७/७८ मा ३६ अर्ब ९० करोड मूल्यको ७० लाख ३० हजार मोबइउल सेट नेपालमा आयात भएको थियो ।

गत वर्षको समीक्षा अवधिमा मोबाइल सेटको संख्या १२ लाख ६७ हजारले घटेपनि अन्तर्राष्ट्रिय बजारमा आयातकर्ताले तिरेको मूल्य करिब ४ अर्ब रुपैयाँले बढेको विभागको तथ्यांकले देखाउँछ । गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएकाले पनि महँगा फोनको आयात बढेको हो । महँगा फोनको आयात बढ्दा समग्र संख्या घट्दा समेत फोन किनेबापत बाहिरिने विदेशी मुद्राको दर बढेको छ ।

नेपालमा कतिपय स्मार्ट फोन कम्पनीहरुलाई केही मोडलका सेटको माग धान्न हम्मे परिरहेको छ । महामारीपछि विद्युतीय चिप अभाव भएको असर मोबाइल बजारमा परेकाले उत्पादन प्रभावित हुँदै आएको छ ।

कोभिड–१९ महामारीपछि अनलाइनमा निर्भरता बढेको छ । राम्रोसँग चल्ने मोबाइल किन्नु बाध्यताजस्तै बनेको छ । त्यसका कारण माग बढ्दै जाँदा मध्यम रेन्जका फोन आपूर्ति असहज बनेको छ ।

नेपाल मोबाइल व्यवसायी संघ अध्यक्ष पुरुषोत्तम बस्नेतकाका अनुसार कोरोनाको महामारी सुरु भएपछि अडियो/भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायत गतिविधि गर्नसक्ने फोनको माग धेरै छ । विभिन्न पेशा–व्यवसाय गर्नेहरु इमेल गर्न, एसमएस पठाउन, पढ्न, वर्ड÷पावर प्वाइन्ट लगायत गर्न मिल्ने फोन खोजिरहेका छन् ।

ठूलो स्क्रिन भएको फोनमा पनि ग्राहकको रुची बढ्दो छ । ह्यांग नहुने र लामो समय नतात्ने फोन खोज्नेहरु धेरै छन् ।

अहिले मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने र मल्टिमिडया प्रयोग गर्नेहरु उत्तिकै छन् । राम्रो गुणस्तरको फोटो/भिडियो खिच्ने फोन किन्नुपर्ने आम मानसिकता बनेको छ । २० हजारदेखि ४० हजारसम्मका फोन किन्नेको संख्या अधिक छ । बार फोन बोक्नेहरु स्मार्ट फोनमा ‘अपग्रेड’ हुँदैछन् । नेपालमा ग्रामीण दूरसञ्चार सेवा बढ्दै गएकाले पनि यस्तो मोबाइलको प्रयोग बढेको छ ।

नेपाल टेलिकम र एनसेलले सेवा विस्तार गर्दै गुणस्तर पनि सुधार्दै लगेकाले मोबाइल बजारमा त्यसको प्रभाव देखिएको छ ।

विदेशबाट आउने रेमिट्यान्सको रकम ‘कनेक्टिभिटी’को साधनमा पनि खर्च गर्ने क्रम बढ्दो छ । ‘वाइफाइ’ इन्टरनेट चलाउनेहरुका लागि मोबाइल सहज साधन मानिन्छ । अहिले तारसहितको इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि आक्रमक रुपमा सेवा विस्तार गरेकाले पनि मोबाइल बजार बढाउन सघाउ पुगेको छ ।

अनलाइन कक्षा, भर्चुअल मिटिङ लगायतमा पुराना डिभाइसबाट काम नचल्ने भएपछि नयाँ किन्न पर्ने बाध्यता सिर्जना भएकाले मोबाइलको बजार चम्किन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?