+
+

मानव स्रोत विकास केन्द्रको नाम शिक्षा विभाग नै राखिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते २०:४९

९ साउन, काठमाडौं । सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम परिवर्तन गरी पुनः शिक्षा विभाग नै राख्ने तयारी गरेको छ । सरकारले केन्द्रको र शिक्षा विकास तथा समन्वय इकाइको पुरानै नाम राख्न मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम मात्रै परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लाने तयारी गरिरहेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता दिल्लीराम लुईंटेलका अनुसार केन्द्रले यी दुवै निकायको पुरानै नाम परिवर्तन गर्न प्रस्ताव शिक्षा मन्त्रालयमा राखेको बताए । तर मन्त्रालयले शिक्षा विभागको नाम मात्रै पुरानै राख्न मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने तयारी गरेको छ ।

मन्त्रालयले सोमबार मन्त्रिपरिषद्मा केन्द्रको नाम पुरानै राख्न प्रस्ताव पेश गर्ने भनिए पनि नभएको केन्द्रका प्रवक्ता लुई‌ंटेलले बताए । उनले भने ‘हामीले यहाँबाट त दुबै निकायको नाम पुरानै परिवर्तन गरौं भनेर पठाएका थियौं, मन्त्रालयले चाहिँ शिक्षा विभाग मात्रै गर्ने गरी प्रस्ताव बनाएको छ भन्ने छ । त्यो पनि आज मन्त्रिपरिषदमा गएन रे । अब त्यत्तिकै होला ।’

२०७५ साल साउन १ गतेबाट तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ राखिएको थियो ।

शिक्षा विभागको नाम परिवर्तन गरेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र राखिए पनि जनबोली, ऐन, कानुनमा, अदालतले पत्र काट्दा शिक्षा विभाग नै भन्ने गरेकाले पुरानै नाम राख्न प्रस्ताव गरेको केन्द्रका प्रवक्ता लुईटेलले बताए ।

उनले भने, ‘हामीले शिक्षा विभागको नाम बीचमा परिवर्तन भयो । जनबोलीमा, कानुन, ऐनमा र अदालतले पत्र लेख्दा शिक्षा विभाग भनेर नै लेख्छ । अनि सबैले चिनेको नाम राख्दा के फरक पर्छ भनेर हो ।’

शिक्षा विभाग नाम राख्न सुझाव आएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भने ‘शिक्षा विभाग भनेपछि यो अफिसले के काम गर्छ भनेर मान्छेले सोध्दैन । तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले के काम गर्छ भन्ने सोध्ने भए, त्यसैले बोलीचालीमा भिजिसकेको, मानिसहरु अभ्यस्त भइसकेको नाम राख्दा सजिलो हुन्छ भन्ने कुरा आएको हो ।’

उनले अघि भने, ‘शिक्षा विभाग राख्दा उपयुक्त हुन्छ भनेर हाम्रो पनि सुझाव हो । निर्णय गर्ने अधिकार सकारलाई छ, हुन्छ पनि होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?