+
+

भेरी पम्पिङ आयोजनाको ‘डिजाइन रिभ्यु’ हुने

रासस रासस
२०७९ साउन ११ गते १३:५७
भेरी नदी किनारमा अध्ययन टोली

११ साउन, कर्णाली। प्रदेश राजधानी वीरेन्द्रनगरको आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसङ्ख्यालाई मध्यनजर गरी निर्माण पखाइमा रहेको भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’ हुने भएको छ ।

आयोजना कार्यान्वयन गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले ठूलो लगानीको प्रोजेक्ट भएकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माथि पुनः रिभ्युका लागि विज्ञहरुसँग परामर्श गर्ने जनाएको छ ।

दुई चरणमा गरी रु छ अर्ब लागतमा सम्पन्न हुने यस आयोजनाको डीपीआर तयार भइसकेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले अहिले उक्त डिपिआरमाथि ‘रिभ्यु’ गर्न समय थप गरेको हो । विभागका सिनियर डिभिजनल इञ्जिनीयर (सीडीई) मधु खनालले डिजाइन रिभ्युका लागि कम्तीमा दुई/तीन महिना समय लाग्ने बताए ।

‘यो ठूलो आयोजना हो, यसको कुनै डिजाइनबीचमै फेल भए ठूलो नोक्सानी बेहोर्नुपर्छ’, उनले भने, ‘कम्तीमा निर्माण पूर्व नै हामीले पर्याप्त रिभ्यु गर्न सक्यौँ भनेपछि प्राविधिक त्रुटी नआउनसक्छ ।’ सीडीई खनालले रिभ्युपश्चात आयोजना कार्यान्वयन चरणमा प्रवेश गर्ने जानकारी दिनुभयो । आयोजना कार्यान्वयनको प्रारम्भमा भेरी नदी किनारमा इन्टेक निर्माण गर्न बोलपत्र आह्वान गरिनेछ ।

खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आव २०७९/८० देखि सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ सञ्चालन गर्दैछ । उक्त आयोजनाअन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याउन लागिएको हो ।

मन्त्रालयले सल्यानको शारदा नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, कैलालीका बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिकामा यो आयोजना सञ्चालन गर्दैछ । आयोजनाका लागि सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले २० प्रतिशत रकम जुटाउनुपर्नेछ ।

कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्याचुल फण्ड’ स्थापना गर्न बजेट विनियोजन गरिसकेका छन् । प्रदेश सरकारले चालु आवमा रु पाँच करोड छुट्याएको छ भने नगरपालिकाले पहुँचमार्ग निर्माणलगायत आवश्यक पूर्वाधारका कार्यका लागि रु ५० लाख विनियोजन गरेको छ । आयोजना कार्यान्वयनका सम्बन्धमा गत फागुनमै तीन वटै तहका सरकारका प्रतिनिधिबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको थियो ।

आयोजनाले दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनाका साथै सेवा प्रवाहको स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

यस्तो बन्नेछ आयोजना

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किमी दुरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइनेछ । भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृत डाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गर्ने पहिलो चरणअन्तर्गतका कार्य हुन। यसका लागि रु तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान छ ।

दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गरिनेछ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ। यस लागि कम्तीमा पनि रु तीन अर्ब लागत अनुमान गरिएको छ ।

भेरीको पानी चार सय मिटरमाथि प्रशोधन गर्ने ट्याङ्की (ट्रिटमेन्ट प्लान) मा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म करिब सात किलोमिटर लामो पाइप विछ्याइनेछ। पाँच सय ५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म जडान गरिनेछ।

अमृतडाँडामा बनाइने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ। आयोजनाका सीडीई खनालले निर्माण सुरु भएको छ वर्षभित्र भेरीको पानी लिफ्टिङ्का साथै नगरभित्रका अन्य पानीका मुहानको संरक्षण, एकीकृत जलाधार व्यवस्थापन, जीर्ण आयोजनाको सुधार, उपभोक्ता संस्थाको सवलीकरण लगायतका कार्य सञ्चालन गरिने बताए। यी क्रियाकलाप सञ्चालनका लागि नगरपालिका कार्यालयमा आयोजना कार्यान्वयन एकाइ स्थापना हुनेछ ।

नगर गौरवको आयोजना

सङ्घीयता कार्यान्वयनमा आएपछि खानेपानीको क्षेत्रमा स्थानीय तहले पाएको यो ठूलो लगानीको आयोजनामा पर्दछ । यो आयोजना पहिलोपटक सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा सञ्चालन हुँदैछ । वीरेन्द्रनगरमा अत्यधिक बढ्दो जनघनत्वका कारण यहाँ खानेपानी मुख्य समस्याका रुपमा लामो समयदेखि रहँदै आएको छ ।

हालको जनसङ्ख्याका लागि प्रतिसेकेन्ड तीन सय २० लिटर पानी आवश्यक पर्छ। हाल आपूर्ति भने प्रति सेकेन्ड एक सय ५३ लिटर भइरहेको छ । यही पानीको आपूर्ति पनि खडेरीको समयमा ५० प्रतिशत घट्ने गरेको छ।

खानेपानी आपूर्ति व्यवस्थापन गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ । गर्मीयाममा ९६ घण्टामा एक दिन पानी वितरण हुने गर्दछ । संस्थाले हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ । अझैं यहाँ १८ हजार बढी खानेपानी धारा अपुग छन् ।

संस्थाले झुप्रा खोला, खरी खोला, खोर्के खोला, इत्राम खोलाबाट खानेपानी वितरण गरिरहेको छ। तीस वर्षपछि वृद्धि हुने जनसङ्ख्यालाई खानेपानीको हालको संरचना र क्षमताले धान्न नसक्ने हुँदा दीगो आयोजनाका लागि विभिन्न अध्ययन अघि बढाइएको थियो । तीमध्ये भेरीबाट पानी ल्याउने विकल्पलाई छनोट गरिएको हो ।

नगर प्रमुख मोहनमाया ढकालले आयोजनालाई समयमै सम्पन्न गर्न नगरपालिकाको पूर्ण सहयोग र सहभागिता रहने बताए । ‘यसलाई हामीले गौरवको आयोजनाका रुपमा लिएका छौँ, यहाँको खानेपानीको दीर्घकालीन समाधानका लागि भेरीको पानी ल्याउनुको विकल्प नभएरै यो आयोजना अघि बढाउन सङ्घीय सरकारलाई अनुरोध गरिएको हो’, नगर प्रमुख ढकालले भने, ‘आयोजना कार्यान्वयन एकाइ स्थापनादेखि साझेदारी बजेट उपलब्ध गराउने, स्थानीयस्तरमा सहजीकरण गर्ने लगायतका सबै कार्यमा नगरपालिकाले सहयोग गर्नेछ ।’

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बहुप्रतिक्षित आयोजना सञ्चालनमा अब ढिलाइ गर्न नहुने गरी काम थाल्न आफूहरुले सुझाव दिएको बतए ।

‘भेरी पम्पिङकै लागि भनेर सङ्घ र प्रदेश सरकारले छुट्याएको बजेट यसअघि बर्सेनि फिर्ता हुने गरेको थियो, उपभोक्ताले अझैं आयोजना समयमै बन्छ भनेर विश्वास गर्न सकेका छैनन्, हामीले छिटोभन्दा छिटो आयोजना निर्माण सम्पन्न गरी खानेपानीको विकराल समस्याको समाधान दिनुपर्छ’, उनले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?