+
+

‘पानीफोटो’ : रंगीन रिलमा ‘श्वेत’ तस्वीरको खोजी !

विकास रोकामगर विकास रोकामगर
२०७९ साउन ११ गते १६:१७

११ साउन, पोखरा । नाट्यकर्मी तथा कलाकार खगेन्द्र लामिछानेले नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको वरिपरि घुमेको एउटा नाटक लेखे, पानीफोटो । झण्डै एक दशकअघि गुरुकुलमा मञ्चन भएको उक्त नाटक तत्कालीन समयमा निकै चर्चित भएको थियो ।

तर नाटककै दौरान एउटा घटना हुन्छ । नाटक मञ्चनपछि खगेन्द्र थिएटरबाट बाहिरिंदै गर्दा एक जना दर्शक उनलाई अँगाल्न आइपुग्छन् र डाँको छोडेर रुन्छन् । ती दर्शक नाटकको कथा आफ्नो जीवनसँग मेल खाएपछि भावुक बनेका थिए ।

‘रियाक्टिभ’ अर्थात् कुनै पनि कुराको तत्काल प्रतिक्रिया दिइहाल्ने स्वभाव छ, खगेन्द्रमा । दर्शक उनकै अगाडि डाँको छोडेर रुन थालेपछि उनी पनि भावुक बने । आफैंले गरेको कामप्रति झस्किए र आत्मालाप गरे, ‘आखिर किन रुवाउँदैछु मान्छेहरु ? किन कोट्याउँदैछु खट बसेको घाउ ?’

पानीफोटो अर्थात् नेपाली शब्दको कोषभन्दा बाहिरको एउटा शब्द । जसको अर्थ हुन्छ रिल क्यामेराको श्यामश्वेत तस्वीर, साधारण बोलीचालीमा नेगेटिभ फोटो ! यो शब्द धौलागिरि तथा गण्डक भेगमा बढी प्रयोग हुन्छ ।

नाटक प्रदर्शनका क्रममा दशकअघि दर्शकको रुवाइसँग झस्किएका खगेन्द्र अहिले सोही श्वेत पानीफोटोलाई फेरि दर्शकको माझमा रंगिन फिल्ममार्फत लैजाँदैछन् । साउन १३ गते उनी निर्देशित पहिलो फिल्म ‘पानीफोटो’ सिनेमा हलहरुमा रिलिज हुँदैछ ।

सुरुमा दर्शकको मन नदुखाउने गरी झस्किएका खगेन्द्र आखिर किन फेरि पानीफोटोमै फर्किए त ? यसको कारण छ, वधशाला । सन् २०१३ तिर रिलिज भएको वधशाला पनि संयोगवश माओवादी जनयुद्धसँगै सम्बन्धित थियो । फिल्ममा उनले सेनाको नियन्त्रणमा पुगेको एक निर्दोष सर्वसाधारणको भूमिकामा छन् ।

पहिलो पटक ठूलो पर्दामा हाम फालेका उनले वधशाला फिल्म खेल्दै गर्दा पानीफोटोलाई हरहालमा सिनेमामा ल्याउने सपना देखेको बताउँछन् । त्यसपछि उनले टलकजंग भर्सेस टुल्के, पशुपति प्रसादलगायत फिल्ममा अभिनय गरे । वधशाला र टलकजंग भर्सेस टुल्के माओवादी जनयुद्धसँगै केन्द्रित थियो पनि, तर उनको सपना भने पानीफोटोभन्दा बाहिर गएन ।

‘ममा एउटा घटनाले क्लिक गरेकोे थियो, बेपत्ताहरुको । आफन्तहरु बेपत्ता हुँदा पर्खिनेहरुलाई ठूलो पीडा छोडेर जान्छन् । त्यो कथा मैले नै हरहालमा बाहिर ल्याउनुपर्ने थियो भन्ने सपना नै बन्यो,’ बुधबार पोखरामा पत्रकारसँग कुराकानी गर्दै लामिछानेले भने, ‘त्यतिबेला देखेको सपना नै पानी फोटो हो ।’

जनयुद्धमा बेपत्ता छोरो खोज्न हिंडेका बाबुआमाको कथा भए पनि लामिछानेले ‘उहिलेको कथा’ भन्न भने रुचाउँदैनन् । प्रसंग जनयुद्धकालीन भए पनि कथा वर्तमानकै हो । ‘जनयुद्ध सकिइसकेको छ । तर त्यसका बाछिटाहरु अझै बाँकी नै छन् । त्यसको प्रभाव आज पनि हाम्रो समाजमा छ । त्यही प्रभाव फिल्ममार्फत देखाउन खोजेको हुँ,’ उनले भने ।

विश्व सिनेमामा पहिलो तथा दोस्रो विश्वयुद्धका कथाहरु हालसम्म आइरहे पनि नेपाली सिनेमामा भने युद्धको कथा कम आएको खगेन्द्रको भनाइ छ । ‘युद्धले हामीलाई धेरै कुरा सिकाएर गएको छ । तर त्यति नै मात्रामा घाउहरु पनि दिएर गएको छ । ती घाउको कथा आएकै छैनन्,’ उनले भने ।

स्याङजाको स्वरेक, बर्दिया तथा रोल्पाको होलेरी क्षेत्रमा छायांकन गरिएको ‘पानीफोटो’ खगेन्द्रको पहिलो निर्देशकीय प्रस्तुति पनि हो । लेखक, नाटक र सिनेमाको कलाकार हुँदै उनले निर्देशनमा पाइला चालेका छन् । आफूले निभाएका भूमिकामध्ये सबैभन्दा बढी चुनौतीपूर्ण निर्देशन गर्दा भएको उनको अनुभव छ ।

‘पानीफोटो मेरो सपना थियो । आफ्नै निर्देशनमा ल्याउने अहिले सपना पूरा भएको छ । पछि अर्को फिल्म निर्देशन गर्छु गर्दिनँ थाहा छैन,’ खगेन्द्रले भने, ‘तर वर्षौंपछि एउटा गह्रौं सपना बिसाएपछि हलुंगो महसुस गरिरहेको छु ।’ पानीफोटोकै लागि दुई वर्षसम्म अन्य कुनै फिल्ममा नजोडिएका उनलाई कोरोना महामारीले प्रदर्शनमा ढिलाइ गरिदिएको सुनाए ।

फिल्ममा खगेन्द्रसहित वरिष्ठ रंगकर्मी अनुप बराल, मेनुका प्रधान, माओत्से गुरुङ, मल्लिका महतलगायतको अभिनय छ । फिल्मका कलाकार माओत्से गुरुङले पनि पानीफोटोमार्फत जनयुद्धलाई मात्रै नभई नेपाललाई पनि नजिकबाट चिन्ने मौका पाएको सुनाए ।

आफू पश्चिममा बुटवलसम्म नकटेको मान्छेले ‘पानीफोटो’ सुटिङकै दौरान बर्दियादेखि जनयुद्ध प्रभावित जिल्ला रोल्पासम्म पुग्ने अवसर पाएको माओत्सेको भनाइ छ । ‘राम्रो कामको सधैं राम्रै रिजल्ट आउँछ । पानीफोटो त्यसैमध्येको एक हो,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?