+
+

कर्मचारी हेरफेरको विवादले बारामा कांग्रेस र लोसपाबीच झडप, प्रहरीसहित ९ जना घाइते

सुरेश बिडारी सुरेश बिडारी
२०७९ साउन १३ गते १०:११

१३ साउन, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा शिक्षा र स्वास्थ्य शाखा प्रमुख हटाएपछि देखा परेको विवादले उग्र रुप लिएको छ । उपप्रमुख नजमु शेहरका श्रीमान शेख मोतिम र वडा नं. ४ का अध्यक्ष अवधेश सहनी बीचको विवाद झडपमा परिणत हुँदा प्रहरीसहित ९ जना घाइते भएका छन् ।

नेपाली कांग्रेस र लोसपा पक्षबीच भएको झडपमा उत्पन्न तनाव नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १५ सेल अश्रुग्याँस प्रहार गरेको छ ।

झडपमा परी नेपाली कांग्रेस तर्फका सिम्रौनगढ–४ बस्ने ३३ वर्षीय रवी कुमार सहनी, राम निवास राम, वडा नं ९ बसवरिया बस्ने ३० वर्षीय उमेश यादव र ३८ वर्षीय गौरीशंकर यादव घाइते भएका छन् । टाउकोमा सामान्य चोट लागेका चार जनामध्ये रवी र राम निवासको नगर अस्पताल सिम्रौनगढमा उपचार भइरहेको छ । बाँकी दुई जनालाई उपचारका लागि वीरगञ्ज तर्फ ल्याइएको छ ।

त्यसैगरी नेपाल प्रहरीतर्फ पनि पाँच जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक भवमोचन झा, प्रहरी बरिष्ठ हवल्दार प्रमोद साह, प्रहरी हवल्दार मदन साह तेली र रमेश राय यादव र उमेश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यस्तो थियो झडपको कारण

प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालका अनुसार नगर प्रमुख किशोरी साह कलवारले शिक्षा र स्वास्थ्य शाखा प्रमुख परिवर्तन गर्न आदेश दिएका थिए । शिक्षा शाखा प्रमुख नुर आलम सिद्धिकीलाई कमलेश प्रसाद अग्रहरीलाई ल्याउन भनिएको थियो ।  शिक्षा शाखा प्रमुख हुनु अघि उनी कंकाली उच्च माविमा शिक्षक थिए । अग्रहरी खजानी माविका प्रधानाध्यापक हुन् ।

त्यसैगरी स्वास्थ्य शाखा संयोजकमा सिनियर अहेब छैठौं तहका अधिकृत राजेन्द्र साहको ठाउँँमा हेल्थ असिस्टेन्ट छैठौं विजय ठाकुरलाई ल्याउन भनिएको थियो । आदेश अनुसार प्रशासनले टिप्पणी उठाएको थियो । नगर प्रमुखले स्वीकृत पनि गरिदिएका थिए ।

तर वडा नं ४ का अध्यक्ष अवधेश सहनी सहित नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले हामीसँग नसोधी किन शिक्षा र स्वास्थ्य शाखा प्रमुख परिवर्तन गरेको भनी विरोध जनाए । त्यही समयमा उपप्रमुखका श्रीमान शेख मोतिम आइपुगेका थिए । उनीहरुले उपप्रमुखको श्रीमान मोतिमसँग पनि विवाद गरेपछि स्थिति विग्रिएको उनी बताउँछन् ।

‘जिन्सी शाखा हेर्दै आएका सुरेश यादवलाई वडामा पठाउनुपर्ने माग कांग्रेस पक्षको थियो, मैले नगर प्रमुख मार्फत प्रक्रिया पुर्याएर आउनुस्, म त आदेश पालक हो भनेर सम्झाउँदै थिएँ,’ उनले भने, ‘विवाद भएको देखेपछि उपप्रमुखको श्रीमान आइपुग्नुभयो । त्यसपछि झनै विवाद बढ्यो । बाहिर त दुई पक्षबीच झडप नै भएछ ।’

सम्रौनगढ नगरपालिकाको कार्यालयमा दुई पक्षबीच सुरुमा भनाभन भएको थियो । सो विवाद पछि झडपमा परिणत भयो । दुबै पक्षका कार्यकर्ताहरुले एक आपसमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा १५ राउण्ड अश्रु ग्याँस प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिम्रौनगढ,  इलाका प्रहरी कार्यालय कोल्हबी र इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी परिचालन गरिएको थियो ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?