+
+
अन्तर्वार्ता :

‘दोहोरी खेल्ने बेइजिङ र वासिङ्टनलाई यो तिमीहरूको मामिला होइन भन्न सक्ने नेतृत्व खोइ ?’

हाम्रो नेतृत्वको नाडी छामेकै छौं । बेइजिङ र वासिङ्टनको दोहोरीलाई यो तिमीहरूको मामिला होइन भन्न सक्ने हाम्रो नेतृत्व खोइ ? त्यसैले एसपीपी नेपालले थेग्न सक्दैन भनेर जनमत अत्यधिक मुखरित भयो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते २०:०४

१४ साउन, काठमाडौं । पछिल्लो समय नेपालमा चीन र अमेरिकी भ्रमण बाक्लिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओ फर्किएको दुई सातापछि नै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन् ।

कूटनीतिक मामिलाका जानकारहरु नेपालमा दुई शक्ति–राष्ट्रको ‘स्याडो बक्सिङ’ चल्ने त होइन भन्ने चिन्ता व्यक्त गर्छन् । प्राध्यापक डा. खड्क केसी पनि नेपाल दुई शक्तिको ग्राउन्ड बन्दा पनि राजनीतिक नेतृत्व गम्भीर नभएको बताउँछन् । भन्छन्, ‘मुलुकको सत्ता र प्रतिपक्ष दुवै राजनीतिक नेतृत्व कम संवेदनशील, गैरजिम्मेवार भएको छ । कसैसँग एकदमै दूरी बनाउने र कसैसँग बढी लहसिने खालको देखिन्छ । त्यसको परिणाम हामी अप्ठ्यारोको नजिक पुग्ने संभावना त देखिइसक्यो ।’

असंलग्न परराष्ट्र नीति छाड्ने हो भने विनाशको विकल्प नहुने समेत उनी बताउँछन् । उनले भनेका छन्, ‘कुनै नेताले संलग्नता र कुनै सैन्य साझेदारीको कुरा गर्छन् भने उनीहरूको इमान्दारीमा प्रश्न उठाउनुपर्छ ।’

प्रस्तुत छ, डा. खड्क केसीसँग अनलाइनखबरकर्मी सुदर्शन खतिवडा र बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश

पछिल्लो समय शक्ति–राष्ट्रका उच्च पदस्थहरूको नेपाल भ्रमण बाक्लिंदो छ, यसको कारण के हो ?

शीतयुद्ध बेलाको परिस्थितिभन्दा फरक ढंगले अहिलेको अघोषित नयाँ शीतयुद्धको परिस्थिति निर्माण भइरहेको छ । त्यसको एउटा शक्ति हाम्रो निकट छिमेकी हो । त्यसैले छिमेकीसँग कसरी डिल गर्ने भन्नेबारे एउटा इन्ट्री पोइन्ट बनाउन सकिन्छ कि भनेर अर्को शक्तिले महसुस गरिरहेको छ ।

संसारको शक्ति र सम्बन्ध गतिशील नै हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा पनि दुईपक्षीय, बहुपक्षीय सम्बन्ध गतिशील नै हुन्छन् । गतिशील सम्बन्धमा शक्तिमा बदलाव आइरहन्छन्, त्यो प्रकृतिको नियम नै हो ।

खासगरी दुई–तीन वर्षयता अन्तर्राष्ट्रिय शक्ति सम्बन्धमा ठूलो बदलाव आएको प्रशस्तै सूचक छन् । यो बदलावमा विश्व शक्तिको नेतृत्व गर्ने हाम्रो एउटा छिमेकी हो भन्ने पश्चिममा बौद्धिक जगतदेखि, रणनीतिक योजनाकार र राजनीतिक नेतृत्व सबैले स्वीकार गरेको विशिष्ट परिस्थितिमा नेपाललाई महत्व दिने परिस्थितिको निर्माण भएको छ ।

प्रष्ट भन्दा हिजोको शीतयुद्ध बेलाको परिस्थितिभन्दा फरक ढंगले अहिलेको अघोषित नयाँ शीतयुद्धको परिस्थिति निर्माण भइरहेको छ । त्यसको एउटा शक्ति हाम्रो निकट छिमेकी हो । त्यसैले छिमेकीसँग कसरी डिल गर्ने भन्नेबारे एउटा इन्ट्री पोइन्ट बनाउन सकिन्छ कि भनेर अर्को शक्तिले महसुस गरिरहेको छ ।

निकट छिमेकीलाई चाहिं आफ्नो आँगनमा प्रतिस्पर्धी विश्व शक्ति–राष्ट्रको सक्रियतालाई सकेसम्म कम गराउने भन्ने छ । यी दुइटा शक्तिको एउटा ग्राउन्ड नेपाल भइरहेको छ । पछिल्ला आगमनहरू त्यसैको प्रतिफल हो ।

शक्ति–राष्ट्रहरू नेपालमा प्रभाव जमाउने होडमा दौडिरहेको बदलिएको शक्ति सम्बन्धका कारण हो ?

अहिलेको शक्ति सम्बन्धमा नेतृत्वकर्ता हाम्रो छिमेकी भयो । त्यसैले अन्तर्राष्ट्रिय चासो नेपालप्रति बढ्यो । पहिलो शीतयुद्धमा अहिलेको भन्दा फरक परिस्थिति थियो, नेपालले त्यसबाट प्रशस्त लाभ लियो ।

शीतयुद्ध हुनु राम्रो हो भन्न खोजेको हैन तर नेपालले विकासको काममा लाभ लिनसक्यो । पूर्व–पश्चिम राजमार्गमा सोभियत संघ र अमेरिकाले १००–१०० किलोमिटर बाटो खने । यो भनेको नेपालले विकासका लागि दुवै विश्व शक्ति–राष्ट्रको अधिकतम सदुपयोग गरेको थियो । अहिले हाम्रो नेतृत्वले त्यसमा ध्यान दिएन । पहिलेको भन्दा शीतयुद्ध बढी अन्योन्याश्रित र प्रभावकारी छ ।

अर्काे कुरा, त्यसलाई कसरी ट्याकल गर्ने भनेर राजनीतिक नेतृत्वमा छलफल भएको जस्तो देखिएको छैन । मुलुकको सत्ता र प्रतिपक्ष दुवै राजनीतिक नेतृत्व कम संवेदनशील, गैरजिम्मेवार भएको छ । कसैसँग एकदमै दूरी बनाउने र कसैसँग बढी लहसिने खालको देखिन्छ । त्यसको परिणाम हामी अप्ठ्यारोको नजिक पुग्ने संभावना त देखिइसक्यो ।

नेपालसँग विद्यमान रणनीतिक भू–अवस्थितिले पनि कूटनीतिक दबाव बढ्ने नै भयो; सँगसँगै हाम्रो राजनीतिक नेतृत्वको कूटनीतिक कुशलता अभावका कारण पनि यो दौडधुप बढिरहेको छ भन्न सकिन्छ ?

हाम्रो भौगोलिक अवस्थिति र छिमेक परिवर्तन गर्न नसकिने कुरा हुन् । विश्व शक्ति सन्तुलनमा बदलाव आयो, त्यसको बाछिटाहरू क्षेत्रीयस्तरमा पनि परे । हाम्रो दक्षिणी छिमेकी क्षेत्रीय शक्ति राष्ट्रको अलायन्समा विचारधारात्मक राजनीतिक रूपले नजिक भयो । अर्काे छिमेकी सिंगै त्यसको नेतृत्व गर्ने परिस्थितिमा पुग्यो ।

त्यसकारणले गर्दा पहिलेको भन्दा विल्कुल फरक ढंगले सम्बन्धको आयामहरू फेरिने कुरा स्वाभाविक थियो । तर हामी हिजोभन्दा अझ बढी पेचिलो अवस्थामा छौं । त्यसकारणले राजनीतिक नेतृत्व अझ बढी देशभक्तिपूर्ण, मुलुकप्रतिको जिम्मेवार र यसबाट हामीलाई पर्न सक्ने खराब असरको बारेमा अलिकति बढी जिम्मेवार हुनुपर्ने परिस्थिति बनेको छ । तर, अहिले राजनीतिक नेतृत्व पटक्कै जिम्मेवार छैनन् । उनीहरू आत्मकेन्द्रित देखिन्छन् ।

हाम्रो देशको कतिपय राजनीतिक नेतृत्व शक्ति–राष्ट्रहरूको स्वार्थमा उपयोग भइरहेका छन् भनेर बुझ्दा हुन्छ ?

मुलुकको समकालीन नेतृत्वमा रहेकाहरूमा कमजोरी देखिन्छ । हिजो पनि बलियो सरकार बनिरहँदा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध फरक ढंगले अगाडि जाने परिस्थिति बनिरहेको थियो । हाम्रो भूराजनीतिमा सबैभन्दा बढी भूमिका खेलिरहेको हाम्रो दक्षिणी छिमेकीका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई एड्भान्समा बधाई दिन मान्छेहरू पठाएका पनि थिए । तर जब आन्तरिक राजनीति धमिलिन्छ, मुलुकको राजनीतिक शक्तिहरू विभाजित हुन्छन्, हामीलाई अप्ठ्यारो परिरहन्छ ।

घरभित्रको राजनीति विभाजित हुँदा, कतिपय सवालमा एकीकृत बुझाइ नहुँदा आफ्नो राजनीति सपार्न, आफ्नो दल र शासनसत्ता निर्माण र जोगाउनका लागि नथेग्ने खालका अरूका एजेन्डा बोक्नेसम्मको प्रयत्न दल र यसका नेताहरूले गर्ने देखियो ।

अहिले पनि राजनीतिक दलका नेताहरूमा एकदमै आत्मकेन्द्रित र आफू नै शक्तिमा रहनुपर्ने खालको चरित्र देखिन्छ । जब गठबन्धनको सरकार बन्यो, त्यसपछि अन्तर्राष्ट्रिय सक्रियताका आयाममा एकदमै बढी द्रुततर ढंगले परिवर्तन आयो । यद्यपि एमसीसी, एसपीपी होस् या बीआरआईमा कुनै पनि राजनीतिक दलले गतिलो अडान राख्न सकेका छैनन् । अझ गठबन्धन सरकार बनेपछि इन्टरनेशनल एक्टर्सहरूलाई प्ले गर्न सजिलो भएको प्रशस्त उदाहरण छन् ।

यसलाई अझ अर्काे शब्दले भन्दा शक्ति–राष्ट्रहरूको दबाव बढिरहेको छ । कूटनीतिक दक्षता र राष्ट्रिय एकता कमजोर छ, यो अवस्थामा कूटनीतिक प्रतिरोध क्षमता कस्तो पाउनुहुन्छ ?

सामान्यतः हाम्रो जस्तो साना राष्ट्रको कूटनीति प्रो–एक्टिभ भन्दा रि–एक्टिभ हुने गर्दछ । क्षेत्रीय र विश्व शक्ति–राष्ट्रहरूले अपनाएका कूटनीतिक अभ्यास, अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिका मामलामा रिएक्ट गर्छन् । असंलग्न आन्दोलन बलियो भएको बेला हाम्रो जस्तो साना शक्तिहरू पनि प्रो–एक्टिभ थिए । एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र सार्वभौम समानताको सिद्धान्तको आधारमा हामीले थेग्न सक्छौं र सक्नुपर्छ । यो कुरा नेतृत्वको इमानदारीमा भरपर्छ ।

इतिहासमा हामीले ठूला ठूला उपनिवेशहरूको विरुद्धमा यो देश र यसको राष्ट्रिय स्वाधीनतालाई जोगाएर आएका हौं । हिजो पनि शीतयुद्ध भएकै थियो । त्यतिबेला चीन र भारत लड्दा पनि हामी तटस्थ बसेका थियौं र अमेरिका र सोभियत संघबाट हामीले फाइदा लिइरहेका थियौं । घरभित्रको राजनीति विभाजित हुँदा, कतिपय सवालमा एकीकृत बुझाइ नहुँदा आफ्नो राजनीति सपार्न, आफ्नो दल र शासनसत्ता निर्माण र जोगाउनका लागि नथेग्ने खालका अरूका एजेन्डा बोक्नेसम्मको प्रयत्न दल र यसका नेताहरूले गर्ने देखियो ।

रि–एक्टिभ हुँदा पनि यो हाम्रो घरेलु मामला हो भनेर बोल्न सक्ने हैसियत निर्माण गर्न घरभित्रै वैधता छैन । बहुमत प्राप्त दलको नेता र प्रधानमन्त्रीले भन्न सक्छ । तर, हाम्रोमा ३० प्रतिशत मत भएको नेता प्रधानमन्त्री हुन्छ उसले त्यहाँभित्रको गठबन्धन शक्तिहरू विभिन्न वैचारिक धरातलका हुन्छन् । उनीहरूले पनि सम्झौता गरिरहेका छन् । नेपालमा प्रतिपक्षको पनि आम चरित्र त्यस्तै हो, सत्तामा हुँदा र बाहिर हुँदा एउटै अडान राख्ने प्रवृत्ति हाम्रोमा छैन । यो दुर्भाग्यपूर्ण कुरा हो ।

तपाईंले असंलग्न परराष्ट्र नीतिको प्रसंग उठाउनुभयो । कतिपय नेताले यसलाई समीक्षा गरेर अगाडि बढ्नुपर्छ भनिरहेका छन् । कतिपय नेताले त अमेरिकासँग जोडिएर प्रगति गरेका देशहरूको उदाहरण दिन थालेका छन् !

म यस्तो तर्कसँग सहमत छैन । सिंगापुरको कुरा गर्नेहरूमध्ये कोही लि क्वान यु बन्नुप‍र्‍यो नि ! दक्षिण कोरियाको पार्क चुंग बन्नुप‍र्‍यो नि ! उनी त्यहाँको निरंकुश सैनिक नेता थिए । उनले त्यहाँ पहिला देश विकास गरेर लोकतन्त्रलाई कसरी टिकाउपूर्ण बनाए ?

कतिपयले यसरी अमेरिकासँग नजिक भएर प्रगति गर्ने मोडेलको कुरा गरिरहेका छन् । अमेरिका वा चीनसँग नजिक भएर प्रगति गर्ने होइन, नेपाललाई सबै शक्ति राष्ट्रसँग समदूरीको सम्बन्ध राखेर नेतृत्व उत्तरदायी र पारदर्शी भइदिए भइहाल्यो नि ! उहाँहरूप्रति हामी भारी विश्वास हुने स्थिति बन्यो भने यो देश बन्छ । त्यसैले कुनै देशको पछि लागेर देश बन्ने होइन ।

त्यसो भए, असंलग्न नीतिको समीक्षा गर्ने बेला भइसकेको छैन ?

हाम्रो भूराजनीतिमा असंलग्न नीतिको समीक्षा गर्न आवश्यक देख्दिन । किनकि भारतले समीक्षा गरेर पनि स्पष्ट रूपमा भन्न सकिरहेको छैन । युक्रेनको मामलामा भारतले खेलेको भूमिकालाई नै हेरौं न । भारत इन्डो प्यासिफिक र क्वाडको सदस्य हुँदाहुँदै पनि युक्रेन मामिलामा तटस्थ बस्यो ।

भारतका विदेशमन्त्रीले बहुपक्षीय संलग्नताको वकालत गरे । व्यवहारतः भारतले रूस र अमेरिका दुवैसँग सम्बन्ध जोगाएर चीनसँगको व्यापारलाई निरन्तरता दिइरहेको छ । हाम्रो मुलुक संलग्नतातिर गयो भने विनाशको विकल्प छैन । कुनै नेताले संलग्नता र कुनै सैन्य साझेदारीको कुरा गर्छन् भने उनीहरूको इमानदारीमा प्रश्न उठाउनुपर्छ ।

डोनाल्ड लुको नेपाल भ्रमणको प्रसंगमा कुरा गरौं । यो आकस्मिक हो कि अघिल्ला भ्रमणहरूकै निरन्तरता ? कतिपयले स्टेट पार्टनरसिप प्रोग्रामसँग जोडेर व्याख्या गरिरहेका छन् नि ?

आफ्नो थैलीको मुख बन्द गर्ने र छिमेकीलाई कम गाली गर्ने भनाइलाई पुनर्पुष्टि गर्न मन लागिरहेको छ । हाम्रो नेतृत्वको नाडी छामेकै छौं । बेइजिङ र वासिङ्टनको दोहोरीलाई यो तिमीहरूको मामिला होइन भन्न सक्ने हाम्रो नेतृत्व खोइ ? त्यसैले एसपीपी नेपालले थेग्न सक्दैन भनेर जनमत अत्यधिक मुखरित भयो । सत्ता पक्ष र प्रतिपक्ष दुवैतिर प्रशस्तै यस्ता नेता छन्, जो एसपीपीलाई अगाडि बढाउन तयार रहेछन् भन्ने त बुझियो ।

विभिन्न चरणमा उनीहरू पनि त्यसमा संलग्न रहेछन् । तर जनमत एसपीपीको विरुद्धमा आएपछि राज्यसत्ता र सत्ता साझेदार वाम शक्तिहरूले आफ्नो विचार र अनुहार जोगाउन मन्त्रिपरिषद्‍बाट पत्र नपठाउने निर्णय गराए । टाढै भए पनि यो सबै अवस्था बुझेर विश्लेषण गरिरहेको शक्ति राष्ट्रले जसरी हो राजी गराउन कूटनीतिक प्रयत्न त भइरहन्छन् । लुको नेपाल भ्रमणका एजेन्डा बाहिर सार्वजनिक गरिएका छैनन् ।

हामी असंलग्न रहेर सबैको मित्र रहेर नै तरक्की गर्न सक्छौं । यो सन्देशसहित नागरिक तहबाट राजनीतिक नेतृत्वलाई लगातार दबाव दिइरहनुको विकल्प छैन । किनकि हाम्रो नेतृत्व इमानदार छैन । यो कुरा एमसीसी, एसपीपी र बीआरआईमा प्रमाणित भइसकेको छ ।

प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई मात्रै भेटेको खबर बाहिरिएको छ । मलाई लाग्छ– एसपीपीलाई नयाँ नामकरण गरेर अथवा त्यही रूपमा अथवा एमसीसीको पालामा जस्तै ‘तिमीहरूले नस्वीकारे हामी अन्य कदम चाल्छौं’ भनेर धम्की आउन सक्छ । गठबन्धनका साझेदार शक्तिलाई बेलाबेलामा मानवअधिकार र हेगको कुरा उठाउने गरिन्छ । यी र यस्ता अनेक कुरा ल्याएर तर्साउने काम पनि भइरहेको छ ।

जसरी हुन्छ नेपाललाई अप्ठ्यारो पारेर निर्णय गर्ने दिशातिर शक्ति राष्ट्रहरू गइरहेका छन् । तर हाम्रो नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिइरहेको छैन । सार्वभौमिकताको कार्यान्वयन गर्ने सबैभन्दा कार्यकारी निकाय मन्त्रिपरिषद् निर्णय हो ।

एसपीपीबारे मन्त्रिपरिषदले गरेको निर्णय नै कार्यान्वयन गर्न नसक्ने हो भने मुलुकको सार्वभौमसत्ता खोइ त ? त्यसैले लुको प्रयास एसपीपीलाई जसरी पनि अगाडि बढाउने हुनेछ भन्ने मेरो अनुमान हो ।

यसपटक लुको नेपाल भ्रमणको मुख्य प्राथमिकता एसपीपी कार्यान्वयन हो भन्न खोज्नुभएको हो ?

अमेरिका किन यतिविघ्न सक्रिय छ ? यसबाट पनि बुझ्न सकिन्छ । अमेरिकाबाट सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकामा रहेका नेपाली डायस्पोरालाई पनि लबि गरिरहेका छन् । यो त स्वीकार्य हुँदैन । यद्यपि, यसबारे चिनियाँ विदेश मन्त्रालयबाट आएका विज्ञप्तिहरूको पनि हामीले कूटनीतिक जवाफ दिनुपर्छ ।

हाम्रो नेतृत्वले यसलाई खासै महत्व दिएको पनि देखिंदैन । बितेका केही महिनामा डोनाल्ड लुले एमसीसी र एसपीपीबारे जे बोलिरहेका छन् र उनले नेपालमा जे गरिरहेका छन्, यहाँनेर उनले पूर्णरूपमा हाम्रो कमजोरीको फाइदा उठाइरहेको देख्छु ।

दुई शक्ति–राष्ट्रहरूको ‘स्याडो बक्सिङ’ चलिरहेको छ । हाम्रो भौगोलिक अवस्थितिका कारण हामी ‘स्किप’ हुनसक्ने अवस्थामा छैनौं । यो अवस्थामा नेपालले अपनाउनुपर्ने सन्तुलित कूटनीतिक बाटो के हुनसक्छ ?

संसारभरि नै परराष्ट्र नीति भनेको राष्ट्रिय सहमतिको दस्तावेज वा नीति हो भन्ने गरिन्छ । तर परराष्ट्र नीति र कूटनीतिमा सर्वसम्मत भएको अभ्यास संसारमा कहीं पनि छैन । नेतृत्वको आ–आफ्नै विश्व दृष्टिकोण र व्यहोरा हुन्छ । फरक राजनीतिक विचारधारा र व्यवहार हुन्छ । त्यो देशको राजनीतिक प्रणालीको कुरा हुन्छ ।

हाम्रो राजनीतिक नेतृत्व अहिलेको परिस्थितिमा इमानदार देखिएन । संसारमा हालसालै घटेका घटना हेरौं । श्रीलंका र इराकमा के भइरहेको छ ? नागरिकको चेतना स्तर र जनमत नेपाल कुनै पनि शक्ति राष्ट्रको सुरक्षा छाताभित्र जान सक्दैन र नेपालको भूराजनीतिले यसलाई थेग्न सक्दैन भन्नेमा हुनुपर्छ ।

हामी असंलग्न रहेर सबैको मित्र रहेर नै तरक्की गर्न सक्छौं । यो सन्देशसहित नागरिक तहबाट राजनीतिक नेतृत्वलाई लगातार दबाव दिइरहनुको विकल्प छैन । किनकि हाम्रो नेतृत्व इमानदार छैन । यो कुरा एमसीसी, एसपीपी र बीआरआईमा प्रमाणित भइसकेको छ ।

एसपीपीमा पनि इमानदर भएर काम नगरे तिमीहरूलाई ठेगान लगाउन हामी सक्षम छौं भनेर नागरिक दबाव दिइरहनुपर्छ । जसबाट हाम्रो नेतृत्वले कुनै सैन्य छाताभित्र पस्ने दुस्साहस नगरोस् जुन दुस्साहस कहिल्यै पनि नेपालको हितमा छैन ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?