+
+

‘आत्मसमर्पण गराउन खोजिएको हो भने अदालत जाँदैनौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १२:२६

१६ साउन, काठमाडौं । हातहतियार, विष्फोट र संगठित अपराध लगायतका आरोपमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सहितका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी हुनेहरुमध्ये सो पार्टीका ‘जनसरकार’ प्रमुखसमेत रहेका नेता सन्तोष बुढामगर पनि छन् ।

उनले अनलाइनखबरसँगको कुराकानीमा यसबारे पार्टीमा छलफल गर्ने बताए । यदि आत्मसमर्पण गराउनका लागि पक्राउ पुर्जी जारी गरिएको भए अदालतमा उपस्थित नहुने पनि उनले बताए । सरकारले फेरि द्वन्द्वतिर धकेल्न खोजिरहेको अनुभूति भएको बताउँदै उनले भने, ‘यदि यिनीहरुले यस्तो गरेर गए भने त देश बन्ने भन्दा भत्किनेतिर जान्छ ।’

रोल्पाका बुढामगरसँग अनलाइनखबरले गरेको टेलिफोन कुराकानी :

तपाईंहरुलाई पक्राउ पुर्जी जारी गरेछ । किन हो ?

अब विदेश हस्तक्षेप भइरहेको छ । एमसीसीको पनि एसपीपीको पनि बिरोध हामीले गर्नुपर्ने देशको राष्ट्रियता गुम्न लाग्यो । नेपालमा अमेरिकी सेना बस्न थाले । नेपालमा थप द्वन्द्व हुने सम्भावना बढेर गयो । नेपाललाई युक्रेन बनाउने बाटोमा धकेल्दैछन् । यो कुरालाई जनतासामु हामीले नै लैजानुपर्ने भयो ।

पहिले एमसीसी पास गर्ने भए गर नत्र सहायता रोकिन्छ भनेर धम्क्याए । हामीले बिरोधका कार्यक्रम घोषणा गरेका छौं । यो सरकार पनि त अमेरिकी दलालहरुको त हो नि ।

दलालहरुको सरकार भएपछि आफ्नो मालिकले भनेको त मान्ने नै भए । त्यो भएपछि उनीहरुलाई धम्क्याए होला, त्यसैले जनतालाई पनि तर्साउन र हामीलाई पनि धम्क्याउन भनेर पक्राउ पुर्जी जारी गरेको होला नि ।

पहिले तीन बुँदे सहमति भएको पनि थियो, तर बीचमा फेरि के कुरा मिलेन ?

हामीले राष्ट्रिय सहमति गरेका थियौं । तीन बुँदे सहमति गर्दाखेरि एक नम्बरमा देशमा कुनै राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक समस्याहरु प्रकट भए भने राज्य र कम्युनिष्ट पार्टी दुबै छलफलको टेबलमा बसेर हल गर्ने भन्ने थियो ।

दुई नम्बरमा चाहिँ हामी शान्तिपूर्ण तरिकाले राजनीतिक प्रतिष्पर्धा गर्ने र शान्तिपूर्ण तरिकाले आफ्नो गतिविधि गर्ने भनिएको छ । तेस्रो नम्बरमा शान्तिपूर्ण तरिकाले खुल्ला राजनीतिमा आउने भनिएको थियो । त्यो भनेको हामी माथिको प्रतिबन्ध हटाउने, हामीमाथि लागेका झुटा मुद्दा खारेज गर्ने, पक्राउ परेका हाम्रा साथीहरुलाई छोडिदिने भन्ने तीनवटा बुँदामा हामीले सहमति गरेका थियौँ । त्यो चाहिं केपी ओलीले कार्यान्वयन नगरेरै गए ।

अहिले पनि हाम्रा ४५ जना साथीहरु जेलमा छन् । हाम्रा नामका मुद्दाहरु उहिल्यै खारेज गर्नुपर्ने हो गरेको छैन, उल्टो म्याद दिएर पुर्जीहरु टाँसिरहेका छन् । यसले चाहिँ तीन बुँदेलाई उल्लंघन गरिरहेको छ, सरकारले भन्ने देखाउँछ । यसबाट सरकारले हामीलाई फेरि द्वन्द्वतिर धकेल्न खोजिरहेको अनुभूति हुन्छ । यदि यिनीहरुले यस्तो गरेर गए भने त देश बन्ने भन्दा भत्किनेतिर जान्छ ।

३५ दिनभित्र उपस्थित हुन भनिएको छ, तपाईंहरु उपस्थित हुनुहुन्छ त ?

हामी त त्यो बारेमा छलफल गर्छौं । सल्लाह गरेरमात्रै त्यसको निर्णय हुन्छ । जुन बेलामा अमेरिकी सहायक मन्त्री लु नेपाल आएका छन्, त्यही बेलामा उनका अगाडि हामीलाई झुकाउनलाई हामीलाई आत्मसमर्पण गराउनका लागि गरेको हो भने हामी उपस्थित हुँदैनौं । हामी किन उपस्थिति हुने, यो मुद्दा त खारेज हुने कुरा हो नि त ।

खारेज गर्नका लागि हामीलाई हाजिर गराउन लागेको त होइन । हामीले फेरि कुनै राष्ट्रघाती काम गरेका होइनौं । चोरी, डकैती, भ्रष्टाचार गरिएको पनि छैन । देशका लागि बोल्दा, जनताका लागि बोल्दाखेरि राजनीतिक पूर्वाग्रहले मुद्दाहरु लगाउने काम भएको छ ।

त्यसकारण हामीले झुक्ने कुरा हुँदैन, जहाँ–जहाँ बोलाउँछन् त्यहीँ जाने भन्ने कुरा हुँदैन । त्यो विषयमा अझ राम्रो छलफल गर्छाैं । अनि निर्णय गर्छाैं । अहिले यिनीहरुले जे गरिरहेका छन्, त्यो देशलाई द्वन्द्वमा फर्काउने संकेत देखिन्छ ।

तपाईंहरुकै पार्टी अहिले एउटै छैन, पक्राउ परेका पनि बिभिन्न ठाउँमा हुनुहुन्छ । यो मुद्दामा तपाईंहरुको धारणा एउटै नहुन पनि सक्ला नि ?

हैन, मुद्दाको बारेमा त हामी एकजुट भएर अगाडि बढ्छौं । मुद्दा, राष्ट्रियताको विषय सबैको एउटै भयो । जनतन्त्रको विषय सबैको एउटै भयो । यी विषयमा त हामी सबैको राय एउटै हुन्छ नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?