+
+

लुम्बिनी वौद्ध विश्वविद्यालयका दुई प्राध्यापक बर्खास्त गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १८:२०

१७ साउन, बुटवल । नेत्रविक्रम चन्द विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विद्यार्थीमाथि दुर्व्यवहार गर्ने लुम्बिनी वौद्ध विश्वविद्यालय अन्तर्गत बुटवल सिटी कलेजका प्राध्यापकलाई बर्खास्त गर्न माग गरेको छ ।

सिटी कलेजका प्राध्यापक कमल मरासिनीले कानुन संकायमा एलएलबी चौथो सेमेस्टर अध्ययनरत छात्राहरुलाई मोबाइलमा विभिन्न म्यासेज पठाई दुर्व्यवहार र मानसिक तनाव दिने गरेका तथा मेघनाथ खनालले प्रवेश परीक्षादेखि परीक्षाफल प्रकाशनमा आफ्नो भूमिका रहेको भन्दै विद्यार्थीहरुलाई धम्की दिने गरेकाले उनीहरुलाई बर्खास्त गर्न माग गरेका हुन् ।

अखिल क्रान्तिकारी रुपन्देहीले मंगलबार पत्रकार सम्मेलन गरी २४ घण्टाभित्र दुईजना प्राध्यापकलाई बर्खास्त नगरे थप चरणवद्ध आन्दोलनमा जाने अखिल क्रान्तिकारी सिटी कलेजका अध्यक्ष आविश पौडेलले बताए ।

यसअघि कलेजसंग भएका ९ बुँदे सहमति समेत कलेजले पालना नगरेपछि संगठनले गत असार १७ गते क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेकोमा सहमति पालना गर्न बेवास्ता गरेकाले बाध्य भएर चरणवद्ध आन्दोलनमा जानुपरेको अध्यक्ष पौडेलले बताए ।

कलेजमा प्राध्यापकको दुर्व्यवहार, पठनपाठनको समस्या, भौतिक संरचना अभाव, प्रयोगात्मक सामग्री अभाव जस्ता विषयबारे छानबिन गर्न गठित कार्यदलको प्रतिवेदन सार्वजनिक नगरेको अखिल क्रान्तिकारीको आरोप छ । २४ घण्टाभित्र माग पूरा नभए विश्वविद्यालयका रजिष्ट्रार र डिनको कार्यालयमा समेत तालाबन्दी गर्ने अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज विज्ञान क्षेत्रीले बताए ।

विश्वविद्यालयका प्रशासन अधिकृत चुरामणि पोखरेलले विद्यार्थी संगठनले विद्यार्थी संगठनका अधिकांश माग पूरा भइसकेका तर अर्कै उद्देश्यका लागि विश्वविद्यालयलाई अनावश्यक दबाव दिन खोजिएको बताए । प्राध्यापक मरासिनीलाई सिटी कलेजबाट अन्यत्र सरुवा गरिसकेको पोखरेलले बताए ।

स्रोतका अनुसार विद्यार्थी संगठनले विश्वविद्यालयसंग चन्दा मागेको छ । तर पत्रकार सम्मेलनमा यो विषयमा प्रश्न गर्दा अखिल क्रान्तिकारीका नेताहरुले चन्दा मागेको कुरा अस्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?