 
																			१८ साउन, वीरगञ्ज । ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ग को उपदफा १ को (ग) बमोजिम कार्यालयको सार्वजनिक सेवा प्रवाह अवरुद्ध हुनेगरि वडा नं ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले विना कारण, पूर्व जानकारी नदिई नगर कार्यपालिकाको कार्यालयको मूल गेटमा २०७९ साउन १८ गते दिउँसो २ः३० बजे तालाबन्दी गरी कर्मचारीहरुलाई कार्यालयमा थुनेर कार्यसञ्चालनमा बाधा पु¥याएकोले निजलाई कानुन बमोजिम कारबाहीका लागि अनुरोध छ ।’
उल्लेखित ब्यहोराको पत्र जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले बुधबार जिल्ला प्रशासन कार्यालय बारालाई पठाउनै लागेका थिए । तर वडा नं. ७ स्थित जीतपुरसिमरा कार्यपालिकाको कार्यालयको मूल गेटमा लागेको ताल्चा खुलेपछि उनले पत्रमा हस्ताक्षर गरेनन् ।
वडा नं. ७ का वडा अध्यक्ष गुप्ताले कार्यालयको मूल गेटमा तालाबन्दी गरेपछि बाध्य भएर कारबाहीका लागि प्रशासन गुहार्ने निधोमा पुगेको उनी बताउँछन् ।
‘नगर कार्यापालिकाको कार्यालय उहाँकै वडामा छ । नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारी उनले भने अनुसार चल्नुपर्छ जस्तो गर्छन । सुरुदेखि नै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुने, दादागिरी देखाउने गर्दै आएका छन्’ पौडेलले भने ‘आज निफ्रा बैंकका कर्मचारीहरु आउनुभएको थियो, पालिकाका विभिन्न क्षेत्रमा पूर्वाधारमा लगानी गर्न सकिने संभावित स्थानहरु घुम्दै थियौं, कार्यालयमा वडा अध्यक्ष गुप्ताकै नेतृत्वमा तालाबन्दी गरेको, कर्मचारीलाई भित्रै थुनेको खबर आयो । कारबाहीमा जानु नै पर्ने स्थिति भयो भनेर पत्र तयार गरेका हौं, पछि ताला खुलेपछि पठाएनौं ।’
वडा अध्यक्ष गुप्ताको अभद्र व्यवहारका कारण नगरपालिकामा बसेर काम गर्न सक्ने वातावरण नै नभएको उनी बताउँछन् । वडा अध्यक्ष गुप्ताले यसअघि पनि नगरपालिकाको कार्यालय अगाडि नै फोहोर ल्याएर थुपारिदिएको नगर प्रमुख पौडेलले बताए ।
नगर प्रमुख पौडेल माओवादीबाट निर्वाचित भएका हुन् भने वडा अध्यक्ष गुप्ता एमालेबाट । एमालेको बहुमत रहेको जीतपुरसिमरा उपमहानगरमा नगर प्रमुखलाई असयोग गर्ने नीति नै उसले लिएको छ । नगर सभाको अधिवेशनका क्रममा पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विभिन्न बहानामा असहयोग गरेका थिए ।
तर वडा अध्यक्ष गुप्ताले भने आफूले तालाबन्दी नगरेको दावी गरेका छन् । नगर मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख कार्यालयमा बसेर सेवा नदिएका कारण जीतपुरका जनताले कार्यालयमा तालाबन्दी गरेको वडा अध्यक्ष गुप्ताको भनाइ छ ।
‘नगरपालिकामा जसले जे गरे पनि सुनिल गुप्ताको नाम आउँछ । मेयर, उपमेयर, हाकिम कार्यालयमा नबस्ने, जनताको काम नहुने गरेपछि आक्रोशित जनताले तालाबन्दी गरेका हुन्’, उनले भने, ‘म त ताला लगाईसकेपछि पुगेको थिएँ ।’
फकिरा गिरी राजेश्वर गिरी माविको विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा एउटा पत्र लेख्नका लागि शिक्षा शाखामा १५ दिन धाउँदा समेत काम नभएको तितो अनुभव आफूसँग रहेको उनले बताए । गुप्ता स्वयं सो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् ।
‘वडा अध्यक्ष मै छु, विद्यालयको विकासका लागि के कसरी अघि बढ्ने सरसल्लाह गरौं भनेर समितिका सदस्यहरुलाई चार पटक पत्र काट्दा पनि आउनुभएन’, उनले भने ‘अब कसरी जाने त ? भनेर शिक्षा शाखासँग सल्लाह मागेको थिएँ, मेयरले तोक लगाइसकेका छन्, शिक्षा शाखाले पत्र नै बनाएर दिइरहेको छैन । वडा अध्यक्षलाई त यस्तो हैरान पार्छन भने जनतालाई के गर्छन ?’
वर्षायाम सुरु भईसकेको अवस्थामा सडकहरु मर्मतका लागि एक महिनादेखि जेसीबी माग्दा समेत नदिएको गुनासो उनको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4