+
+

गौतमश्रीलाई समस्याग्रस्त घोषणा गर्न सहकारी विभागको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १५:२३

१९ साउन, काठमाडौं । सहकारी विभागले गौतमश्री बहुउद्देशीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गर्न सिफारिस गरेको छ । १९ साउन बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गर्दै गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रत घोषणा गर्न सिफारिस गरेको विभागका सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए ।

सहकारीले सदस्यको हित विपरीतका कार्य गरेको, निर्धारित शर्त बमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य मान्यता एवम् सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको उनले बताए ।

विभागमा सहकारी संस्थाका ११०० भन्दा बढी सदस्यहरुको १ अर्ब ७५ करोडभन्दा बढी बचत फिर्ता नगरेको भन्दै उजुरी परेको उनले बताए ।

‘सहकारी ऐन, २०७४ को दफा १०४ (१) को देहाय खण्ड (क), (ख), (ग), (घ), तथा (च) समेतको अवस्थाको विरुद्धमा रहेको देखिएको हुँदा विभागवाट उक्त गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी ऐन, २०७४ को दफा १०४ को (१) बमोजिम गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गर्न सिफारिस गरेका छौं,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई १७ साउनमा संस्थाका अध्यक्ष रामबहादुर गौतमसहित सञ्चालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिन लिखित रुपमा अनुरोध गरेको विभागले बिहीबार जारी गरेकेा विज्ञप्तिमा उल्लेख छ ।

तर, उक्त संस्थाका कुनैपनि अध्यक्ष, सञ्चालक र कर्मचारीहरु कुनैपनि सम्पर्कमा नआएको विभागले जनाएको छ । यस्तै सहकारी संस्था, संस्थाका अध्यक्ष राम बहादुर गौतम एवम् निजको पत्नी निर्मला खत्री गौतमको नाममा नेपालभर रहेको घर/जग्गा यथाशीघ्र रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पनि १७ साउनमै विभागले पत्राचार गरेको विभागले जनाएको छ ।

सहकारीको सञ्चालक तथा व्यवस्थापकको चल अचल सम्पत्ती तथा बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार गर्दा समेत सहकारीको कुनै प्रतिनीधि विभागमा उपस्थित नभएपछि विभागले कानुनी प्रक्रिया अनुसार मन्त्रालयमा समस्याग्रत घोषणा गर्न सिफारिस गरेको उनले बताए ।

अब मन्त्रालयले सहकारीलाई समस्याग्रत घोषणा गरेपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको भुक्तानी राफसाफ गर्ने प्रक्रिया अगाडी बढाउने उनले बताए ।

यता सहकारीको कार्यालय रहेको भवनमा भने एभरेष्ट बैंकले सिल गरेको छ । सहकारीका अध्यक्ष रामबहादुर गौतमको गैातम ग्रुप अन्तरगतको विभिन्न व्यवसायमा एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको लगानी रहेको छ ।

सहकारीको व्यवस्थापक र सञ्चालक कार्यालय बन्द गरेर फरार भएपछि गत शुक्रबार सहकारीको बचतकर्ता सहकारी विभाग पुगेका थिए । आइतबारबाट सहकारी विभागले बचतकर्ताको उजुरी लिन सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?