+
+

कहिले लाग्ला क्रिकेट प्रशिक्षकको टुंगो ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन १९ गते १८:०७

१९ साउन, काठमाडौं । साउन पहिलो साता आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेट खेलेर स्कटल्याण्डबाट फर्केलगत्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाली टिम अहिले प्रशिक्षकविहीन छ । खेलाडीहरु बिदामा छन् ।

राष्ट्रिय क्रिकेट टिममा सम्झौताअनुसारको कार्यकाल पूरा नगरी पद छाडेका पुबुदु आफ्नै देश क्यानडाको प्रमुख प्रशिक्षक बनिसकेका छन् । तर नेपाली क्रिकेटले भने प्रमुख प्रशिक्षक पाएको छैन ।

आईसीसी एकदिवशीय विश्वकप छनोटको बाटो तय गर्ने विश्वकप क्रिकेट लिग टूमा निर्णायक चरणको खेलअघि नेपाल क्रिकेट संघ (क्यान)लाई नयाँ प्रशिक्षक नियुक्ति गर्नुपर्ने बाध्यता छ । नेपालले अगष्टको अन्त्यतिर केन्यासँग शृंखला खेल्ने तालिका तय भएको छ । त्यसअघि नै नयाँ प्रशिक्षक नियुक्ति गरिने क्यानले जनाएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भने, ‘हामीलाई जति सक्दो छिटो प्रशिक्षक चाहिएकोले २र३ दिन भित्र नै प्रशिक्षकको टुङ्गो लगाउने क्यानको तयारी छ ।’

यसअघि पुबुदुलाई नियुक्त गर्दा क्यानले विज्ञापन आह्वान गरेर अन्तर्वार्ता लिएको थियो । क्यानले पुबुदुलाई नियुक्ति गर्दै केहीलाई वैकल्पिक सूचीमा राखेको थियो । त्यो सूचीमा रहेका मात्र नभएर नयाँ व्यक्तिलाई पनि प्रशिक्षक बनाउने गरी क्यानले छलफल अघि बढाएको छ । उनले भने, ‘पहिलाको सर्टलिष्टबाट नै आउँछ भन्ने छैन । त्यो भन्दा राम्रो प्रशिक्षक अझ छिटो उपलब्ध हुने भएमा अन्य पनि हामी अनुबन्ध गर्न सक्छौं ।’

विश्व क्रिकेटमा अब आउने दिनमा व्यस्त तालिका रहेको र पारिश्रमिकमा पनि कुरा नमिल्दा प्रशिक्षक नियुक्त हुन सकिरहेको छैन । प्रशिक्षकहरुले फ्रेन्चाइज टिमबाट आकर्षक तलब पाउने भएकोले उनीहरुको नजर त्यतातिर बढी छ । नेपाल आउन चाहने प्रशिक्षक पनि बीचमा त्यतातिर जान चाहन्छन् । तर क्यान भने नेपाल आउने प्रशिक्षकले नेपालमा मात्र काम गरोस भन्ने चाहन्छ ।

यसअघि विश्वकप जिताइसकेका नाम चलेका प्रशिक्षक डेभ वाटमोर र नेपाललाई टी–२० विश्वकपमा छनोट गराएर नेपाली क्रिकेट बुझेका पुबुदुलाई नियुक्त गर्दा दुवैले पूरा समय काम गरेनन् । नेपाली क्रिकेटको बारेमा यहीँ आएर बुझेपछि वाटमोर छाडेर भारतीय स्टेट टिमको जिम्मेवारी सम्हाल्न पुगे ।

पूर्वप्रशिक्षकहरु पुबुदु, वाटमोर र पटवाल ।

पुबुदुले यसअघिको सफलता दोहोर्‍याउने क्यानको विश्वास थियो । उनी आउँदा नेपाल क्रिकेट टिम स्पष्ट रुपमा दुई गुटमा विभाजित थियो ।

पुबुदुले दुई पक्षलाई मिलाएर टिममा एकता ल्याउने प्रयास गर्दै नेपाललाई फेरि विश्वकप पुर्‍याउने लक्ष्य राखेका थिए, सकेनन् । टिममा एकजुट गराउन केही हदसम्म सफल भए पनि पूर्ण रुपमा गुट अन्त्यको आभाष हुन सकेन । जिम्मेवारीबाट राजीनामा दिएपछि उनले टिमका दरार रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

यदी टिमले जितिरहेको छ भने कमजोरी लुक्छ र प्रशिक्षकको बारेमा केही वास्ता हुन्न उसको जागिर पनि रहिरहन्छ । तर टिमले हार्दा प्रशिक्षकको बढीआलोचना हुन्छ । समर्थकबाट पनि त्यस्तै दवाव रहन्छ ।

क्यानले पनि अहिले सबै कुरामा पाठ सिकिसकेको छ । अब फेरि पहिले जस्तो गल्ती नगर्ने गरी प्रशिक्षक ल्याउने तयारीमा क्यान छ ।

नेपालले केन्या भ्रमण गर्नुअघि नै विदेशी प्रशिक्षक ल्याउने योजनामा रहेको क्यान त्यसो हुन नसकेको ब्याकअपमा पनि तयार छ । यदी विदेशी नआए स्वदेशी प्रशिक्षकलाई नै केन्या भ्रमणमा जिम्मेवारी दिन सक्ने क्यान स्रोतले बताएको छ ।

नेपालले केन्यामा पाँच टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेल खेल्ने प्रस्ताव छ । केही दिनमै यसबारे निर्णय सार्वजनिक हुनेछ ।

नेपाललाई कस्तो प्रशिक्षक चाहिन्छ ?

सन् २०१४ मा टी–२० विश्वकप खेलेपछि नेपालको चर्चा विश्वस्तरमै भयो । यहाँको क्रिकेट क्रेज र समर्थकबारे सबैले थाहा पाए । विदेशी खेलाडीहरु यहाँ आएर नेपाली दर्शक अघि खेल्न र प्रशिक्षकहरु नेपाली क्रिकेटसँग सहकार्य गर्न उत्सुक हुन्थे ।

त्यसपछि भारतका उमेश पटवालदेखि डेभ वाटमोरसम्म आए । पुबुदु फेरि दोस्रो पटक आए । कसैले पनि पूरा कार्यकाल काम गर्न सकेनन् । क्यानले यसको गम्भीर समीक्षा गर्नुपर्ने समय आएको छ ।

त्यसैले क्यान अब ठूला नाम भन्दा पनि काम प्रति लगनशील र नेपाली क्रिकेट विकासका लागि काम गर्ने प्रशिक्षकको खोजीमा छ । ‘ठूला नाम भएर मात्र हुँदैन । काममा प्रतिबद्धता र समर्पण भएको प्रशिक्षक चाहिन्छ । जसले नेपाली क्रिकेट विकासमा योगदान गर्न सकोस्,’ मल्लले भनेका छन् ।

भनेजस्तो प्रोफाइलको प्रशिक्षक पाएमा पारिश्रमिक बढाएरसमेत नियुक्त गर्न संघ सक्षम रहेको क्यान श्रोतको दावी छ ।

अनलाइनखबरसँगको कुराकानीमा राष्ट्रिय टिमका पूर्व कप्तान एलबी क्षेत्री प्रशिक्षक नियुक्त गर्दा धेरै कुरा सोच विचार गरेर मात्र गर्नुपर्ने बताएका थिए । उनले पनि नाम चलेको भन्दा खेलाडीको मनोबल बुझ्न सक्ने र काम गर्न सक्ने प्रशिक्षक चाहिने बताए । ‘मुख्य कुरा खेलाडीको मनोविज्ञान बुझनुपर्छ, कमीकमजोरी सुधार गर्नसक्ने र मनोबल उच्च राख्ने खालको हुनुपर्छ । हामीले दबाबमा कसरी खेल्ने भन्ने बुझाउन सक्नुपर्छ,’ क्षेत्रीले भनेका थिए, ‘प्रशिक्षकको बडी ल्यांग्वेज, नेपाल क्रिकेटमा उसको बनाएको योजना सबै हेर्नुपर्छ । नेपालको लक्ष्यमा फिट हुने प्रशिक्षक चाहिन्छ ।’

राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचन पनि प्रशिक्षक नियुक्त गर्दा पहिल्यै सबै कुरामा प्रष्ट हुनुपर्ने बताउँछन् । ‘कम्तीमा पनि दुई वर्ष काम गर्ने गरी सम्झौता गर्नुपर्छ । नयाँ प्रशिक्षक आएपछि उसले पाउने सुविधाजस्तै पूरा अवधि यहीँ बस्ने निश्चितता हुनुपर्छ,’ आफ्नो अनुभव सुनाउँदै गौचनले अनलाइनखबरसँग भने, ‘प्रशिक्षकहरु परिवर्तन भइरहँदा टिममा धेरै फरक पार्छ । अबको आवश्यकता स्थायी प्रशिक्षकको हो ।’

गौचनले नेपाली टिमको स्तरलाई अझ माथि लैजाने प्रशिक्षक चाहिने बताए । उनले थपे, ‘अब आउने प्रशिक्षकले नेपालको प्रदर्शनलाई एकरुप दिने र त्यसपछि अझ माथिल्लो स्थरमा पु¥याउने खालको हुनुपर्छ ।’

नेपाललाई एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता दिलाएका प्रशिक्षक जगत टमाटाले प्रशिक्षक नियुक्त गर्नुअघि नै सम्झौता र कार्ययोजना बारे सोचेर नियुक्त गर्नुपर्ने बताए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?