+
+

बाढी घटेपछि घर फर्कन थाले श्रीलंका टापुका बासिन्दा

हरि अधिकारी हरि अधिकारी
२०७९ साउन १९ गते १९:२९

१९ साउन, विराटनगर । सप्तकोशी नदीको बाढीका कारण घर छाडेर सुरक्षित स्थानमा आएका श्रीलंका टापुका बासिन्दा घर फर्कन थालेका छन् ।

उदयपुरको बेलका नगरपालिका– ८ मा कटान गरेर सप्तकोशी नदीको भंगालो बस्तीतर्फ पसेपछि स्थानीय बासिन्दा थातथलो छाडेर सुरक्षित स्थानमा सरेका थिए । एक हजार ५०० परिवारले बस्ती छाडे पनि ५०० परिवार जोखिम मोलेरै घरमै बसेका थिए ।

बराहक्षेत्र नगरपालिका–९ का वडाध्यक्ष निरञ्जन मण्डल चन्द्रवंशीका अनुसार बुधबार त्राससँगै रात बिताएकाहरुको त्रास बिहीबार दिउँसो बाढीको बहावसँगै घटेको छ र उनीहरु घर फर्कन थालेका ।

डुबानमा नपरेका ठाउँका बासिन्दा बिहीबार घर फर्किएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताए । ‘जोखिम भएकाले हिजो हामीले उद्धार गरी ल्याएका थियौं,’ यादवले भने, ‘पानी नपसेका केही घरमा मानिसहरु फर्कनु भएको छ ।’

‘हाम्रो घरसम्म पानी आएन, मरिया खोलासम्म मात्रै आयो,’ सुनसरीको बराहक्षेत्र नगरपालिका ९ श्रीलंका टापुका अर्जुन चन्द्रवंशीले भने, ‘आज पानीको बहाव अलिक घटेकोे छ, हिजो डर थियो, आज अवस्था ठिकै छ ।’

उनी ढुक्क भए पनि टापुको गहिरो भाग र खोला किनारमा रहेका घरहरु अहिले पनि डुबानमा छन् । उच्च स्थानमा रहेको घरहरुमा बाढी नपुगेको चन्द्रवंशीले बताए ।

सप्तकोशीको दुई भंगालोको बीचमा रहेको श्रीलंका टापुमा दुई हजार ५०० बढी परिवारको बसोबास छ । टापुलाई उदयपुरको बेलकाको ४ वटा र सुनसरीको बराह नगरपालिकाको २ वटा वडा पर्छन् । बाढीले बेलका नगरपालिकाका १, २, ३, ८ र ९ मा बढी प्रभावित गरेको थियो ।

बढीबाट विस्थापित भएका अधिकांश आफन्तको घरमा बसेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । ‘बाढी प्रभावितहरुलाई हामीले चार स्थानमा राखेका छौं,’ उनले भने, ‘धेरै आफन्तको घरमा बस्नु भएको छ ।’

उनले बाढी अहिले घटे पनि जोखिम कायमै रहेकाले सतर्कता अपनाइएको बताए । ‘उद्धारका लागि तीनवटै सुरक्षा निकायको टोली तयारी अवस्थामा छ,’ उनले भने, ‘हिजोको तुलनामा पानीको बहाव केही घटेको छ ।’

बाढी प्रभावितका लागि स्थानीय सरकारमार्फत राहत वितरण गरिएको छ । बाढी प्रभावित एक हजार पाँच सय परिवारका लागि प्रदेश सरकारले तत्कालका लागि चाहिने राहत सामग्री पठाएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताए । उनले सतर्कता अपनाएका कारण बाढीका कारण मानवीय क्षति नभएको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?