+
+

‘कानुन बनाएर विश्वविद्यालयको तालाबन्दी अन्त्य गर्छौं’

देवेन्द्र पौडेल, शिक्षा मन्त्री देवेन्द्र पौडेल, शिक्षा मन्त्री
२०७९ साउन २० गते ८:५७

विश्वविद्यालयहरूमा कुनै पनि कारणले तालाबन्दी हुनुहुँदैन । विडम्बना भनौं हाम्रा विश्वविद्यालयहरूले पटक–पटक विभिन्न बहानामा तालाबन्दी झेल्नु परिरहेको छ । यो क्रम पछिल्लो समय झन् बढ्दो देखिन्छ । यसले हाम्रो समग्र शिक्षा क्षेत्रलाई नै नकारात्मक असर गरिरहेको छ । त्यसैले कसरी हुन्छ विश्वविद्यालयहरूमा हुने तालाबन्दी अन्त्य गर्नुपर्छ भनेर म लागिरहेको छु । आशा छ हामी चाँडै नै यसको एउटा समाधान निकाल्न सफल हुनेछौं ।

शिक्षासँग सम्बन्धित कुनै पनि कुरा वार्ता, टेबुल, सहमतिमा समाधान गर्न सकिने विषय हो । प्राध्यापकहरू, विद्यार्थी, विश्वविद्यालयमा कार्यरत कर्मचारीहरू यी सबै विश्वविद्यालय शिक्षासँग सम्बन्धित पक्षहरू हुन् । यी सबैका समस्या, मागहरू वार्ताद्वारा हल गर्न नसकिने विषय होइनन् । तालाबन्दी गरेर होइन, वार्ता, संवाद र छलफलबाट समाधान खोजौं भन्दै आएको छु । यो विषयमा मैले सबै पक्षहरूसँग बसेर पटक–पटक कुरा गरिरहेको छु ।

१८ साउन २०७९ मा पनि विद्यार्थी संघ–संगठनसँग तालाबन्दी अन्त्यका लागि मेरो कुरा भएको छ । वार्ताद्वारा समस्या समाधानको उपाय खोज्नुहोस् भनेको छु । प्राध्यापक संघ–संगठनहरूसँग पनि कुरा गरेको छु । उहाँहरूलाई पनि वार्ताद्वारा हल खोज्नुहोस् तालाबन्दी गर्ने कार्य रोक्नुहोस् भनेको छु । सबैतिर अब तालाबन्दी नगर्नुस् भनेको छु । अब तालाबन्दी रोक्नका लागि एउटा ठोस निर्णय गर्ने बेला भएको छ । हामी यसको तयारी गरिरहेका छौं ।

कतिपय विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुनुभएकोले विश्वविद्यालयमा तालाबन्दी रोक्ने विषयमा उहाँसँग पनि सल्लाह गरें । उहाँले पनि विश्वविद्यालयमा तालाबन्दी हुनुहुन्न, यो रोक्नुपर्छ भन्नुभएको छ । पटक–पटक त्रिविमा अन्य विश्वविद्यालमा भइरहने तालाबन्दीले शैक्षिक क्षेत्रमा पारिरहेको असरबारे सबैलाई चिन्तित बनाएको छ ।

यसमा प्रधानमन्त्रीको पनि विशेष चासो छ । शिक्षा क्षेत्रमा बढिरहेको तालाबन्दीको संस्कार अन्त्य गर्न अब ऐन–नियम नै बनाएर जानुपर्छ भन्ने कुरा प्रधानमन्त्रीले पनि राख्नुभएको छ । त्यसैले अहिले हामी यसको अन्त्य गर्न ऐन, कानुन नै बनाएर जाने तयारीमा छौं ।

विश्वविद्यालय मात्रै नभएर कुनै पनि शैक्षिक संस्थाहरूमा तालाबन्दी हुनु नहुने व्यवस्था हुनुपर्छ भन्ने मेरो विचार छ । निरन्तरको तालाबन्दीले पढाइ नै प्रभावित भइरहेको देखिन्छ । तालाबन्दीको सीधा असर विद्यार्थीमाथि नै भइरहेको छ । तालाबन्दीलाई देखाएर समयमा परीक्षा नहुने, ढिला नतिजा प्रकाशन हुने समस्या देखिरहेको छ । यति मात्रै होइन तालाबन्दीले विश्वविद्यालयको मर्यादा र प्रतिष्ठामा प्रश्न उठिरहेको छ ।

विश्वविद्यालयमा विद्यार्थीको पहुँच विस्तारै बढिरहेको अवस्थामा बारम्बार लाग्ने तालाबन्दीले नकारात्मक असर पर्न सक्ने र वैदेशिक अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या बढिरहेको तथ्य सार्वजनिक भइरहेकोले पनि हामीले यो बेलैमा अन्त्य गर्नुपर्ने देखिन्छ । त्यसैले अब सरोकारवाला निकायहरूलाई अनुरोध गरेर ताला खुलाउने भन्दा पनि तालाबन्दी गरेर माग राख्ने परम्पराको कसरी सधैंका लागि अन्त्य गर्न सकिन्छ भनेर म लागिरहेको छु ।

विश्वविद्यालयहरूका आ–आफ्नै ऐन हुन्छन् । ती ऐनहरूमा कहीं न कहीं तालाबन्दी गर्न नहुने व्यवस्था राखेर अगाडि बढ्छौं । त्यसको लागि आन्तरिक रूपमा तयारी भइरहेको छ । पठनपाठनलाई अथवा विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई असर पर्ने गरी कसैले कुनै पनि बहानामा तालाबन्दी गर्ने वातावरण नै बन्न नदिने हाम्रो तयारी छ ।

आज नै (२० साउन २०७९) मा विश्वविद्यालय अनुदान आयोग (युजीसी) मा सबै उपकुलपतिहरूसहित बस्ने र एउटा निर्णयमा पुग्ने गरी छलफल गर्ने तयारी छ । सम्भवतः उक्त छलफलबाट ऐनमै व्यवस्था गरेर विश्वविद्यालयहरूमा लाग्ने तालाबन्दी सधैंका लागि अन्त्य गर्ने निर्णय गर्छौं ।

(शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पौडेलसँग अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?