+
+

वाइवाइले तौल घटायो, मूल्य बढायो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते २१:२१

२० साउन, काठमाडौं । अहिले सबैको टाउको दुखाइको विषय हो, बढ्दो महँगी । तर, पछिल्ला दिनमा महँगी मात्रै बढेको छैन, बढेको मूल्यमा मालसामानका ‘प्याकेट’ हरू खुम्चिन थालेका छन् । यसको सुरुवात नेपालको सबैभन्दा बढी रुचाइने चाउचाउ ब्रान्ड ‘वाइवाइ’बाट भएको छ ।

पछिल्लो दुई महिनामा वाइवाइ चाउचाउले दुई पटक मूल्य बढाएको छ । वाइवाइले मूल्य मात्रै बढाएको छैन, चाउचाउको तौल घटाएर बजारमा पठाएको पाइएको छ ।

वाइवाइले पछिल्ला केही हप्तामै लगातार दुई पटक मूल्य बढाएको र एक पटक १० ग्राम तौल घटाएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

सार्वजनिक रुपमा वाइवाइले मूल्य बढाएको जानकारी दिएको छैन । तर, प्याकटेमा मूल्य बढ्ने र तौल घट्ने एकसाथ भएर आएकाले धेरै ग्राहकले आश्चर्य प्रकट गरेका छन् ।

‘बजारमा धेरै विक्री हुने ७५ ग्रामको वाइवाइ चिकेन र भेज स्वादको चाउचाउको मूल्य जेठ तेस्रो सातासम्म २० रुपैयाँ थियो,’ खुद्रा व्यापार संघका एक सदस्य भन्छन्, ‘अहिले उक्त चाउचाउको मूल्य २३ रुपैयाँ पुगेको छ भने तौल कहिले ६५ ग्राममा झरेको छ ।’  ब्यापारीहरूका अनुसार झन्डै ५ महिना अगाडी ७५ ग्राम ताैल घटाएर ६५ ग्राम बनाइएको थियो ।

अझ रोचक त के छ भने ‘वाइवाइ’ले प्याकेटमा तौल ६० ग्राम मात्र तौल तोकेको छ । स्ट्यान्डर्ड नाप र तौल नियमावली २०७६ चाउचाउको प्याकेजिङ ७५ ग्रामबाट घटाउने हो भने ६० ग्राम कायम गर्नुपर्छ । तर, वाइवाइले चतुरतापूर्वक ५ ग्रामलाई ‘फ्रि’ ट्याग हालेको छ । अर्थात् अब वाइवाइले सित्तैमा दिइरहेको ५ ग्राम पनि जुनसुकै बेला घट्न सक्छ ।

वाइवाइले २० जेठपछि वाइवाइ चिकेन र भेजको मूल्य क्रमशः २० बाट २२ र १५ बाट २० रुपैयाँ पुर्‍याएको थियो । तर, साउन लागेपछि चिकेन स्वादको मूल्य पुनः २२ रुपैयाँबाट बढाएर २३ रुपैयाँ पुर्‍याएको हो ।

प्याकेटमा बढेको मूल्यसँगै वाइवाइले कार्टुनको पनि मूल्य बढाएको छ । खुद्रा व्यापार संघकाअनुसार यसअघि एक कार्टुन वाइवाइ चिकेन चाउचाको मूल्य ५४० रुपैयाँ थियो । अब यस्तो चाउचाउको मूल्य प्रति कार्टुनको ५९५ रुपैयाँ पुगेको छ ।

वाइवाइले चिकेन पिज्जा र क्विक्सलाई २० रुपैयाँ र वाइवाइ जम्बोलाई २५ रुपैयाँ प्रतिगोटामा  विक्री गरिरहेको छ ।

कुनै कम्पनीले मूल्य बढाएको र तौल घटाएको विषयमा जानकारी नहुने वाणिज्य विभागले जनाएको छ । विभागका महानिर्देशक लिलाप्रसाद शर्माका अनुसार बिस्कुट उद्योगीले महँगीअनुसार मूल्य बढाउन नपाए तौल घटाउने घुर्की लगाएका थिए । त्यसबाहेक अन्य कुनै सूचना विभागमा नभएको शर्माले बताए ।

मूल्य बढाउने र तौल घटाउनेबारे अनुमति लिनुपर्ने र यसबारे जानकारी दिनुपर्ने व्यवस्था नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागहरुले जनाएका छन् । प्याकेटमा लेखिएको मूल्य र तौल फरक परेमा भने कारवाही हुन सक्ने विभागीय अधिकारीहरुको भनाइ छ ।

‘वाइवाइले नै मूल्य बढाएर तौल घटायो भनेपछि अब बजारमा यो ट्रेन्ड नै मौलाउँछ,’ नापतौल विभागका एक अधिकारी भन्छन्,’चुनाव लागेको छ, दलहरुलाई दिने चन्दा जोहो गर्ने सजिलो बाटो यही हो ।’

पीठो र तेलको मूल्य सामान्य हुने बित्तिकै घटाउँछौं– चाैधरी ग्रुप

चौधरी ग्रुपले भने वाइवाइ मूल्य बृद्धि हुनुमा युक्रेन युद्धका कारण गहुँको पिठो र खाने तेलको मूल्यबृद्धि कारक रहेको बताएको छ । साथै उसले तौल घट्ने र मूल्य बढ्ने काम एकैपटक नभएको दावी गरेको छ ।

‘जेठ महिनामा मूल्यवृद्धि हुनुअघि नै वाइवाइको तौल ६५ ग्राम थियो’, कम्पनीका उपाध्यक्ष जि.पी शाहले भने, ‘अहिले पनि उस्तै छ । त्यसैले तौल घटेको भन्ने आरोप सही हैन ।’

युक्रेन युद्ध सुरु भएदेखि गहुँको पिठोको मूल्य ३० प्रतिशतले बढेको भन्दै कम्पनीले विश्वभर खाद्य तेल (चाउचाउ उत्पादनमा प्रयोग हुने तेल) को मूल्य ८० प्रतिशतभन्दा बढीले बढेको र इन्धनको मूल्यमा पनि ३०% भन्दा बढीको बृद्धिले पारेको दबाब पनि स्मरण गर्न कम्पनीले सबैलाई आग्रह गरेको छ ।

३५ वर्षअघि वाइवाइ मूल्य १० रुपैयाँ रहेको भन्दै उनले पैतिस वर्षको दौरान सुन, इन्धन, नेपाली मुद्राको मुद्रास्फीति, दाल चामललगायतका खाद्य सामाग्रीको मूल्यमा पचासौं गुणाले बढ्दा पनि वाईवाईको मूल्य भने त्यही अनुपातमा नबढेको बताए ।

विश्व बजारमा अहिले भएको अभुतपूर्व मूल्यवृद्धिका कारण खाद्य पदार्थ, विशेषगरी चाउचाउ र बिस्कुटको उत्पादन लागतमा भारी वृद्धि भएको बताउँदै गहुँको पीठो र खाद्य तेलको मूल्य सामान्य हुने बित्तिकै चाउचाउको मूल्य समायोजन गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?