+
+
छिमेक :

आफ्नै हेडक्वार्टरमा बमबार्ड गर्ने ‘सन्त’ कम्युनिस्ट

आदर्श र सादापनका बेजोड नमूना, जसबाट नेपालका कम्युनिस्टहरूले पनि सिक्नु जरुरी छ !

यसै सेरोफेरोमा आजित हुँदै नृपेन चक्रवर्तीले भनेका थिए– ‘हामी मार्क्सवादी कम्युनिस्टहरू इँटाको झटारो खान योग्य छौं, फूलको गुच्छा होइन।’

केदार सिटौला केदार सिटौला
२०७९ साउन २२ गते १८:४५

नृपेन चक्रवर्ती– भारतको त्रिपुरा राज्यका अत्यन्तै लोकप्रिय र सम्मानित नेताको नाम हो। उनी दुई पटकसम्म उक्त राज्यको मुख्यमन्त्री बनेका थिए। निष्कलङ्क छवि, सादा जीवन अनि विचार र व्यवहारमा तादाम्यता भएको ‘सन्त’ नेताको रूपमा आज पनि उनलाई उच्च आदर–सम्मानका साथ सम्झना गरिन्छ। उनको अनुकरणीय जीवनका अनुकरणीय एवं बेजोड पाटाहरूको शब्दचित्र सबै पुस्ताका लागि उपयोगी हुनसक्छ।

नृपेन चक्रवर्तीको जन्म अविभाजित भारतअन्तर्गत पूर्वी बङ्गालको ढाका (हालको बंगलादेश) मा १९०४ मा एउटा सुशिक्षित, मध्यमवर्गीय परिवारमा भएको थियो। उनका बुवा राजकुमार चक्रवर्ती र आमा उत्तम सुन्दरी देवी थिइन्। उनले ढाका विश्वविद्यालयबाट स्नातक र कलकत्ता विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका थिए।

गान्धीवादी नृपेन जब कम्युनिस्ट बने

नृपेन चक्रवर्ती जन्मे र हुर्केको समयमा भारतीय स्वतन्त्रता संग्राम चलिरहेको थियो। शताब्दीयौं लामो बेलायती औपनिवेशिक शासनबाट मुक्त हुनको लागि समग्र भारत आन्दोलित र संघर्षरत थियो। महात्मा गान्धी, सुवासचन्द्र बोस, भगतसिंह लगायत नेतृत्वमा भारतमा विभिन्न रूप र स्वरूपका राष्ट्रिय स्वाधीनता आन्दोलन चलिरहेका थिए।

युवा जोश तथा राष्ट्रियताको भावनाले ओतप्रोत चक्रवर्ती त्यसबाट अछुतो रहन सक्ने कुरै थिएन। फलतः आफ्नो अध्ययनकै क्रममा उनी स्वतन्त्रता संघर्षमा सक्रियतापूर्वक होमिए। त्यसताका उनी गान्धीको विचारदर्शनबाट धेरै प्रभावित थिए। कतिसम्म भने उनी महात्मा गान्धीले १९३० मा गरेको प्रख्यात दांडी मार्चमा पनि सहभागी बनेका थिए। तर कालान्तरमा गान्धीको विचारदर्शनप्रति नृपेन चक्रवर्तीको मोहभंग भयो।

त्यसरी गान्धीको विचारदर्शनप्रति मोहभंग हुनुका थुप्रै कारणमध्ये अर्थतन्त्र सम्बन्धी गान्धीको विचार प्रमुख थियो। गान्धीको अर्थतन्त्र सम्बन्धी नीतिले वर्ग समन्वयको पक्षपोषण गर्थ्यो तर नृपेन चक्रवर्ती चाहिं समाजवादी अर्थतन्त्रका पक्षपाती थिए। कालान्तरमा गान्धीसँगको मोहभंगताले उनलाई मार्क्सवादतिर डोर्‍यायो। सन् १९३२ मा उनी भारतीय कम्युनिस्ट पार्टीको सदस्य बने।

विचारले मात्रै हैन, व्यवहारमै पनि कम्युनिस्ट !

नृपेन वैचारिक रूपमा मात्रै कम्युनिस्ट पार्टीप्रति आकर्षित भएका थिएनन्, उनी त दिलदिमागबाटै कम्युनिस्ट थिए। त्यसैले त उनी कम्युनिस्ट पार्टीमा आबद्ध भएपछि आफूले अङ्गीकार गरेका कम्युनिस्ट सिद्धान्त र आदर्शलाई व्यवहारमै पनि लागू गर्ने अभ्यासमा जुटेका थिए। त्यसका लागि समयक्रममा उनले मजदुरवर्गको बीचमा संगठन बनाउन जुट मिलमा मजदुरी गरे, रिक्सा चालक बने र भारी बोक्ने भरियाको काम पनि गरे।

बहुप्रतिभाका धनी नृपेनले बीचमा पत्रकारितासमेत गरे, ‘आनन्दबजार’ पत्रिकाका उपसम्पादक पनि बने। त्यसबाहेक उनले पार्टीका प्रकाशन ‘स्वाधीनता’मा सहसम्पादक तथा पार्टीकै अर्को प्रकाशन ‘देशेर कथा’ दैनिकमा स्तम्भकारका रूपमा पनि काम गरे। पत्रकारितामा उनको लेखकीय नाम अरूप रोय थियो।

केदार सिटौला

कुशल संगठन क्षमता र प्रखर वक्तृत्वकलाका धनी नृपेनलाई पार्टी प्रवेश गरेको दुई वर्षको छोटो अन्तरालमै बङ्गाल प्रान्तीय कमिटीको सचिवको जिम्मेवारी सुम्पिइएको थियो। यस हिसाबले उनी बङ्गालका ख्यातिप्राप्त कम्युनिस्ट नेताहरू प्रमोददास गुप्ता र ज्योति वसुभन्दा पनि वरिष्ठ थिए।

भारतीय स्वतन्त्रता संग्रामकै क्रममा उनी पटक–पटक जेल परे। तर अंग्रेजहरूले उनलाई धेरै लामो समयसम्म कैदमा राख्न सकेनन्। उनी अंग्रेज सिपाहीलाई छक्याएर फरार पनि बने। उनको जेल बसाइको क्रम १९४७ मा भारत स्वतन्त्र बनेपछि पनि रोकिएन।

भारतीय कम्युनिस्ट पार्टी र नेहरू सरकारको बीचमा सहज सम्बन्ध रहेन। १९४८ मा भारत सरकारले भारतीय कम्युनिस्ट पार्टी माथि प्रतिबन्ध नै लगाएपछि नृपेन चक्रवर्ती फेरि भूमिगत बने। स्वतन्त्र भारतमा समेत उनी शासकहरूको कोपभाजनको शिकार बनेर पटक–पटक जेल जानु पर्‍यो।

सांगठनिक कुशलता

नृपेन चक्रवर्ती कुशल संगठक पनि थिए। १९५० मा पार्टीको निर्देशन अनुसार चक्रवर्ती तीनजना कार्यकर्ताहरूका साथ त्रिपुरा राज्यमा संगठन विस्तार गर्न गए। त्रिपुरा राज्यमा कम्युनिस्ट पार्टीको सांगठनिक अस्तित्व त थियो तर खासै विस्तार हुनसकेको थिएन। नृपेन चक्रवर्तीले कुशलताका साथ संगठन मजबुत बनाउन थाले।

त्रिपुरा मूलतः आदिवासी जनजाति बहुल राज्य थियो। आदिवासीहरूकै बीचमा बसेर विस्तारै उनले उनीहरूको विश्वास जित्न सफल बने। नृपेन चक्रवर्ती त्रिपुराका आदिवासीहरूको भाषा ककबोरक (त्रिपुरी वा तिप्राकक समेत भनिने) धाराप्रवाह बोल्न सक्थे।

आदिवासीहरूले पनि उनलाई उच्च सम्मानका साथ ‘जगत–दा’ अर्थात् सर्वोच्च नेता भन्ने गर्थे। उनको सांगठनिक कुशलता कतिसम्म थियो भने त्रिपुराका आदिवासीहरूको सबैभन्दा ठूलो संगठन गण मुक्ति परिषदलाई कम्युनिस्ट पार्टीमा एकीकरण गराउन सफल भए। यो एकता त्रिपुरामा कम्युनिस्ट आन्दोलनमा एउटा कोसेढुंगा बन्यो। यसैले गर्दा त्रिपुरामा भारतीय कम्युनिस्ट पार्टीको संगठनको आधार निकै मजबुत बन्यो।

सन् १९६४ मा भारतीय कम्युनिस्ट पार्टी विभाजन हुँदा नृपेन चक्रवर्ती नवगठित भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी (छोटकरीमा माकपा) तर्फ लागे। उनले आफूसँगै त्रिपुराका पूरै पार्टी युनिटलाई समेत माकपामा समाहित गराए। उनलाई १९७२ मा पार्टीको केन्द्रीय सदस्य र १९८२ मा पोलिटब्युरो बनाइएको थियो।

त्रिपुरामा भुइँतहसम्मै भिजेर संगठन निर्माण गर्न खटेको हुनाले उनी त्यहाँ यति लोकप्रिय भए कि उनले ७ पटकसम्म (१९५७ देखि १९९३) लगातार विधानसभाको सदस्यको चुनाव जितिरहे। आदिवासीहरूका माझ जगत दाका रूपमा स्थापित नृपेन चक्रवर्ती आमसमर्थक र माया गर्नेहरूका माझ नृपेन दाका रूपमा चर्चित, लोकप्रिय र सम्मानित थिए।

मुख्यमन्त्री र टिनको बाकस

नृपेन चक्रवर्ती भुइँतहसँग जोडिएका नेता थिए। उनको जीवन अत्यन्तै सरल र सामान्य थियो। १९७८ मा त्रिपुरा राज्यको मुख्यमन्त्री बनिसकेपछि पनि उनले आफ्नो सादगीपूर्ण जीवनलाई कायमै राखे। मुख्यमन्त्री बनेपछि उनी रिक्सामा चढेर आफूसँग एउटा टिनको बाकस लिएर मुख्यमन्त्री निवासमा गएका थिए।

सत्ताको राप, ताप र प्रभावले मै हुँ भन्ने मानिसहरूको रहनसहन र आचरणमा भयानक परिवर्तन आउने गर्छ। तर नृपेन त्यसको अपवाद रहे। मुख्यमन्त्री पदमा रहँदा समेत उनको सरल र भुइँतहका जनताका जीवनशैलीमा कुनै परिवर्तन आएन। अविवाहित नृपेन चक्रवर्ती आफ्नो लुगा आफैं धुन्थे र सुकाउँथे।

उनको शयनकक्ष पनि अति नै साधारण थियो। शासनसत्तामा पुगेपछि पदीय दुरूपयोग गरेर विलासी जीवन बिताउन पछि नहट्ने तेस्रो विश्वका अधिकांश नेताहरूले अपनाउने असुहाउँदिलो ठाँटबाठको जीवनशैलीबाट उनी अछुतो थिए। कतिसम्म भने त्रिपुराको प्रचण्ड गर्मीमा पनि उनको कोठामा कुनै एसी जडान गरिएको थिएन।

१९८८ मा चुनावमा उनको पार्टी माकपा पराजित भयो। नृपेन चक्रवर्ती आफ्नो त्यही टिनको बाकस बोकेर सत्ताबाट बाहिरिए। चाहेका भए उनले पनि राज्यका स्रोतसाधनको वैधानिक रूपमा उपभोग गर्न सक्थे तर उनले त्यसो गरेनन्। पदबाट मुक्त भएपछि उनी रिक्सा चढेर मुख्यमन्त्री निवासबाट विधानसभाको सदस्यका लागि बनाइएको होस्टेलमा सरे।

कसैले ‘धेरै चिनीले हानि गर्छ, किन यति धेरै चिनी हालेको ?’ भनेर सोध्दा नृपेन चक्रवर्तीले जवाफ दिन्थे– ‘चिनीले मलाई दिनभर काम गर्न सक्ने तागत दिन्छ।’

१०–१० वर्ष त्रिपुराको मुख्यमन्त्री रहेका नृपेनको टिनको बाकसमा केही थान कपडा र किताबहरू मात्र थिए। राज्यको शासनसत्ताको उच्च पद मुख्यमन्त्रीमै रहँदा पनि उनले कुनै भौतिक सम्पत्ति जोडेका थिएनन्। १९८० को दशकमा यो घटना अति नै चर्चित भएको थियो। यो घटना कुनै देखावटी नाटक वा राजनीतिक स्टन्टबाजी थिएन।

यसमा नृपेन चक्रवर्तीको समग्र राजनीतिक दर्शन, जनताप्रतिको जवाफदेहिता र बचनबद्धता झल्किन्थ्यो। छोटोमा भन्दा, नृपेन चक्रवर्तीले अहिलेका स्वघोषित वामपन्थी–कम्युनिस्ट नेताहरूले जस्तै राजनीतिलाई सत्ताको भर्‍याङ चढ्ने र अकुत व्यक्तिगत सम्पत्ति जोड्ने साधनको रूपमा कहिल्यै लिएनन्।

सादगीपनका केही रमाइला किस्सा

नृपेन चक्रवर्ती मुख्यमन्त्री रहेको बेला एस आर शंकरण मुख्यसचिव नियुक्त भए। ‘जनताको अफिसर’ उपमा पाएका शंकरण पनि आफ्नो सादा जीवन र इमानदारीको लागि भारतमा प्रख्यात थिए। शंकरणको सम्मानमा नृपेन चक्रवर्तीले सोही साँझ खाना खान आमन्त्रित गरे। लुंगी र भित्री गन्जी लगाएका नृपेन चक्रवर्तीले मुख्य सचिवलाई आफ्नो निवासमा स्वागत गरे।

‘टेबल क्लोथ’ पनि नभएको काठको टेबलमा दुवैजना खाना खान बसे। खाना प्लास्टिकको प्लेटमा पस्किइएको थियो। रमाइलो कुरा, नृपेन चक्रवर्तीको प्लेटको बिट चाहिं अलिकति फुटेको थियो। परिकारमा भात, दाल, आलु र पर्वलको तरकारी थियो। त्रिपुरामा पर्वल नहुने भएकोले कलकत्ताबाट मगाएर पाहुनाको सम्मानमा पर्वलको तरकारी पकाइएको थियो।

शंकरण मुख्यमन्त्रीको सादापनबाट असाध्यै प्रभावित भए।

एकपटक दिल्लीयात्राको क्रममा नृपेन चक्रवर्तीले कपडा किन्न चाहेको कुरा बताए। शंकरण छक्क परे। किनकि आजसम्म उनले नृपेन चक्रवर्तीले आफ्नो लागि केही किनेको देखेकै थिएनन्। कौतूहलवश उनले कपडा कसको लागि भनी सोधे। नृपेन चक्रवर्तीले जवाफ दिए– मेरो ड्राइभरको छोराको जन्मदिन छ, उसलाई उपहार दिन राम्रो कपडा किन्न खोजेको हो।

एक पटक भारत सरकारका केन्द्रीय श्रममन्त्री रघुनाथ रेड्डी त्रिपुराको भ्रमणमा आएका थिए। मुख्यमन्त्री चक्रवर्तीले केन्द्रीय मन्त्री रेड्डी र मुख्य सचिव शंकरणलाई आफ्नो निवासमा ब्रेकफास्टको लागि आमन्त्रण गरे। ब्रेकफास्टमा दुई वटा गुलाब जामुन र एककप चिया थियो। यति खाएर श्रममन्त्री रघुनाथ रेड्डी ब्रेकफास्टको ‘मुख्य आइटम’का लागि पर्खिरहेका थिए। शंकरणले उनलाई तेलगु भाषामा ‘ब्रेकफास्ट त यति नै हो’ भनेर जानकारी दिए। छक्क परेका रघुनाथ रेड्डीले तत्काल जवाफ दिए– ‘कम्युनिस्टहरू आफ्नै हिसाबले कन्जुस त हुन्छन् तर तिनीहरूलाई पनि राम्रोसँग ब्रेकफास्ट खानुपर्छ भनेर भन्दिनुपर्छ।’

सामान्यतः नृपेन चक्रवर्तीको बिहानको खाजा चिया र भुजा (मुरई) मात्र हुन्थ्यो। एउटा ठूलो ग्लासमा तीन चम्चा चिनी हालेर उनी पिउँथे। कसैले ‘धेरै चिनीले हानि गर्छ, किन यति धेरै चिनी हालेको ?’ भनेर सोध्दा नृपेन चक्रवर्तीले जवाफ दिन्थे– ‘चिनीले मलाई दिनभर काम गर्न सक्ने तागत दिन्छ।’

मुख्यसचिव शंकरण आफ्नो पदावधि सकिएर त्रिपुराबाट बिदा हुने बेला उनलाई नृपेन चक्रवर्तीले बिदाइ रात्रिभोजमा बोलाए। त्यो रात्रिभोजमा जम्मा दुई जना मात्र सहभागी थिए– स्वयं नृपेन चक्रवर्ती र पाहुना मुख्य सचिव शंकरण। काठको टेबलमा दुईवटा काठकै कुर्सीहरू राखिएका थिए।

परिकारमा साधारण भात र एक थोक सब्जी मात्र थियो। मुख्यसचिव शंकरणले एक गाँस भात खानेबित्तिकै मुख बिगारे। नृपेन चक्रवर्तीले त्यो कुरा महसुस गरिहाले। उनले भद्रतापूर्वक मुख्यसचिवलाई बताए– अहिले तपाईंले खानुभएको भात त्यही चामलको भात हो, जुन गरिब जनतालाई रासनको दोकानमार्फत वितरण गरिन्छ।’ उनको कुरा सुनेर शंकरण ट्वाँ परे।

एकपटक दिल्लीबाट एकजना ठूला पत्रकार नृपेन चक्रवर्तीको अन्तर्वार्ता लिन त्रिपुरा पुगे। राजधानी अगरतल्लामा उत्रिनेबित्तिकै त्यहाँको अधिक आर्द्रतायुक्त्त उकुसमुकुसपूर्ण गर्मीबाट आत्तिए। त्यसबाट त्राण पाउनका लागि उनी त्यहाँको सबैभन्दा राम्रो होटलमा बसे तर त्यहाँ पनि एसी थिएन।

नृपेन चक्रवर्तीको सरकारले आफ्नो राज्यको राजधानीमा समेत एसी भएको एउटा होटल समेत खोल्न नसकेकोमा ती पत्रकार क्षुब्ध बने। भोलिपल्ट पत्रकारले मुख्यमन्त्री नृपेन चक्रवर्तीसँगको अन्तर्वार्ताको क्रममा यसबारे प्रश्न सोधे– ‘मुख्यमन्त्री साब, तपाईंको राजधानीमा धेरै सुधारको आवश्यकता छ। यहाँका ठूला होटलमा समेत एसीको सुविधा छैन। यो पर्यटनको लागि र तपाईंको राज्यको छविको लागि पनि राम्रो होइन।’

नृपेन चक्रवर्तीले मुस्कुराउँदै जवाफ दिए– ‘तपाईंले मेरो कोठामा कुनै एसी देख्नुभएको छ ? कृपया यो कुरा थाहा पाइराख्नोस्– आम जनताका पहुँचभन्दा टाढाका यस्ता विलासिताका साधनहरू मेरा प्राथमिकतामा पर्दैनन्।’

नृपेन चक्रवर्तीले आफ्नो कार्यकालमा कहिल्यै पनि एसीको प्रयोग गरेनन्। उनको अफिसको च्याम्बरका छतमा तथा एक कुनामा पंखाहरू मात्र हुन्थे। मुख्यमन्त्रीले नै एसी प्रयोग नगरेपछि मन्त्री, मुख्यसचिव र सचिवहरूले कसरी गर्नु ? सचिवहरूले नै नगरेपछि जिल्लाका कलेक्टरहरूले कसरी एसी लगाउन सक्थे ? आम जनताका पहुँचभन्दा बाहिरका सेवासुविधाहरू सकेसम्म प्रयोग नगर्ने संस्कृतिको विकास गरेका थिए त्रिपुरामा नृपेन चक्रवर्तीले। जब उनी सत्ताबाट हटे, सत्तामा स्थापित कांग्रेसको सरकारका मुख्यमन्त्री, मन्त्री तथा उच्च पदका कर्मचारीहरूले एसी चलाउन थाले।

नृपेन चक्रवर्ती त्रिपुराको मुख्यमन्त्रीको रूपमा दोस्रो कार्यकालको लागि निर्वाचित भएपछिको कुरा हो। भारतका पत्रकार बेङ्कटेस रामकृष्णन उनको अन्तर्वार्ता लिन गए।

अन्तर्वार्ताको सुरुवातमा नै उनले नृपेनलाई जीतको लागि बधाई दिए। उनले बधाई दिइनसक्दै नृपेनले बीचैमा रोकेर भने– ‘तपाईं मलाई किन बधाई दिंदै हुनुहुन्छ ? केको लागि बधाई दिंदै हुनुहुन्छ ? तपाईंलाई थाहा छ– मैले आफ्नो पहिलो कार्यकालमा आफ्नो राज्यका जनताका लागि खास केही गर्न सकेको थिइनँ।

तपाईंलाई थाहा छ अझै पनि सफा खानेपानीमा त्रिपुराका ६० प्रतिशत जनताको पहुँच छैन ? तपाईंलाई थाहा छ– यति सानो राज्यमा पनि सयौं गाउँहरूमा अझै बिजुली पुग्न सकेको छैन ? तपाईंलाई थाहा छ अझै पनि हजारौं मानिसले पोषणयुक्त भोजन खान पाइरहेका छैनन् ?’

नृपेन चक्रवर्तीका यी प्रतिप्रश्नहरू सुनेर रामकृष्णन नाजवाफ बने। उनले आफ्नो कमजोरीको लागि क्षमा माग्दै अब त्रिपुराले भोगिरहेका समस्याहरूलाई प्राथमिकता दिने बाचा गरे।

पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति वसु त्रिपुराको भ्रमणमा आएका थिए। उनले सरकारी पाहुनाहरूलाई राखिने अतिथि गृह (सर्किट हाउस) मा हैन, आफ्ना पुराना कमरेड नृपेन चक्रवर्तीसँगै मुख्यमन्त्री निवासमा बस्ने इच्छा व्यक्त गरे। सोही अनुसारको व्यवस्था गरियो। भोलिपल्ट बिहान ज्योति वसुले नुहाउनको लागि एउटा तौलिया मागे।

उनलाई तौलियाको बदला गम्छा दिइयो। त्यो आम मजदुरहरूले प्रयोग गर्ने सस्तो खालको रातो रंगको गम्छा थियो। ज्योति बसुले त्यो गम्छा प्रयोग गर्न इन्कार गरे। बङ्गालको सम्भ्रान्त वर्ग (भद्र लोग) का मानिसमा रुपान्तरित भइसकेका वसुले कसरी त्यस्तो गम्छा प्रयोग गर्न सक्थे ? एक कान, दुई कान, मैदान हुँदै त्यो कुरा मुख्यमन्त्री निवासमा फैलिएपछि प्रहरीहरू तत्कालै सर्किट हाउस गएर ज्योति वसुको लागि तौलिया ल्याइदिए।

नृपेन चक्रवर्ती मुख्यमन्त्री भएकै बेलाको कुरा हो। त्रिपुरा राज्यमा भारतीय प्रहरी सेवा (आईपीएस) का पिके सिद्धार्थ ‘सव डिभिजनल पुलिस अफिसर’को रूपमा नियुक्त भएर आए। नयाँ नियुक्ति, केही गरेर देखाइहाल्ने जोशमा पिके सिद्धार्थले आफ्नो इलाकाका सडक किनारमा रहेका टहरा, घुम्ती र सडक पेटीमा दोकान राखेर बसेकाहरूलाई हटाउने आदेश दिए। प्रहरीले तत्काल बल प्रयोग गरेर सडकको किनारमा र पेटीमा रहेका पसलहरू हटाए।

सो घटनाको एक हप्तापछि नृपेन चक्रवर्ती सो इलाकाको भ्रमणमा आए। उनले घटनाबारे थाहा पाएपछि तत्कालै ती पुलिस अफिसरलाई बोलाए र उसको काँधमा हात राख्दै सोधे– ‘के छ हालखबर ?’ पुलिस अफिसरले जवाफ दिए – ‘राम्रो छ।’ त्यसपछि मुख्यमन्त्रीले सोधे – ‘तपाईंको महिनाको तलब कति छ ?’ अफिसरले जवाफ दिए–‘बाह्र सय रुपैयाँ।’ त्यसपछि नृपेन चक्रवर्तीले उनलाई सोधे– ‘तपाईंले हटाउनुभएका सडक किनारामा दोकान थाप्ने मान्छेकोहरूको मासिक आय कति होला, तपाईंलाई थाहा छ ?’ मुख्यमन्त्रीको यस्तो अप्रत्याशित प्रश्न सुनेर छक्क परेका ती अफिसरले जवाफ दिए– ‘मलाई थाहा छैन।’

त्यसपछि नृपेन चक्रवर्तीले उनलाई सम्झाउँदै भने– ‘तपाईंले कानुन व्यवस्था लागू गरेर राम्रो गर्नुभयो। तर एउटा कुरा याद राख्नुहोला– हामीले रोजगारी दिन नसकेको अवस्था आफ्नो लागि आफैं रोजगारी जुटाइरहेकाहरूलाई यसरी बलपूर्वक हटाउनु उचित होला ?’ नृपेन चक्रवर्तीको यो मानवीय कुरा सुनेर प्रहरी अफिसर स्तब्ध बने। उनले त्यसपछि सडकमा ट्राफिकलाई बाधा पार्ने पसलहरूलाई मात्र हटाए। यसअघि हटाइएका पसलहरूलाई समेत अन्यत्रै वैकल्पिक स्थान उपलब्ध गराइदिए।

‘हेडक्वार्टर’मा बमबार्ड !

जीवनको अन्तिम समयतिर नृपेन चक्रवर्तीको आफ्नै पार्टी माकपा (भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी)सँग तिक्ततापूर्ण मतभेद सुरु भएको थियो। कम्युनिस्ट सिद्धान्त र आदर्शलाई व्यवहारमा अपनाउने अभ्यासमा जुटेका ‘सन्त’ कम्युनिस्ट नेता नृपेनलाई पार्टीभित्र देखापरेको सैद्धान्तिक विचलन र अत्यधिक द्रव्यमोहले विचलित तुल्याएको थियो। त्यसबारे उनले पार्टीभित्र चलाएका अन्तरसंघर्षहरूको खासै सुनुवाइ नभएपछि १९९५ मा नृपेन चक्रवर्तीले आफ्नो पार्टी कम्युनिस्ट नभएर सोसल डेमोक्रेटिक पार्टी बनेको आरोप लगाए।

नृपेन चक्रवर्तीले पार्टीको भ्रष्टीकरण र सैद्धान्तिक विद्रुपीकरणका विरुद्ध उठाएका कठोर तथा जायज प्रश्नका उत्तर उनीहरूसँग थिएन। त्यसैले उनीहरूले नृपेन चक्रवर्तीलाई त्यही दिन पार्टीबाट निष्कासित गरिदिए।

उनले पश्चिम बङ्गालमा अकण्ट शासन चलाइरहेका सो पार्टीका अर्का वरिष्ठ नेता तथा आफ्ना निकटस्थ कमरेड ज्योति वसुमाथि पनि गम्भीर आरोपहरू लगाएका थिए। उनले भनेका थिए– ‘ज्योति वसुले आफ्ना असभ्य, अमानवीय तथा जनविरोधी कार्यक्रममार्फत पश्चिम बङ्गालको वामपन्थी सरकारलाई अपराधीकरण गरेका छन्।

त्यही कारण पश्चिम बंगालका सर्वहाराहरू संघर्षको बाटोबाट भट्किएका छन। ज्योति वसुद्वारा गरिएका कुकर्महरूका लागि उनलाई कठघरामा उभ्याउनुपर्छ र उनलाई कम्युनिस्टहरूको अदालतमा मुद्दा चलाउनुपर्छ। ज्योति वसुले पश्चिम बङ्गाल सरकारलाई मात्र होइन, पूरै पार्टी युनिटलाई नै अपराधीकरण गरेका छन्।’

‘म पश्चिम बङ्गालका त्यस्ता थुप्रै मन्त्रीहरूलाई चिन्छु, जसले पाँच वर्षको आफ्नो कार्यकालमा एक करोडभन्दा बढीको सम्पत्ति जोडेका छन्। यति मात्र होइन, गाउँ पञ्चायतका कतिपय सदस्यहरूले पनि पाँच वर्षभित्र पचास लाखभन्दा बढीको सम्पत्ति जोडेका छन्। अब कुन आधारमा यी मन्त्री र पञ्चायत सदस्यहरूलाई कम्युनिस्ट भन्ने ?’

‘ज्योति वसुले आफ्नो छोराको व्यापारलाई विस्तार गर्नको लागि मुख्यमन्त्री पदको दुरूपयोग गरेका छन्। उनले चन्दन वसुलाई करोडौंको सम्पत्ति आर्जन गर्ने छुट दिएका छन्। यही नै कम्युनिस्ट पार्टी हो र नेताहरू यस्तै हुन् भने यो सब भ्रम हो, धोखा हो। साँच्चै भन्ने हो भने ज्योति वसु जस्ता मानिसहरूले माकपा (भारतीय कम्युनिस्ट पार्टी–मार्क्सवादी) लाई सोसल डेमोक्र्याटिक पार्टीमा परिणत गरिदिएका छन्।’

नृपेन चक्रवर्तीको यो वक्तव्य माकपाको हेडक्वार्टरमाथिको भीषण बमबारी जस्तै थियो। उनको त्यो वक्तव्यले माकपाको नेतृत्व स्तब्ध बन्यो, सिङ्गो पार्टीमा ठूलो परकम्प ल्यायो। तत्कालीन समयमा माकपाको नेतृत्व सम्हालिरहेका पार्टी महासचिव हरकिसन सिंह सुरजित र ज्योति वसु जस्ता नेताहरू विक्षिप्त जस्तै बने। नृपेन चक्रवर्तीले पार्टीको भ्रष्टीकरण र सैद्धान्तिक विद्रुपीकरणका विरुद्ध उठाएका कठोर तथा जायज प्रश्नका उत्तर उनीहरूसँग थिएन। त्यसैले उनीहरूले नृपेन चक्रवर्तीलाई त्यही दिन पार्टीबाट निष्कासित गरिदिए।

यसै सेरोफेरोमा आजित हुँदै नृपेन चक्रवर्तीले भनेका थिए– ‘हामी मार्क्सवादी कम्युनिस्टहरू इँटाको झटारो खान योग्य छौं, फूलको गुच्छा होइन।’

पार्टीबाट निष्कासित भए पनि नृपेन चक्रवर्ती १९९८ सम्म विधानसभाको सदस्य रहे। त्यसपछि परित्यक्त जस्तै भएर उनी सांसदहरूको होस्टलमा बस्न थाले। नृपेन चक्रवर्ती र सीपीएम बीच यति कटुतापूर्ण सम्बन्ध बनेको थियो कि जीवनको उत्तरार्धमा आएर उनी आफैंले मलजल गरेर हुर्काएका पार्टीको बहिष्करणमा परे। पार्टीका कुनै पनि सदस्यले उनलाई भेट्नु समेतलाई दण्डनीय अपराध मानिन्थ्यो।

९९ वर्षको उमेरमा नृपेन चक्रवर्ती गम्भीर रूपमा बिरामी परे। उनलाई उपचारको लागि कलकत्ताको एउटा अस्पतालमा भर्ना गरियो। जीवनको अन्तिम घडीमा पुगेको बेला लोकलाजका कारण र अवगालबाट बच्न सीपीएमको नेतृत्वले ‘कम्युनिस्ट आन्दोलनको लामो सेवा गरेको’ शब्दजालको सहारा लिंदै नृपेन चक्रवर्तीमाथि गरेको कारबाही फिर्ता लियो र उनको पार्टी सदस्यता पुनर्बहाली गर्‍यो।

दुर्भाग्यको कुरा, त्यसबेला उनलाई कारबाही फुकुवा गर्नु वा पुनर्बहाली गर्नुले खासै केही फरक पर्ने वाला थिएन किनकि त्यस बखत उनी अचेत अवस्थामा थिए। कारबाही फुक्का र पुनर्बहाली गरेको दुई दिनपछि नै नृपेन चक्रवर्तीको दु:खद निधन भयो। सीपीएमले उनको अन्तिम संस्कार चाहिं सम्मानका साथ गर्‍यो।

नृपेन चक्रवर्तीले ज्योति बसु र सीपीएममाथि जुन आरोप लगाएका थिए, त्यो अन्ततः भविष्यवाणी जस्तै सत्य साबित भयो। कम्युनिस्ट सिद्धान्त र आदर्शबाट च्यूत हुँदै गएपछि माकपाप्रति आम भारतीय जनताको मोहभङ्ग हुँदै गयो। अहिले तीन दशकभन्दा बढी समयसम्म शासन गरेको पश्चिम बङ्गालमा कम्युनिस्टहरूको शिला खोज्दा पनि भेटिंदैन। ममता बेनर्जीको तृणमूल कंग्रेसले पश्चिम बङ्गालबाट कम्युनिस्टहरूलाई जरै समेत उखेलेर फ्याँकिसकेको छ।

त्यसैगरी, कुनैबेला नृपेन चक्रवर्तीले सबैभन्दा बलशाली पार्टीको रूपमा स्थापित गरेको त्रिपुरामा समेत कम्युनिस्टहरूको लगभग सफाया भइसकेको छ। कम्युनिस्ट सिद्धान्त र आदर्शप्रति निष्ठावान–प्रतिबद्ध रहेका कारण त्रिपुराका आमजनताले कुनैबेला शिरमा बोकेर राखेका तथा त्यहाँ अकण्ट शासनसत्ता चलाएका माकपालाई यतिखेर उग्रदक्षिणपन्थी विचार बोक्ने भारतीय जनता पार्टीले राजनीतिबाट करिब करिब पूरै विस्थापित गरिदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?