+
+
शेखर–शशांक–सुजाता :

राजनीतिक तिक्तताले गुम्यो कोइराला परिवारको न्यानोपन

लिलु डुम्रे लिलु डुम्रे
२०७९ साउन २२ गते २१:१०
Photo Credit : फाइल तस्वीर

२२ साउन, काठमाडौं । शेखर कोइरालालाई कोभिड–१९ संक्रमण हुँदा शशांक र सुजाता दुवैले फोन गरे । स्वास्थ्य लाभको शुभेच्छा भने । तर त्यो कामनामा आत्मीयता र न्यानोपन थिएन । थियो त केवल औपचारिकता ।

कांग्रेसमा सभापति हुन नसकेका शेखर, सभापति हुन नचाहेका तर शेखरको बदला शेरबहादुर देउवालाई सघाएका शशांकबीच १४ औं महाधिवेशनयता हार्दिकता पलाउन सकेको छैन ।

निकटवर्तीहरुका अनुसार सन्तान पुस्ताका तीन कोइरालाबीच हालसम्म पारिवारिक कामले मात्रै भेट भएको छ । तारिणीप्रसाद कोइरालाका छोरा ज्योतिको पुसमा निधन भएको थियो । असारमा ६ महिने संस्कारका क्रममा बौद्धमा एक पटक भेटे । २९ असारमा बीपीपत्नी सुशीला कोइरालाको तिथिमा दोस्रो पटक भेटे । यी भेटमा राजनीतिक कुरा स्वभावैले भएन ।

शेखरको पूर्व निर्धारित कार्यक्रम थियो भने शशांकको संसद जानुपर्ने । हतारहतार डा. शेखर हिँड्न लागेका बेला शशांकले ‘दा, म कहिले आउँ ?’ भनेर सोधेका थिए । शेखरले ‘मकहाँ आउन सोध्नुपर्छ र ? जहिले आए पनि हुन्छ’ भनेका थिए । तर यो पनि भन्दिनलाई भन्दिएको जस्तो मात्रै भयो । खासमा न शशांक शेखरकहाँ गएका छन्, न शेखरले बोलाएका छन् । सुजातासँग पनि डा. शेखरको यसरी भेटघाट भएको छैन ।

उनीहरु बेलाबखतमा राजनीतिक मुद्धावश भेटिरहन्थे । चियापान या लन्च–डिनरका फोटो सार्वजनिक हुन्थे । हिजोआज यस्तो ठ्याम्मै बन्द छ ।

अझै मेटिएन तिक्तता

हामी तीन जना एक ठाउँमा उभिन्छौं भन्ने महाधिवेशन अघि उहाँहरुको भनाइ यान्त्रिक जस्तो मात्रै बन्यो । एकढिक्का भएर महाधिवेशन सामना गर्ने सामर्थ्य समेत देखिएन- गुरूराज घिमिरे, कांग्रेस नेता

कांग्रेसमा करिब आधा शताब्दी कोइराला परिवारको प्रभुत्वमा थियो । संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला २५ वर्ष मूल नेतृत्वमा रहे । बीपीको निधन हुनुअघि नै गिरिजाप्रसाद महामन्त्री भइसकेका थिए । २०४६ को परिर्वतनपछि कांग्रेस उनकै वरिपरि रह्यो । गिरिजाले आफ्नो जीवनकालमा छोरी सुजातालाई राजनीतिमा स्थापित गर्न खोजेपनि सकेनन् । बरु १३ औं महाधिवेशनमा बीपी पुत्र शशांक महामन्त्री चुनिए ।

१४औंमा उनीसँगै शेखरले सभापति हुने आकांक्षा राखे । १३औं महाधिवेशनमा भाइका लागि महामन्त्री छाडेकाले यो पटक आफूलाई सघाउनुपर्ने शेखरको तर्क थियो । महामन्त्री बनिसकेको हुनाले आफ्नो सभापतिमा दाबी स्वाभाविक रहेको शशांकले ठाने । यद्यपि महाधिवेशनअघि कोइराला परिवारका तीन सदस्यले एउटै मञ्चमा उभिएर साझा उम्मेदवार दिने बताइरहे ।

आफूहरु एक भएको सन्देश दिन थुप्रै लन्च मिटिङ पनि गरे । तर महाधिवेशनमा आइपुग्दा तीन जना तीनतिर भए । डा. शेखरले सभापतिमा उम्मेदवारी दिँदा सुजाता प्रकाशमान सिंहको टिमबाट उपसभापतिको उम्मेदवार बने भने केन्द्रीय सदस्य मात्र उठेका शशांक कतै खुलेनन् ।

डा. शेखरले सभापतिको प्रतिस्पर्धालाई दोस्रो चरणमा धकेल्दा समेत आफ्नै भाइ बहिनीको साथ पाएनन् । शेरबहादुर देउवा सभापतिमा चुनिए कोइराला परिवारको राजनीतिबारे जानकार कांग्रेसका एक नेता भन्छन्, ‘तीन जनालाई एकै ठाउँमा ल्याउन रसायनको काम गर्ने पनि कोही भएनन् । स्वार्थ समूहले पनि उनीहरुको तिक्ततामा लाभ देखे । महत्वकांक्षा जगाइदिने र अलग अलग बनाइदिने शक्ति सफल भए ।’

नेता गुरुराज घिमिरे १४ औं महाधिवेशन कोइराला परिवारको विरासत फर्काउन उपयुक्त समय भएपनि त्यसमा तीनै जना चुकेको बताउँछन् । ‘हामी तीन जना एक ठाउँमा उभिन्छौं भन्ने महाधिवेशन अघि उहाँहरुको भनाइ यान्त्रिक जस्तो मात्रै बन्यो । एकढिक्का भएर महाधिवेशन सामना गर्ने सामर्थ्य समेत देखिएन’, घिमिरे भन्छन् ।

सभापतिको चुनावी हारेपछि डा. शेखरले सार्वजनिक रुपमा भाइबहिनीले नबुझेको गुनासो गर्ने गरेका छन् । बीपीले आफ्ना पितालाई लेखेको पत्र सार्वजनिक गर्दै उनले भनेका थिए, ‘बीपीले मेरो बुबालाई लेखेको चिठी मार्मिक छ । मेरो बुबा पनि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । सायद भाइ बहिनी (शशांक र सुजाता) ले त्यो चिठीको मर्म बुझेनन् भन्ने मलाई लाग्छ’ महाधिवेशन सकिए लगत्तै उनले गुनासो गरेका थिए ।

बीपीले १८ डिसेम्बर १९८१ मा शेखरको बुबा केशवप्रसादलाई लेखेको पत्रमा ‘कोइरालाहरुको केन्द्रभूमि–पिताजीको कार्यक्षेत्र–विराटनगरमा हाम्रो अस्तित्वको रक्षा तिमीबाट भएको छ । हाम्रो शेखपछि छोराहरुले एकदम एकता राखेर पिताजीको कीर्तिलाई कायम राख्नेछन्’ भनिएको थियो । तर कोइराला परिवारमा एकता रहेन ।

निकटवर्तीहरुका अनुसार, कोइराला उमेरले ६६ वर्षको भए १५औं महाधिवेशन हुँदासम्म फेरि यस्तो अवसर आउने नआउने अनिश्चित छ । त्यसैले कोइरालाको मनमा आफ्ना भाइबहिनीले साथ दिएको भए सभापति जित्ने थिए भन्ने लागिरहने उनीहरु बताउँछन् ।

यसले पनि कोइराला परिवारका तीन नेतालाई फेरि एक ठाउँमा आउन अप्ठ्यारो भएको हुनसक्ने नेताहरु बताउँछन् । यद्यपि कोइराला परिवारका सदस्यहरुवीच तिक्तता कम गराउने प्रयत्न भइरहेको नेता गुरुराज घिमिरे बताउँछन् ।

‘मिलेको भए हुने रहेछ, अब पनि मिलेरै जानुपर्छ भन्ने महसुस भएको देखिन्छ, उनले अनलाइनखबरसँग भने । असार १६ र १७ मा बसेको शेखर पक्षको भेलामा सहभागीहरुले पनि संस्थापनइतरमा रहेका पूर्व नेताहरुलाई एकत्रित गराउनुपर्नेमा जोड दिएका थिए । तर कोइराला परिवार पार्टीभित्रको कुनै मुद्दामा एकत्रित हुने गरी एजेण्डा नआएकाले सामूहिक छलफल हुन नसकेकोे सुजाता निकट एक कांग्रेस नेताले बताए ।

तीन कोइरालाको एकत्व हुन नसक्नुमा उनीहरुको हुकाईको अवस्थालाई समेत जोडेर हेरिन्छ । भावनात्मक गहिराई वा सम्बन्धको एकता सृदुढ हुन नसकेकै कारण उनीहरु एकढिक्का हुन नसकेको बुझाई समेत कांग्रेसमा छ ।

राजनीतिक संघर्षको अगुवाई गर्ने क्रममा बीपी र गिरिजाप्रसादले परिवारलाई साथ दिन पाएनन् । ‘गिरिजाबाबु देशभर घुमिरहने विपी देश तथा प्रवासमा जेलमा रहनुभयो । परिवारका सदस्यको पनि त्यस्तै खालको मनोविज्ञान विकास भएर गयो’, कांग्रेस नेता भन्छन्, ‘सँगसँगै खेल्दै हुर्कने तथा सँगै भएर पढ्ने अवस्था तीन जनाको हुन पाएन । एउटै परिवार भित्रका बच्चाहरु भेट्ने, खेल्ने हाम्रो परम्परा छ नि, त्यो नै हुन पाएन ।’

शशांक कोइरालाहरु मूल थलो विराटनगरबाट टाढिँदै गएका छन् । बुबामार्फत उनको नाममा आएको कोशी अञ्चल अस्पतालको अगाडि रहेको जग्गा उनले बेचिसकेका छन् । गिरिजाप्रसाद कोइरालाको नाममा रहेको जग्गामा सुजाताले जीपी फाउण्डेसनको कार्यालय राखेकी छन् ।

शेखरले बुबाको मार्फत उनीमा आएको घर-जग्गा यथावत राखेका छन् । उनी विराटनगर जाँदा बस्ने तथा कार्यकर्ता भेट्ने निवास पनि यही हो । यो त्यही घर हो, जहाँ गिरिजाप्रसाद पनि विराटनगर जाँदा बस्ने गर्थे । यसै घरबाट राष्ट्रिय राजनीति तरंगित हुने गरी नयाँ विषय बोल्थे ।

शेखर अघिल्लो निर्वाचनमा पराजित भएको मोरङ–६ बाट फेरि राजनीति अघि बढाउन चाहन्छन् । तीनपटक नवलपरासीबाट विजयी शशांक पुन नवलपुर–१ क्षेत्रबाट निर्वाचनमा लड्ने तयारीमा छन् । यस क्षेत्रबाट उनी तीनपटक निर्वाचित भइसकेका छन् । समानुपातिक सांसद सुजाताको भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने निश्चित क्षेत्र छैन । उनले बाबुले चुनाव लडेको मोरङ–२ मा दाबी गर्दै आएकी छन्, तर शेखर निकट डा. मिनेन्द्र रिजाल लड्दै आएकाले सुजातालाई यो पटक पनि सहज छैन ।

पार्टीमा भने शेखर बलियो देखिएका छन् । सभापतिमा हारे पनि उनले ४० प्रतिशत मतको प्रतिनिधित्व गर्दै छुट्टै समूहको अभ्यास गर्दै आएका छन् । शशांक र सुजाताको समूह छैन ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?